काठमाडौं । सरकार बनेको ४ महिना पुग्न लाग्दा पनि सरकारका मन्त्रीहरुले काम गर्न नसकेको भन्दै कांग्रेस र एमालेबीच मुनमुटाव शुरु भएको छ । प्रधानमन्त्री केपी ओली मन्त्रीहरुले मन्त्रालयको कामको प्रगति दिन नसकेपछि असन्तुष्ट बन्दै गएका छन् । मन्त्रीहरु कामभन्दा पनि कमिसन र कर्मचारी सरुवामा व्यस्त भएपछि प्रधानमन्त्री ओली असन्तुष्ट हुन थालेका हुन् ।
मन्त्रीहरुले भनेजस्तो काम गर्न नसकेपछि अधिकांश मन्त्रालय लथालिङग भएको छ । खासगरी अहिले विवादित मन्त्रालय संघीय मामिला, भूमि तथा सहकारी, उद्योग तथा वाणिज्य आपुर्ति, गृह, पर्यटन, स्वास्थ्य र उर्जा जस्ता जनताको कामसँग प्रत्यक्ष जोडिएका मन्त्रालयका मन्त्रीहरु विवादमा पर्दै आएका छन् । त्यसकारण पनि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने संकेत देखिएको छ । तर, प्रधानमन्त्री ओली चीन भ्रमण सकेर मन्त्रीमण्डल फेरबदल गर्छन् कि चीन भ्रमण गर्नुअगाडि नै गर्छन्् त्यो यकिन भइसकेको छैन ।
कांग्रेस र एमालका मन्त्रीहरुले काम गर्न नसकेपछि मन्त्रीहरु फेरबदल गर्नुपर्ने हल्ला चल्दै छ । फेरिने मन्त्रीहरुमा गृह, भूमि, पर्यटन, भौतिक, उद्योग वाणिज्य तथा आपूर्त, संघीय मामिला जस्ता चर्चामा छन् । तर निश्चित भने भइसकेको छैन । सबैभन्दा बढि विवादित मन्त्री भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी परेका छन् । मन्त्री बलराम अधिकारीले भूमाफियाहरुसँग मिलेर कर्मचारी सरुवा गर्ने र मोटो रकम असुलेको आरोप मन्त्री अधिकारीलाई लागेको छ । दुईपटक भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बनेका बलराम अधिकारीले भूमि सम्बन्धि कुनै काम गर्न नसकेको आरोप लागेको छ ।
मन्त्री अधिकारी सबैभन्दा विवादित बनेका छन् । हुन पनि अधिकारीले भूमाफियाहरुसँग मिलेमतो गरी सरकारी र गैरसरकारी जग्गादेखि छुट जग्गा दर्ता गरेर करोडौं कमाएको स्रोतको भनाइ छ । त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा बढुवामा लेनदेन गरेको आरोप लागिरहेको छ । सचिव र मन्त्रीबिचको द्वन्द्वले संघीय मन्त्रालय चलायमान हुन नसकेको आरोप लागेको छ । त्यस्तै, गृहमन्त्री रमेश लेखकले गृह प्रशासनलाई चुस्तदुरुस्त ढंगले चलाउन नसकेको, मानव तस्करहरु बढेको, सहकारी ठगी गर्नेहरुलाई कारबाही गर्न नसकेको आरोप लागिरहेको छ । त्यस्तै, भौतिक मन्त्री देवेन्द्र दाहालले गत असोजमा आएको बाढिपहिरोले सडक क्षति हुँदा त्यसको छिटोछरितो ढंगले मर्मत सम्भार गर्न नसकेको, नयाँ विकासका आयोजनाहरु मार्गप्रशस्त गर्न नसकेको जस्ता आरोप छ ।
त्यसैगरी पर्यटन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रलाई यथास्थितिमा चलायमान बनाउन नसकेको, हवाइ माफियासँग साँठगाँठ गरेको, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई चलायमान बनाउन नसकेको आरोप छ । उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीले क्रशर उद्योग, बालुवाखानी, सिमेन्ट उद्योगहरुसँग मिलेमतो गरी कमिसन खाएको आरोप छ । अर्कातर्फ शहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि शहरी विकास मन्त्रालयलाई चलायमान बनाउन नसकेको, कार्यकर्ता भर्तिकेन्द्र बनाएको, कर्मचारी दरबन्दी थपेर राज्यलाई आर्थिक भार थपेको आरोप छ ।
त्यस्तै, स्वास्थ्य मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्र भित्रका विकृति विसंगति हटाउन नसकेको, स्वास्थ्य क्षेत्रको काम ठूलो रकमको लेनदेन गरी महावीर पुनलाई एकलौटी ढंगले दिएको, कर्मचारी सरुवामा मोटो रकम लिएको आरोप लागेको छ । त्यसकारणले मन्त्रिमण्डल फेरबदल हुने सम्भावना बढेर गएको हो । तर, नेपालको राजनीति कतिखेर के हुन्छ भन्ने कुरा यकिन छैन । प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि सत्ता परिवर्तन हन्छ कि मन्त्रिमण्डल फेरबदल हन्छ त्यो निश्चित भइसकेको छेैन । प्रधानमन्त्री चीन भ्रमणमा जान नपाउने सम्भावना पनि त्यत्तिकै छ ।