सवै नीतिको माउ नीति राजनीति भन्ने गरिन्छ । तर पछिल्लो अवस्थामा राजनीति प्रति वितृष्णा वढेको छ । खास गरी पछिल्लो पुस्ताका धेरै जना राजनीतिलाई फोहोरी खेल मानिरहेका छन् । धेरै वुज्रुकहरुमा पनि राजनीति र दलिय खेललाई एकै रुपमा वुझेको पाइन्छ । राजनीतिका खेलाडीहरुले आफ्नो विश्लेषणमा पनि दलिय कुरा नैं राजनीति हो भन्ने प्रस्तुत गरेको पाइन्छ । राजनीति अपरिहार्य हो भन्ने वुझाई विकास गर्न जरुरी छ । राजनीति प्रति नयाँ पुस्ताको दृष्टिकोण जान्ने मौका मिलेको थियो । सोही प्रसंङ्गलाई आजको लेखमा समावेश गरिएको छ ।
विधार्थीहरुसँग संवाद
मलाई ९ र १० कक्षामा अध्ययनरत विधार्थीहरुसँग अन्तरक्रिया गर्ने रहर थियो । विधार्थीहरुको नेतृत्व सम्वन्धी वुझाई कस्तो होला भन्ने मेरो मनमा कौतुहलता थियो । त्यसै गरी विश्वले सामाना गरेको सवाल प्रति विधार्थीको दृष्टिकोण पनि जान्न मन थियो । हुनत केही वर्ष अघि दोलखाकै गौरीशंकर क्याम्पसमा केही दिन र सामुदायिक अस्पतालले सञ्चालन गरेको एक स्वास्थ्य अध्ययन केन्द्रमा केही महिना अध्यापन गराउने मौका पाएको थिएँ तर त्यो पाठ्यक्रम केन्द्रीत थियो । पाठ्यक्रम केन्द्रीत नभई खुल्ला विषयमा अन्तरक्रिया गर्न चाहान्थ्यें । मेरो चाहानालाई दोलखाको सदरमुकाममा रहेको अल्पाइन पव्लीक स्कुलले पूरा गरिदियो ।
मेरो जीवनका पछिल्ला ३ दशकमा बयस्क वा पाका मानिसहरुसँग अन्तरकृया गर्ने मौका धेरै पाएको छु । तर माध्यमिक तहका विधार्थीसँग पहिलो जम्काभेट हुुँदै थियो । उत्साहित थिएँ । निर्धारित समय पूर्व नैं पुगि सकेको थिएँ । विहान ६ः१५ देखि नैं कक्षा सञ्चालन हुने रहेछ । सायद कोचिङ्ग कक्षा होला । विद्यालयका पर्वत थापा र पुर्णिमा खरेलले विधार्थी र मेरो विचमा पुल वाँधी दिनु भयो । उत्साहका साथ विधार्थीहरुसँग प्रश्न गर्न थालें ।
तपाईलाई असाध्यै मन पर्ने मान्छे संझन भनें । अनी किन त्यो मान्छे मन प¥यो ? मेरो प्रश्न थियो । विधार्थीहरुको उत्तर सानो कपिमा टिप्न थालें । शान्तीकालागि काम गरेकोले, दुःखमा साथ दिएकोले, मानिस विरामी हुँदा उपचार गर्ने अस्पताल वनाएकोले, सधैं साथमा रहि हौसला दिएकोले भन्ने जस्ता उत्तर आयो । फेरी अर्को प्रश्न सोधें ।
तपाईलाई पटक्कै मन नपर्ने मानिस कोही छन् ? छन् भने ंसंझनुहोस् । मन नपर्नुको कारण वताउनुहोस् भने । उनीहरुको उत्तर थियो ः चुरोट रक्सी खाने, अरुलाई दुःख दिने, केटी जिस्क्याउने, राजनीति गर्ने भन्ने उत्तर दिए । सरल उत्तर दिए तर मार्मिक थिए । असल नेतृत्व तर्फ उनीहरुको ध्यान मोड्न थप प्रश्न गरें । तपाइसँग चाँही यी मध्ये कुन गुण वढि छ त ? असल मान्छे वन्न कुन गुण वढाउनु पर्दछ ? भन्ने प्रश्न गरी मन पर्ने मान्छे नैं असल हो । असल मानिसमा हुने गुण वढाउने र मन नपर्ने मान्छेमा भएको नराम्रो गुण नलिने वा भएमा हटाउने भन्ने विषयमा वुझाइमा एकरुपता ल्याउने गरी उत्तर दिए । असल मानिस हुनकालागि आवश्यक पर्ने विशेषता उदाहरण सहितको विषयमा अन्तरकृयात्मक छलफल भयो । मेरो आशय असल नेतृत्व आवश्यक छ, त्यो राजनीति हो भन्ने थियो ।
