काठमाडौं । गृहमन्त्री रमेश लेखकले आम सञ्चार माध्यम र पत्रकारलाई निसाना बनाउनेहरूलाई कारबाही गर्ने प्रक्रिया अघि बढिसकेको बताएका छन् ।
सोमबार महासचिव रामप्रसाद दाहालसहित महासंघको ८ जनाको संयुक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाउन पुगेको थियो । १५ गते राजावादीको आन्दोलनका क्रममा मिडियालाई निसाना बनाइएको भन्दै ध्यानाकर्षण पत्र बुझाउन गएको नेपाल पत्रकार महासंघको टोलीसँग गृहमन्त्री लेखकले अराजक गतिविधिमा संलग्नलाई कारबाहीको दाहिरामा ल्याउन सरकारले ठोस कदम अघि बढाइ सकेको जानकारी गराएका हुन् ।
हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, एवम् संचार गृहमा र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कारबाही गरिने गृहमन्त्री लेखकले बताएका छन् ।
यसैगरी घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारहरुको विषयमा सरकार गम्भीर भएकोले अबका दिनहरुमा कसरी यस्तो गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उनको भनाइ रहेको छ ।

