काठमाडौं । नेपालमा रोजगारी र अध्ययनको उचित व्यवस्था नहुँदा नेपाली युवाहरु विदेशिन वाध्य भएका छन् । नेपालका विभिन्न भू–भागबाट युवायुवतीहरु विशिइरहँदा राज्यले उनीहरुलाई नेपालमै रोजीरोटी र उच्च शिक्षा अध्ययनको व्यवस्थापन गर्न सकेको छैन । सरकार पटक–पटक फेरबदल भइरहँदा पनि नेपाली युवाहरुलाई रोजगारी दिन सकेको छैन । जेनतेन १२ कक्षा पढेपछि अधिकांश नेपाली युवायुवतीहरु विभिन्न कन्सलटेन्सी र म्यानपावर कम्पनीमा ताँती लाग्ने गरेका छन् । धनीमानीका छोराछोरीहरु जापान, क्यानडा, अमेरिका, अस्टे«लियालगायतका मुलुकतिर जान्छन् भने दूरदराजबाट आएका गरीव, निमुखाका छोराछोरीहरु दुबई, कतार, मलेसियालगायतका खाडी मुलुकतिर जान वाध्य छन् ।
कतिपय महिलाहरु भारतको बाटो हुँदै घरेलु कामदारको लागि कुबेत, बहरा जस्ता मुलुकमा जाने गरेका छन् । घरेलु कामदारको लागि जाने अधिकांश महिलाहरु शारीरिक र मानसिक हिंसामा पर्ने गरेका घटना पनि त्यत्तिकै छन् । उता, खाडी मुलुकमा रोजगारीको लागि जाने अधिकांश युवायुवतीहरुलाई म्यानपावर कम्पनीहरुले ठग्ने गरेका घटना दिनप्रतिदिन बढिरहेका छन् । त्योसँगै क्रोसिया, पोर्चुगल, माल्टा जस्ता मुलुकमा पठाउने भनेर सामाजिक सञ्जालमार्फत विभिन्न आकर्षक सेवासुविधा दिने नाममा नेपालमै बसेर ठगी गर्नेहरु पनि त्यत्तिकै छन् । त्यस्ता विषयमा राज्यको सम्बन्धित निकायले ध्यान दिएको छैन । सरकार रेमिट्यान्स भित्र्याउने नाममा विभिन्न नयाँ मुलुकसँग श्रम सम्झौता गर्न व्यस्त छ ।
उता श्रम, रोजगार तथा सामाजिक सुृरक्षामन्त्री सरदसिंह भण्डारी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको सुरक्षा गर्नुपर्नेमा त्यो नगरी विभिन्न नयाँ मुलुकसँग श्रम सम्झौता गर्ने नाममा विदेश भ्रमण गरिहेका छन् । भण्डारी पटक–पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा पनि वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई ठगिनबाट जोगाउन सकेका छैनन् । उल्टै तिनै विचौलिया, म्यानपावर व्यवसायी र कन्सलटेन्सीहरुसँग मिलेमतो गरी आर्थिक लाभ लिइरहेका छन् । मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नाम अनुसारको काम गर्न नसक्दा नेपाली युवाहरु सधैं ठगिन वाध्य छन् ।