काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत हप्ता डिजिटलाइजेशन उघट्न गर्न पर्वत पुगेका थिए । सो कार्यक्रममा मन्त्री पौडेलले एकमहिनाभित्र औषधिको मूल्य समायोजन गर्ने र देशभरका बिरामीहरुले सर्वसुलभ रुपमा औषधि पाउने भने तापनि त्यो कागजमै सीमित हुने देखिन्छ । अधिकांश औषधि कम्पनीहरुले सरकारी र निजी अस्पतालका डाक्टरहरुलाई कमिसन खुवाउनुको साथै आफूले उत्पादन गरेको औषधिको तालिमसमेत दिने गरेका छन् । ती औषधि कम्पनीहरुले आफूले उत्पादन गरेको र बाहिरबाट मगाएको औषधि बिरामीहरुलाई सिफारिस गर्न चिकित्सकहरुलाई कमिसन दिने काम पनि गर्दै आएका छन् । चिकित्सकहरुले पनि सरकारी अस्पतालमा जागिर खाने र निजी अस्पतालमा काम गर्ने गर्दै आएका छन् ।
त्योसँगै सरकारी स्वामित्वमा रहेका वीर, टिचिङ, कान्ती बाल, पाटन, सिभिल, सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र प्रसुती गृह जस्ता सरकारी अस्पतालहरुमा उपचार गराउन आएका बिरामीहरुलाई चिकित्सक र कर्मचारीहरुले विभिन्न बहाना बनाएर निजी अस्पतालमा रिफर गर्ने र कमिसन खाने काम गर्दछन् । सरकारी अस्पतालमा आएका बिरामीहरुलाई निजी अस्पतालमा रिफर गरेपछि स्वास्थ्य जाच गरिन्छ । तर, निजी अस्पतालको व्यवस्थापन मात्रै राम्रो देखिन्छ । तर, स्वास्थ्य उपकरण भने पुरानो मर्मत गरेर सस्तो मूल्यमा लिएर चलाइएको हुन्छ ।
त्यस्ता उपकरणबाट चेकजाच गर्दा बिरामीको रोग पत्ता नलाग्ने हुँदा बढी खर्च हुने र ज्यान समेत जोखिममा पर्ने गरेका घटनाहरु बाहिर नआएका होइनन् । तर, ल्याब परीक्षणको लागि यतिबेला सिभिल अस्पताल र टेकु अस्पतालको प्रयोगशाला सबैभन्दा राम्रो देखिन्छ । किन कि सिभिल र टेकु अस्पतालको प्रयोगशालामा पूर्वप्रशासकदेखि कर्मचारीहरुले चेकजाच गराउने भएकाले राम्रो । नयाँ मेसिनहरु जाडान गरिएका छन् । तर, सर्वसाधारणले यस्ता सरकारी अस्पतालहरुमा सर्वसुलभ ढंगले उपचार गराउने अवसर पाउँदैनन् । चिकित्सकहरुले समय पनि दिने गर्दैनन् । बरु उल्टै सरकारी अस्पतालमा तपाईंहरुलाई उपचार गराउन महिनौ लाग्छ त्यसैले फलानो निजी अस्पताल जानुहोस् भनेर बिरामीहरुलाई सिफारिस गर्दछन् ।
आफूले बिरामी रिफर गरेर पठाएपछि सो अस्पतालमा बिरामीको उपचार गर्न उनै डाक्टरहरु पुग्ने गर्दछन् । यसरी सरकारी अस्पतालमा जागिर खाने र तिनै अस्पतालमा उपचार गराउन आएका बिरामीलाई आफूले काम गर्ने निजी अस्पतालमा रिफर गरेर कमिसन खाने चिकित्सक कर्मचारीहरुलाई मन्त्री पौडेलले नियन्त्रण गर्न सकेका छैनन् । त्योसँगै विगत लामो समयदेखि वीर अस्पतालमा हुने गरेको भ्रष्टाचार, अनियमितता र विचौलियाको सेटिङलाई अहिलेसम्म मन्त्री पौडेलले चिर्न सकेका छैनन् । उल्टै तिनै विचौलिया र भ्रष्टाचारीहरुले मन्त्री पौडेल र उनका सचिवालयका आसेपासेलाई घुमाइरहेका छन् । मन्त्री पौडेल नेपाली कांग्रेसका आशा लाग्दा युवा नेता भनिए तापनि स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य माफिया र अगाडिपछाडि लाग्ने आसेपासेले मन्त्री पौडेललाई कमजोर बनाउने खलोफड्को गरिरहेका छन् ।