दलनिकट पत्रकार हावी हुँदा पत्रकार महासंघको निर्वाचन अन्यौलमा

राजनीति समाचार

काठमाडौं । नेपाल महासंघको निर्वाचन विधानअनुसार गत वैशाख २७ गते सम्पन्न गर्नुपर्ने थियो । सदस्यता विवादकै कारण सो मितिमा महासंघको निर्वाचन हुन सकेन । त्यसपछि गत जेठ २६ र असार २३ गते गर्ने भनिएको निर्वाचन पनि सदस्यताको विवाद ल्याएर स्थगित गरियो । कार्यकाल सकिएको ६ महिना बितिसक्दा पनि नयाँ कार्यसमिति चयनको लागि निर्वाचन हुन सकेको छैन ।

राजनीतिक दलनिकट पत्रकारहरुको संघसंगठनभित्र आन्तरिक गुटबन्दी व्यापक रुपमा झाँगिएपछि महासंघको निर्वाचन अलपत्र परेको हो । नेपाल प्रेस युनियनका पत्रकारहरु ६ वटा गुटमा परिणत भएका छन् । त्यसमा कांग्रेस सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गगन थापा, विश्वप्रकाश शर्मालगायतका नेतैपिच्छे गुटबन्दीले गर्दा पत्रकार महासंघको निर्वाचन प्रभावित भएको छ । त्यसैगरी प्रेस चौतारी नेपालभित्र पनि नेतैपिच्छेको गुटबन्दीले गर्दा पत्रकार महासंघको निर्वाचन अन्यौलमा पर्दै गएको छ । प्रेस चौतारी नेपालभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली, नेता विष्णु पौडेल, ईश्वर पोखरेल र शंकर पोखरेललगायतको गुटबन्दी झागिँदै गएको छ । त्योसँगै माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका पत्रकारहरुबीच गुटबन्दीकै कारण पत्रकार महासंघको निर्वाचनको लागि एक भएर अगाडि बढ्न सकेका छैनन् ।

उता, एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठनभित्र पनि गुटबन्दी मौलाएपछि महासंघको निर्वाचनमा कसरी भाग लिने भन्ने अन्यौल बढेको छ । राजनीतिक दल निकट पत्रकारहरुको संघसंगठनभित्रको आन्तरिक गुटबन्दीको कारणले नेपाल पत्रकार महासंघको आगामी असोज ५ गत सम्पन्न गर्ने भनिएको निर्वाचन अनिश्चित भएको छ । त्यसको सम्पूर्ण दोषी महासंघका अध्यक्ष विपुल पोखरेल भएका छन् । पोखरेलले निर्वाचनको मुखमा आएर राजीनामा दिएपछि पत्रकारबीच व्यापक असन्तुष्टी छाएको छ ।

देश र समाजको विकृति, विसंगति विरुद्ध आवाज बुलन्द गर्ने, सर्वसाधारणलाई सुसूचित गर्ने संस्था नेपाल पत्रकार महासंघ नै अनिर्णयको बन्दी हुन पुगेको छ । त्योसँगै महासंघमा श्रमजीवी पत्रकारहरुको अक्ष कोषमा जाने पैसासमेत हिनामिना भएको चर्चा चल्न थालेको छ । श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन अन्यौलमा परेपछि स्वरोजगारमुलक श्रमजीवी पत्रकारहरु विस्थापित हुँदै गएका छन् । पत्रकार महासंघमा व्यवसायिक पत्रकारभन्दा गैरपेशाका व्यक्तिहरु हावी हुँदा महासंघ यो अवस्थामा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *