दलहरुले नै भनेका छन् कि नेपालको विकासको उद्देश्य भनेको नेपाल राष्ट्रलाई समृद्ध बनाउनु र नेपाली जनतालाई सुखी तुल्याउनु नै हो । यो पनि खासगरी भन्नु पर्दा एमाले कै शीर्ष नेता प्रधानमन्त्री ओलीको मुखारविन्दबाटै बिगतमा नेपालको प्रधानमन्त्री हुँदा नै निस्केको कुरा हो । नेपाली जनताले दलहरुले नेपाल सरकार बनाईसकेपछि नेपालको विकास गर्ने सन्दर्भमा राखेका यो उद्देश्यलाई उचित मान्दै आएकाछन ।
तर उक्त उद्देश्य प्राप्तिका लागि दलका नेतृत्व वर्गले अवलम्बन गरेका मार्गहरु भने हमेसा बिबादित बन्दै आएको छ । सबै दलहरुले अपनाएको मार्गहरु भने परियोजनाहरु नै हुन जसलाई केही दलका शीर्ष नेताहरुले राष्ट्रिय महत्वका परियोजनाहरु हुन भनी नामाकरण पनि गरेकाछन । नेपाली जनता दलका शीर्ष नेताहरु सित सहमत हुन नसकेका बिषय भने यिनै हुन ।
दलहरुले राष्ट्रिय महत्वको परियोजनाहरु भनी छानेर बनाउन सुरु गरिएका परियोजनाहरु कै कारण नेपाल राष्ट्र र नेपाली जनता चुर्लुम्म ऋणमा डब्व्दै गएको छ । राम्रो सित अध्ययन र अनुसन्धान नै नगरी कमिसन खाने लोभमा परी बनाउन थालिएका परियोजनाहरुले आर्थिक बृद्धि होईन खर्च मात्रै बढाउँदै लगेको छ । यस्ता परियोजनाहरुको नाम लिएर साद्धे नै छैन किनकि दलका शीर्ष नेताहरुले राजनीतिक हिसाबले छनौटगरी बनाएका परियोजनाहरु थारो भैंसी झै छन । थारो भैंसी कहिले व्याउने भएपो दुध दुहेर खान पाईन्छ ? हाल खुबै चर्चामा रहेको यस्तो परियोजनामा दमक भ्यूटावर पनि परेकोछ । राष्ट्रको नाममा ऋण गरेको पैसा यो परियोजनामा लगानी त भयो तर खै अहिले सम्म फुटेको पैसा उत्पादन भएको छैन । त्यस्तै अवस्थामा एमाले शीर्ष नेता प्रधानमन्त्रीको करकमलबाट उक्त परियोजनाको उद्घाटन त भयो तर व्यापार व्यवसाय त्यहाँ हुने नहुने अझै अनिश्चित छ ।
दमक बजारबाट टाढा जंगलको सीमानामा नै बनाएको उक्त भ्युटावर यथा स्थितिमा चल्ने देखिएको छैन । यस्ता परियोजनाहरुबाट नेपालको विकास होइन बिनास नै भईरहेकोछ तर दलका नेताहरु भने त्यसैलाई विकास सम्झेर राष्ट्रको थप पैसा त्यसमा लगानी गरी उडाउँदैछन । दलहरुले राष्ट्रिय महत्वका परियोजनाहरु भनी बनाउन थालेका परियोजनाहरु नेपालको समृद्धि र नेपाली जनतालाई सुखी बनाउने गरी कतैबाट पनि जोडिएको देखिन्न ।
बिदेशीका दलालहरुको चपेटामा परि उनीहरुले नै छानेका परियोजनाहरुमा तिनीहरु सितै लिएको ऋणको पैसा लगानी गरी बनाउँदा बिदेशीको व्यापार व्यवसाय नेपालमा फलेफुले पनि नेपाल राष्ट्रको समृद्धि र नेपाली जनताको सुख सित भने कतैबाट पनि उक्त परियोजनाहरु जोडिएको पाईएको छैन । उदाहरणको लागि नेपाली जनताले भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई नै लिन सक्छन । उक्त परियोजनाहरु राजनीतिक हिसाबले छनौट गरी दलका शीर्ष नेताहरुले बिदेशी सित राष्ट्रिय ऋण लिएर लगानी गरी बनाएका छन । उक्त परियोजनाहरु अहिले सम्म राम्रो सित सञ्चालनमा आउन सकीरहेको छैन ।
