मनसुनको समयमा सडक निर्माणको गुणस्तर कति ?

राजनीति समाचार

काठमाडौं । देश संघीयतामा गएपछि विकास नै सडकको मुलमन्त्र बोक्ने गरेपनि सडक निर्माणमा गुणस्तरहीन सडक संरचना बनाउने प्रवृत्तिले भ्रष्टाचारमात्र मौलाएको छैन, यस्ता सडक दुर्घटनाका कारण समेत बनेको छ । सडक दुर्घटनामा परेर गत आर्थिक वर्ष २०८०÷८१ मा मात्र दुई हजार तीन सय ६९ जनाको ज्यान गएको छ ।

कमसल सडकले हुने दुर्घटनामा कैयौंको ज्यान जाने मात्र नभई दुर्घटनामा आफ्नो परिवारका सदस्य गुमाएकाहरुले आफुलाई आर्थिक र मानसिक रुपमा गहिरो क्षति पुग्ने गरेको उनिहरुको भनाई रहेको छ । नेपालमा मनसुन सुरु भएसँगै आर्थिक वर्षपनि सुरु हुने गर्दछ । जसले गर्दा स्थानीय सरकारले बजेट देखाउने दाउपेचमा ठेक्कापट्टा लिन ठेकेदारले जथाभावी गुणस्तरहीन निर्माणका कारण कर्मचारीदेखि राजनीतिक अगुवा र पछुवाहरु मोटाउने काम पर्याप्तै भइ नै रहेको छ ।

गुणस्तरहिन र मनसुनको समयमा मापदण्ड विपरीत सडक रातारात निर्माण गरी जनता र राज्यको आँखा छल्ले काम गर्दछन् । यसले अधिक सडक दुर्घटनाका कारण परिवार र राज्यलाई समेत व्यापक घाटा पुग्ने गरेको अध्ययनहरुको निष्कर्ष रहेको छ । नेपाल प्रहरीको विवरण अनुसार विगत १० वर्षमा नेपालमा साना र ठूला खाले सडक दुर्घटनामा परी २४ हजार ९५ जनाले ज्यान गुमाएका छन्, भने झन्डै दुई लाख ६० हजार वटा दुर्घटनाहरु भएका छन् ।

समग्रमा डाटालाई केलाउँदा एक दशकमा ज्यान गुमाउनेको सङ्ख्यालाई दैनिक औसतमा रुपान्तरण गर्ने हो, भने प्रतिदिन सात जना बराबर हुन्छ । यसमापनि सवारी दुर्घटनामा ज्यान गुमाउनेमा वयस्क पुरुषको सङ्ख्या अत्याधिक रहेको छ । यसले के–प्रष्ट्याउँछ भने सडक र जनताको सुरक्षा योजनाहरुको प्राथमिकताको विषय बन्न सकेको छैन । प्रदेश र स्थानीय सरकारहरु गुणस्तरीय सडकभन्दा कच्ची सडकको विस्तारमा बढी एकोहोरिएको तथ्य त माथि उल्लिखित तथ्यांकले देखाइसकेको छ । सडक निर्माणका क्रममा न्यूनतम् मापदण्डलाई समेत ख्याल गरिएको पाइँदैन ।

अन्तर्राष्ट्रिय अभ्यास अनुसार राजमार्गलाई ७ देखि १० वर्षमा पुननिर्माण गर्नुपर्छ । हामीकहाँ राजमार्गमा खाल्डा टाल्ने कामसमेत राम्ररी हुन सकेको छैन । यसका लागि हरेक वर्ष ठूलो बजेट खर्च हुन्छ । तर, गतिलो टालटुलसमेत राम्ररी हुन सकेको छैन । यसका लागि हरेक वर्ष ठूलो बजेट खर्च हुँदा गतिलो टालटुलसमेत हुँदैन । अर्को दुख लाग्दो के–छ,भने दशको राजधानीको सडकको दुर्दशा बाह्र महिने हिउँदो याममा धुलाम्मे, वर्खाको समयमा हिलाम्मे हुने गर्दा राज्यका निकाय मौन नै बसिरहेका छन् । देशको राजधानी जस्तो ठाउँमा अन्तर्राष्ट्रिय स्तरका व्यक्ति मात्र नभई निकायहरुको पनि ध्यान जाने गर्छ यसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा नै हाम्रो कस्तो खालको छवि बसिरहेको छ, भन्ने सरकारी निकायलाई अलिकति पनि लाज नै छैन । झन् नेपालका अरु ठाउँहरुको हविगत के–होला भनि हामीले सजिलै ठम्याउन सक्छौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *