काठमाडौं । तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ ।
एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् ।
दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रूप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्नेगरी संवादमा भइरहेको बताए । नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव चिन्ह टुङ्गो लागिसकेको उनको भनाइ छ । उनले अहिले पार्टीको विधान लेख्ने काम भइरहेको र पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी रहेको बताए ।
संयोजक खानका अनुसार वैशाखको पहिलो सातामा आ–आफ्नो केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिनेछ । पार्टी एकीकरणका लागि दुई महिनायता नेताहरूले कसरत गरिरहेका छन् । दुवै दलले कार्यदल गठन गरेपछि यो प्रक्रियाले तिव्रता पाएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुङ्ग्याउनेगरी छलफल भइरहेको जानकारी दिइन् । उनले कार्यदल तहमा छलफल भइरहेको र कार्यदलको निचोडलाई अन्तिम रूप दिइने बताइन् ।