उक्त परियोजनाहरुको मर्मत, सम्हार र सञ्चालनको लागि थप बिदेशी ऋण लिनु पर्ने अवस्था अहिले नेपालमा विद्यमान छ । यस्ता परियोजनाहरु बनाएर समृद्ध नेपालको के कुरा नेपालको विकास भयो पनि भन्न सकिन्न । उक्त परियोजनाहरुले त उल्टै नेपालको खर्च बढाएको हुँदा नेपाल राष्ट्रलाई झनझन गरिब तुल्याउँदै लाने पक्का पारेकोछ । विकास कसको लागि र के को लागि भन्ने सवाल पनि नेपालको सन्दर्भमा चर्चा योग्य बिषय बन्दै गएकोछ किनकि नेपालको गाउँघर सुनसान बन्दै गएको छ । असन्तुलित सहर केन्द्रित विकासले गर्दा आन्तरिक बसाई सराईको समस्या बढेको छ भने हुलकाहुल युवापिढीले नेपाल छोडी विदेशिने क्रमले नेपाल राष्ट्रको समस्यालाई झनै बढाउँदै लगेको छ ।
दलहरुले नेपालमा गरेको विकासले नेपाली जनताको जीवनस्तर झनै दयनीय बनाउँदै लगेकाले नेपाली जनता आफ्नो परिवारको पेट पाल्नको लागि ऋणपान गरीगरी वैदेशिक रोजगारीमा गईरहेका छन । बिदेशमा पनि नेपाली जनताको जीवन सरल र सजिलो छैन किनकि कतीपय युवापिढीले बिदेशमा खतरापूर्ण काम गर्नु परेकाले आफ्नो बहुमुल्य जीवन गुमाउनु पर्दैछन । जाँदा हिडेर उडेर गएपनि फर्किदा बाकसमा फर्किनेहरुको संख्या पनि नेपालको सन्दर्भमा कम छैन । यसरी गाउँघर आर्थिक र भौतिक रुपले असुरक्षित हुँदा सहर तिर बसाई सरेका नेपाली जनता सहरबाट पनि रोजगारीको लागि बिदेशिनु पर्दा झनै शंकटमा परेकाछन । यसरी दलहरुले गरेको नेपालको विकासले नेपाली जनताको लागि नेपालमा नै रोजगारीहरु बढाउन सकिरहेको छैन । फलस्वरुप रोजगारीको लागि बिदेश जानेक्रमले नेपालको जनसंख्या असन्तुलित बनीसकेको अवस्था छ ।
घरमा बुढा बाबुआमा र कलिला छोराछोरी लाउँलाउँ खाउँखाउँ भन्ने उमेरका जहानपरिवारलाई नेपालमा छाडेर बिदेशिएका युवापिढीका पहिलो पुस्ताले सम्म घरपरिवारलाई चलाउन धान्न पैसा नेपाल पठाउने र पटक पटक नेपाल आउने गरीरहेका छन । तर बिदेशिएका नेपालीहरुको दोस्रो पुस्ताले भने नेपालमा पटक पटक आउने र पैसा कमाएर नेपाल पठाउने क्रम घटेर गईरहेको छ किनकि बुढा बाउआमाको सेख पछाडि जहानपरिवार र केटाकेटीलाई पनि उतै लिएर गई उतै स्थायी बसोबासको चाँजो मिलाई रहेकाछन । यसरी नेपालको गाउँघरको के कुरा सहरहरु समेत सुन्य बन्दै गएको अवस्था नेपालमा आईसकेको छ ।
दलहरुले गरेको विकासको अब कुनै अर्थछैन किनकि यो विकास जसलाई सुखी बनाउने भनेको हो त्यो तप्काका नेपाली जनताले नेपाल राष्ट्रबाट अन्य राष्ट्रहरुमा बसाई सरीसकेका छन । दलहरुले बाहिय वा आन्तरिक ऋण लिएर नेपालको विकास गर्नुको कुनै अर्थ छैन किनकि त्यसले अब नेपाल राष्ट्रलाई समृद्ध बनाउन सक्दैन । नेपाल राष्ट्र आबाद भएको भएपो विकासको कुनै औचित्य रहन्छ । यदि विकासले नेपाल राष्ट्रलाई यसरी बर्बाद बनाउँदै लाने हो भने नेपालमा दलहरुले गरेको विकासको औचित्य कसरी साबित हुन सक्छ ? फेरि दलहरुले गरेको विकासको मेसो नमिलेको हुँदा सोविकास कतैबाट पनि नेपालको समृद्धि र नेपाली जनता सुख सित जोडिएको छैन । दलका शीर्ष नेताहरुले आआफ्नो सुरुची अनुसार कमिसन मात्रै खाने हिसाबले बनाएका विकासका संरचनाहरुले नेपाली जनताको शीरमा देशी बिदेशी ऋणको भारी मात्रै बढाउँदै लगेको छ । त्यसकारण नेपालराष्ट्रमा हाल भइरहेको विकासले झनै नेपाली जनतालाई नेपाल छाड्न बाध्य तुल्याउँदै ल्याएको छ ।
सुनीति अनुसारको विकासले मात्रै नेपाली जनताको जीवनलाई सुखमय बनाउन सक्छ तर दलका शीर्ष नेताहरुको सुरुचीका विकासले नेपाल राष्ट्रलाई न घर न घाटको तुल्याईसकेको अवस्था नेपालमा कायम छ । दलका शीर्ष नेताहरुले डाँडाको टुप्पोमा र सहरको किनारमा बनाएका अग्ला आग्ला कंक्रिटका टावरहरुले नेपाल राष्ट्रलाई विकासको समाधान होइन कि थप समस्या बढाएको छ । नेपालमा दुई दर्जन विश्वविद्यालयहरु, पाँच दर्जन इन्जिनियरीङ्ग कलेजहरु र तीन दर्जन मेडीकल कलेजहरु त खोलेका छन तर त्यसमा अध्ययन अनुसन्धान गर्ने कलिला उमेरका नेपाली युवापिढीको ठुलो अभाव रहेको छ । पढ्ने बिद्यार्थीको अभावमा गाउँघरका स्कुलहरु एक अर्कासित गाभ्दै लाने वा खारेजै पनि गर्नु पर्ने भएका छन भने सहर तिरको हालत पनि उस्तै देखिएका छन । नेपालको विकास भएको देखाउने स्कुलहरु , कलेजहरु र विश्वविद्यालयहरुमा पढ्ने उमेरका बिद्यार्थीहरुको अभाव हुन थालेपछि त्यो सबै बिस्तारै बन्दहुने क्रममा छन ।
उक्त संस्थाहरुमा पढाउने शिक्षकहरु र प्रध्यापकहरुले भने राजनीति गर्दै आपनो दिन कटानी र माना पचानी गर्दै बसेकाछन । यसरी नेपाल राष्ट्र र नेपाली जनता औचित्यहिन विकासको परिबन्दमा पर्दै गएको छ । दलहरुले अहिले सम्म गरेका विकासका कामहरुको कुनै अर्थ छैन र कतै राम्रो प्रभाव पनि देखिएको छैन । जताततै निरास र अन्योलता मात्रै छाएको अवस्था नेपालमा आईसकेको छ । दलका शीर्ष नेताहरुले हात हालेको विकासले नै नेपाली जनताको जीवनलाई कष्टकर तुल्याउने र ज्यानै लिने गरेको छ । उदाहरणको लागि सडक सञ्जालको विकासलाई नै लिन सकिन्छ । संघिय राजधानी काठमाडांैबाट बाहिर जाने सडकहरुको बिस्तार गर्ने कामले धेरै नेपाली जनताको ज्यान लिनको साथै सडकबाट यात्रा गर्नलाई जोखिम र कष्टकर तुल्याएको छ ।
हवाई यातायात विकासको पनि उस्तै छ हालत हवाईयात्रा गर्ने यात्रुहरु नभएपनि विमानस्थलहरु भने धेरै बनाउनेक्रम अन्धाधुन्द चली नै रहेकोछ । नेपालको सडक यातायात र हवाई यातायातको अवस्थ धेरै नराम्रो भएकै कारणले गर्दा नेपाल आउने टुरिष्टको संख्या कम हुनको साथै स्तरिय टुरिष्टहरु नेपाल आएका छैनन् । हुनपनि कोही आफ्नो पैसा खर्च गरी गरी मर्नको लागि नेपाल आउने कुरै भएन । नेपाली जनता बाध्य भएकाले जोखिम मलेरै भएपनि यात्रा गर्नु पर्ने हुन्छ तर बिदेशी टुरिष्टहरुको लागि त्यस्तो कही बाध्यता छैन र संसारको अन्य सुरक्षित ठाउँहरु खोजी बिदा मनाएर पैसा खर्च गर्न जान्छन । भुतिया सहरहरु वा भुत बंगलाहरुको बारेमा त तपाई हामी सबैले सुनेका पढेका नै छौ । अब नेपालमा पनि सोही अवस्था आउँदै छ किनकि दलका शीर्ष नेताहरु सुध्रिने भन्दा पनि आफै नेपाल छाडेर भाग्ने दाउमा छन ।
दलका शीर्ष नेताहरुले बिदेशमा पैसा लगानी गर्नु वा नेपालमा लुटेर पैसा बिदेशी बैंकहरुमा राख्न लानुको अर्थ यहि नै हुन्छ । उहाँहरु स्वयमले पनि आफु नेपालमा आर्थिक वा भौतिक रुपले सुरक्षित नरहेको महसुस गरीरहेका छन । आफ्नै देशमा आफ्नै मुलुकमा असीमित भ्रष्टाचार गर्नुले पनि यहि कुरालाई जनाईरहेको छ । नेपालमा धेरै बिदेशी लगानीको जरुरी भएको देखाउँदै नेपाल राष्ट्रले परिसोचन गर्न सक्ने भन्दा बढी बिदेशी ऋण लिएर त्यसबाट आएको कमिसनलाई विदेशमा लगानी गरेकाले नेपाल राष्ट्र र नेपाली जनता औचित्यहिन विकासको परिबन्दमा पर्दा समृद्ध र सुखी नेपाली जनताको उद्देश्य नेपालमा पुरा हुन सकिरहेको छैन ।