विश्वव्यापी सवालमा विधार्थी
विश्वव्यापी सवालको सन्दर्भमा विधार्थीहरुको वुझाइ उत्कृष्ट रहेको पाइयो । विश्वमा देखा परेका मुद्धा वा सवालहरु के के हुन् भन्ने प्रश्नमा उनीहरुले दिएका खररर उत्तरले उत्साहित वनायो । ग्लोबल वार्मिङ्गले पारेको असरको वारेमा सामान्य बयस्क नागरिकको भन्दा उत्कृष्ट वुझाइ देखिन्थ्यो । ग्लोबल वार्मिङ्गबाट सिर्जित सवाललाई सम्वोधन गर्न अपनाउनु पर्ने उपायहरुको सूचीहरु पनि बताए । आफ्नो प्रतिवद्धता जनाए ।
यी विधार्थीहरुमा राजनीति प्रति वितृष्णा नैं देखियो । राजनीति नैं खराब होइन तर खराव राजनीति गर्ने चाँही नराम्रो हो भन्ने विषयमा सामान्य छलफल त भयो । तथापी विधार्थीहरुको यो वुझाईलाई विश्लेषण गरी राजनीति गर्नेहरुले आफ्नो व्यवहार परिवर्तन गराउनु पर्ने पक्कै छ । त्यसै गरी राजनीतिक विषयमा आधारित पाठ्यक्रम जरुरी देखियो । मुलुक चलाउने कुरा अनी विकास र परिवर्तनका सवै बिषय राजनीति हुन् भन्ने वारेमा विद्यालय तह देखि नैं बुझाई आवश्यक छ ।
राजनीति अपरिहार्य
नयाँ पुस्ताका विच राजनीतिलाई खराव मान्ने वा राजनीतिलाई फोहोरी खेल भएको वुझाई रहनु भनेको मुलुकलाई अधोगती तिर धकेल्नु हो । नयाँ पुस्ता भनेको प्रविधिमैत्री पुस्ता हो । राजनीतिमा उनीहरु आउनु जरुरी छ । डिलमा बसेर खेतमा फोहोर छ भनेर मात्र पुग्दैन । खेतमा झरेर सफा गर्नु सक्नु पर्दछ । राजनीति भनेको सवै नीतिको माउ नीति मानिन्छ भने राजनीतिबाट नयाँ पुस्तालाई अलग राख्नै हुँदैन । सवैले दलिय राजनीति वा राज्य संचालक नैं हुनु पर्दछ भन्ने होइन । तर मुलुक सञ्चालनको नीति तथा पद्धतीका बारेमा सवै नागरिक र नयाँ पुस्ताले थाहा पाउनै पर्दछ । सचेत हुनु पर्दछ । यतातर्फ राज्य संयन्त्र, विद्यालय व्यवस्थापन, अभिभावकहरुले ध्यान दिन जरुरी छ ।
नयाँ पुस्तासँग दलिय हैन राजनीतिका विषयमा चर्चा गर्नु पर्दछ । सानै देखि टिम वर्क र नेतृत्व क्षमता अभिवृद्धि तर्फ उत्प्रेरित गर्नु पर्दछ । तब मात्र असल मानिस हुनसक्छ । अब सरकारी वा सामुदायिक विद्यालयका विधार्थीका वुझाइका बारेमा अन्तरक्रिया गर्ने रहर थप जागेको छ । अल्पाइन विद्यालयले मलाई धेरै सिक्ने मौका दियो । कतिपय विषयमा झस्काइ दियो । सोचमा केही रुपान्तरण समेत ल्यायो । यसका आधारमा आफ्नो भूमिका र तौरतरिकामा परिवर्तन गर्नु पर्ने पनि देखियो । यो मौका उपलव्ध गराएकोमा अल्पाइन पब्लीक स्कुललाई धन्यवाद ।