काठमाडौं । कर्मचारीहरु पैसा र पावर भिडाएर मालदार अड्डामा पुग्ने गर्दछन् । पैसा र पावर नहुने कर्मचारीहरु काम गर्न जति दक्ष र इमानदार भए तापनि हुलाक सेवा कार्यालय जस्ता काम नहुने ठाउँमा बस्न वाध्य हुनुपर्छ । सोर्सफोर्स र पैसा खर्च गर्न सक्ने कर्मचारीहरु काम गर्न सकुन नसकुन् सधैं मालदार अड्डामा पुग्छन् । मालदार अड्डामा पुग्नको लागि सहसचिव, उपसचिव र सचिवहरुले मूख्यसचिवको चाकडी गर्नुपर्छ । मूख्यसचिव र मन्त्रीको चाकडी गर्न नसक्ने कर्मचारीहरु सधैं सिंहदरबारको बरन्डामा थन्किने गरेका छन् । अहिले त्यसको उदाहरण बनेको छ शहरी विकास मन्त्रालय ।
शहरी विकास मन्त्री प्रकाशमान सिंहले भवन विभागको महानिर्देशकदेखि अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिहुँदै संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा आफ्ना आसेपासे र पैसा खुवाउन सक्ने कर्मचारीहरुलाई सरुवा गरेर मोटो रकम असुलिरहेका छन् । मन्त्री सिंह एकजना नासु सरुवा गर्नको लागि पनि न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । मन्त्री सिंहले पटक–पटक सुरुवा गरिरहने नासु हुन् सुनिल रोकाय । उनलाई २०८१ भदौ १६ मा शहरी विकास तथा भवन निर्माण विभागबाट १८ महिना नपुग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको थियो । नासु रोकायलाई फेरि गृहमा सरुवा गरियो ।
फेरि मन्त्री सिंहले उनै रोकायलाई गृहबाट शहरी विकासमा ल्याउनको लागि सामान्य प्रशासन मन्त्री राम कुमार गुप्तालाई भनसुन गरेका थिए । रोकाय शहरी मन्त्रालयमा आएको केही हप्ता नपुग्दै फेरि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरणको स्टोर शाखामा पठाउन खेलोफड्को गर्दै छन् । एउटा नासुस्तरको कर्मचारीलाई विभिन्न ठाउँमा सरुवा गर्न पटक–पटक मन्त्री लागिरहनुपर्ने कारण पैसा लेनदेन नै हो । रोकायलाई सरुवा गराएबापतको पैसा लिने जिम्मा कर्मचारी युनियनका महासचिव जनक रावलले पाएका छन् । रावलमार्पmत कर्मचारी सरुवा गरेको पैसा मन्त्रीसम्म पुग्छ । त्यस्तै रावलले सामान्य प्रशासनका उपसचिव कमल भट्टराई कांग्रेस नेताको आडमा कालो मोसो लगाउने धम्कीसमेत दिएका थिए ।
शहरीमन्त्री मन्त्री एउटा कर्मचारी सरुवा गराउन पटक–पटक यसरी लागिपर्नुको कारण के हो ? सामान्य प्रशासनका उपसचिव कमल भट्टराई भन्दै थिए, ‘एकजना सुब्बाको सरुवा एक सातामा उल्टाएर फेरि त्यहीं पठाउनु किन ?’ एउटा सुब्बा सरुवा गर्न पटक–पटक मन्त्री नै लागि पर्छन् भने कर्मचारीले कसरी गर्छन् काम । काम गर्ने कर्मचारीहरु पनि मन्त्री र मुख्यसचिवको पेलाइमा पर्ने गरेका छन् । शहरी विकास मन्त्रालयका अधिकांश आयोजना र योजनाहरुमा कर्मचारी सरुवा गरेर मन्त्री सिंहले उठ्तीपुठ्ती धन्दा चलाउँदै आएका छन् । शहरी विकास मन्त्रालयको यो एउटा सानो उदाहरण मात्रै हो । अन्य मन्त्रालयमा यस्ता धन्दा कति छन् कति ।