शैक्षिक माफियाकै कारण ‘गरीब तथा जेहेन्दार’ विद्यार्थी अलपत्र

राजनीति समाचार

रामचन्द्र बस्नेत
माध्यामिक शिक्षा परीषद्ले (एसईई) को नतिजा सार्वजनिक गरेसँगै निजी कलेजहरुको दशैं सुरु भएको छ । निजी रुपमा सञ्चालित ठूला–ठूला लगानीका कलेजहरुले राम्रो नतिजा ल्याउने विद्यार्थी आफूतिर तान्नको लागि तडकभडक गर्न थालेका छन् । महंगा कलेजहरुले विभिन्न ठूला मिडिया र अनलाइन पोर्टलहरुमा प्रचारप्रसारको लागि विभिन्न आकर्षक स्किमसहित रङ्गचङ्गी विज्ञापन प्रकाशित गराउन थालेका छन् । सञ्चार माध्यममा विज्ञापन प्रकाशन गर्नुका साथै कलेजको गेटमा ठूला–ठूला ब्यानर टाँगेर विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न लागिपरेका छन् । त्यसको लागि कलेज परिसरमा स्टल खडा गरेर नवआगन्तुक विद्यार्थी र अभिभावकलाई अकर्षक सेवा, सुविधासहित उत्कृष्ट पढाइको प्रलोभन देखाएर भुलभुलैयामा पार्दै आएका छन् । आफ्नो कलेजको महंगो शुल्कलाई ढाकछोप गर्न विभिन्न चाहिने नचाहिने सेवा, सुविधा देखाएर अलमल्याउने काम गर्दै आएका छन् ।

उता धनीमानी र अवैध सम्पत्ति आर्जन गर्ने अभिभावकहरु महंगो विद्यालयमा छोराछोरी भर्ना गरेपछि समाजमा इज्जत बढ्ने भन्दै त्यस्तै विद्यालयको खोजीमा दौडधुप गरिरहेको पाइन्छ । उच्च घरानाका अभिभावकहरु पढाइको गुणस्तरभन्दा कलेजको साजसज्जा र व्यवस्थापनलाई प्राथमिकता दिएर छोराछोरी भर्ना गर्ने गर्दछन् ।

उच्च गुणस्तरको व्यवस्थापन देखिए तापनि कतिपय महंगा निजी कलेजहरुमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु कुलतमा फस्ने गरेको पाइन्छ । महंगा निजी कलेजहरुले भर्नाताका विभिन्न सेवा, सुविधा र पढाइको गुणस्तर देखाएर अधिकांश अभिभावक र विद्यार्थीलाई ठगी गरिरहँदा त्यसको अनुगमन नगरी शिक्षामन्त्रालय रमिते बन्ने गरेको छ । पत्रकारिताबाट राजनीतिमा आएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पनि निजी विद्यालयको लापरबाहीप्रति कुनै चासो दिएको पाइँदैन । बरु उल्टै शैक्षिक माफियाहरुसँग साँठगाँठ गरी कमाउधन्दा चलाउने गरेको पाइन्छ । जुनसुकै पार्टीबाट शिक्षामन्त्री बने तापनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको बारेमा ध्यान दिएका छैनन् । त्यसकै आडमा निजी विद्यालयहरुले ठगी धन्दा चलाइरहेका छन् ।

धेरैजसो निजी कलेज र बोर्डिङ स्कूलहरु राजनीतिक पार्टीका नेताहरुले सञ्चालन गरेका छन् । निजी स्कूल, कलेजमा ठूला नेताहरुको लगानी भएकै कारण सरकारी सामुदायिक विद्यालयहरु ओझेलमा पर्दै गएका छन् । सामुदायिक विद्यालयका स्थायी शिक्षकहरु पनि निजी विद्यालयमा लगानी गर्ने र निजी विद्यालयमा पढाउने गरेका छन् । त्यसले गर्दा समुदायिक विद्यालयमा पढ्ने सर्वसाधारण विद्यार्थीले राम्रो नतिजा ल्याए तापनि पैसाको अभावका कारण पछिपर्न वाध्यता हुनुपरेको छ । यसरी विद्यालयजस्तो पवित्र ठाउँमा शैक्षिक माफियाको कमाउधन्दा फस्टाउन थालेपछि ‘गरीव तथा जेहेन्दार’ विद्यार्थीहरुले अवसरबाट बञ्चित भएको पाइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *