गृहमन्त्री र सचिवकै कारण प्रहरी बद्नाम

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र व्यापक रुपमा राजनीतिक हस्तक्षेप भएपछि अधिकांश प्रहरी अधिकृतहरुदेखि जवानसम्ममा असन्तुष्टी बढ्दै गएको छ । सरकार परिवर्तनसँगै प्रहरीहरुको सरुवा, बढुवामा राजनीतिकरण हुँदा प्रहरीभित्र असन्तुष्टि बढ्दै गएको छ । प्रहरी प्रशासन पनि समय अनुसार चलायमान हुन सकेको छैन । प्रहरी प्रमुख नै अनियमितता र भ्रष्टाचारका काण्डमा मुछिने कारणले प्रहरी प्रशासनभित्र भद्रगोल बन्दै गएको छ । कतिपय प्रहरी अधिकृतहरु नै विभिन्न काण्डमा मुछिने गरेका छन् ।

पछिल्लो समयमा प्रहरी प्रशासनभित्र सरुवा, बढुवामा सोर्सफोर्स, राजनीतिक भागबन्डा र पैसाको चलखेल हुन थालेपछि इमानदारिता हराउँदै गएको छ । कतिपय डिउटीमा खटिएका प्रहरी अधिकृतहरु भ्रष्टाचारलगायत विभिन्न अवैध धन्दामा संलग्न हुने गरेका थुप्रै घटनाहरु छन् । त्यसको गतिलो उदाहरण लिन सकिन्छ ललितपुरको भैंसेपाटीस्थित प्रहरी प्रभागकी इनिस्पेक्टर बिनुकुमारी शाहीलाई । शाहीले एक महिलालाई प्रयोग गरी व्यापारीसँग ३० लाख रुपैयाँ असुल्ने धन्दा चलाएको समाचार सार्वजनिक भएपछि विवादमा मुछिएकी छिन् । सो घटनाको समाचार बाहिरिएपछि इनिस्पेक्टर शाही अहिले कारबाहीको दायरमा छिन् । शाहीले एक महिलालाई उकासेर व्यापारीसँग ३० लाखको बार्गेनिङ गर्दा प्रहरी संगठन नै बद्नाम भएको छ ।

उता, प्रहरी हवल्दार गणेश खड्का, प्रहरी जवान राजन शर्मा मिलेर क्यानडामा बस्दै आएका एक युवकलाई तिमीलाई प्रहरीमा उजुरी परेको छ भनी नेपाल बोलाई ५० लाख रुपैयाँ असुलेको समाचार सार्वजनिक भएको छ । प्रहरी हवल्दार र प्रहरी जवान शर्माको मिलेमतोमा ती क्यानडामा बस्ने नेपाली युवालाई बिना कसुर प्रहरीमा उजुरी परेको भनेर नेपाल बोलाई ५० लाखसम्म असुल्नु कति जायज हो ? जनताको शान्ति सुरक्षामा खटिने प्रहरीहरुले नै राज्यकोषबाट तलब, भत्ता, सुविधा खाएर सर्वसाधारणलाई ठग्नु त्योभन्दा निन्दनीय अन्य विषय हुँदैन । चाडवाड लागेसँगै सर्वसाधारणलाई ठगिनबाट जोगाउन प्रहरीले शान्तिसुरक्षा र अमनचयन चुस्तदुरुस्त बनाउनुपर्नेमा उल्टै प्रहरी नै गठी धन्दामा संलग्न भएपछि कसरी हुन्छ देशमा शान्ति सुरक्षा ? प्रहरीहरु नै चोरी, तस्करी, राजश्व छली जस्ता घटनाहरुमा संलग्न भएको पाइन्छ ।

त्यस्ता विषयमा गृह मन्त्रालयले ध्यान दिनुपर्नेमा त्यो नगरी चुपचाप बसेको छ । गृहसचिव गोकर्णमणि दुवाडीले जनतालाई शान्तिसुरक्षा र अमनचयनको अनुभूति गराउन सकेका छैनन् । चाडवाड लागेसँगै सिडियोहरु सरुवा गरेर कमाउधन्दा सञ्चालन गर्न लागिपरेको अवस्था छ । सिडियो बन्नको लागि सहसचिवहरु गृहमन्त्री र गृहसचिवको चाकडी गर्न लागिपरेका छन् । दुवाडीको चाकडी गर्नेहरुमा कस कसले सार्थकता पाउने हुन् त्यो एकिन छैन । उता, अविरल वर्षको कारण देशमा ठूलो जनधनको क्षति हुँदासमेत गृहसचिव सचिव र रक्षा सचिव मुकदर्शक बनेका छन् । गृहसचिव दुवाडीलाई गृह मन्त्रालय चलाउने अनुभव नभएका कारणले पनि त्यस्तो भएको हुनुपर्छ । मुख्यसचिव, गृह सचिव र रक्षा सचिवबीचको समन्वय नहुँदा देशले ठूलो क्षति बेहोर्न पुग्यो । तर, सरकारले त्यस्ता प्रशासकहरु कुनै कारबाहीको दायरामा ल्याउन सक्छ न त अन्यत्र सरुवा गर्न नै सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *