काठमाडौं । नेपालका राजनीतिक दलहरु विभिन्न ठगी, अनियमितता जस्ता काण्डले छिन्नभिन्न हुँदैछन् । राजनीतिक दलहरु जब सत्तामा पुग्छन्, अनि एउटा न एउटा काण्डमा मुछिने गर्दछन् । भ्रष्टाचार, अनियमितता र बेथितिमा ठूला दल भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रदेखि रास्वपा, मधेसवादी दल, भर्खरै जन्मिएका एकीकृत समाजवादी दललगायत स–साना दलहरु पनि एउटा न एउटा काण्डमा मुछिने गरेका छन् । नेताहरु सत्तामा पुगेपछि विभिन्न काण्डमा मुछिने गरेपछि नेता त बदनाम भए नै तर पार्टी नै सखाप हुने स्थिति सिर्जना हुँदै गएको छ ।
नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा काण्ड लागेको छ । त्यसैगरी अर्का नेताद्वय ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतलाई टेरामक्स काण्ड लागिरहेको छ । त्यस्तै जलस्रोत तथा उर्जामन्त्री दीपक खड्कालाई लैनचौरस्थित स्काउटको जग्गा काण्ड लागेको छ । यसअघि पासपोर्ट काण्ड लागेका कांग्रेस उपसभापति धनराज गुरुङलाई सहकारी ठगी काण्ड लागिरहेको छ । गुरुङ्की पूर्वपत्नी ज्योति गुरुङविरुद्ध ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।
उता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेटको जग्गा काण्ड लागेको छ । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरण लागेको छ । पोखरेलकी श्रीमती पनि करीब १४ करोड रुपैयाँ सहकारीको पैसा अपचलन भएको सहकारी ठगीमा मुछिएकी छिन् । त्यस्तै एमाले नेता ईश्वर पोखरेललाई यति काण्ड लागेको छ भने भानुभक्त ढकाललाई ओम्नी काण्ड लागेको छ । अर्का एमाले नेता गोकुल बाँस्कोटालाई पूर्वसञ्चारमन्त्री हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड लागेको थियो । अर्का नेता टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी काण्ड लागेको थियो । एमालेकै नेता रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई नक्कली भुटानी शरणार्थी काण्ड लागेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बूढीगण्डकी आयोजनामा ९ अर्ब घोटाला गरेको आरोप लागेको छ । त्योसँगै अर्का नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुनका छोरा दीपेश पुनलाई सुनका काण्ड लागेका छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने दोहोरो पासपोर्ट, दोहोरो नागरिकता र सहकारी ठगी काण्डमा मुछिएर प्रहरी हिरासतमा छन् । रास्वपाका अर्का नेता ढाकाकुमार श्रेष्ठलाई विभिन्न ठगी काण्ड लागेर सांसद पदबाट निलम्बित भएका छन् । यी र यस्तै ठगी काण्डमा पुरानादेखि नयाँ दलका नेताहरु मुछिँदै गएका छन् ।
यतिबेला रवि लामिछानेको सहकारी ठगी काण्डले सडकमा उग्ररुप लिइरहेको छ । सभापति रविलाई सहकारी ठगी काण्डमा प्रहरीले पक्राउ गरेपछि रास्वपाका नेता, कार्यकर्ता उनलाई बचाउन सडकआन्दोलनमा उत्रिएका छन् । रास्वपाको सडक आन्दोलनले रविलाई सफाइ दिन्छ कि जेल पठाउँछ त्यो एकिन छैन । उता, सत्तासाझेदार दल कांग्रेस र एमालेले सहकारी ठगीमा मुछिएका नेता धनराज गुरुङ र ऋषिकेश पोखरेललाई जोगाइरहेका छन् । उनीहरुलाई जोगाउँदा रास्वपाका नेता, कार्यकताले सडक आन्दोलन छेडिरहेका छन् ।