थाइल्याण्ड र कम्बोडियाबीच जारी सैन्य द्वन्द्व रोक्न ट्रम्पको चेतावनी

विविध समाचार

काठमाडौं । अमेरिकाको हस्तक्षेपपछि थाइल्याण्ड र कम्बोडियाबीच जारी सैन्य द्वन्द्व अन्त्य हुने सम्भावना देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन दिनको सैन्य झडपपछि दुवै देशका नेताहरू युद्धविरामको लागि तुरुन्तै भेट्न सहमत भएको बताएका छन् । यी झडपहरूमा दुबै देशमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ भने एक लाख ३० हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

ट्रम्पले कम्बोडिया र थाइल्याण्डका नेताहरूसँग छुट्टाछुट्टै कुरा गरेको बताउँदै दुबै नेताहरूलाई द्वन्द्व जारी राखेमा दुवैसँग व्यापार सम्झौतामा प्रवेश नगर्ने चेतावनी दिएको बताएका छन् । हाल स्कटल्याण्ड भ्रमणमा रहेका ट्रम्पले सामाजिक सञ्जालमा दुबै पक्ष तत्काल युद्धविराम र शान्ति चाहने भएकोले उनीहरू तुरुन्तै भेट्न र युद्धविराम र अन्ततः शान्ति स्थापना गर्न सहमत भएका छन्। दुबै देश व्यापार वार्ता टेबलमा फर्कन चाहन्छन् ।’भनि उल्लेख गरेका छन् ।
थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथम भेचायचाईले ट्रम्पलाई धन्यवाद दिँदै थाइल्याण्ड युद्धविराममा सिद्धान्ततः सहमत छ, तर कम्बोडियाबाट इमान्दार मनसाय हेर्न चाहेको बताएका छन् ।

कम्बोडिया र थाइल्याण्डबीच हालै भएको सैन्य झडप दक्षिणपूर्वी एसियाली छिमेकीहरूबीच १३ वर्षमा सबैभन्दा खराब द्वन्द्व हो । थाइल्याण्डको त्राट प्रान्त र कम्बोडियाको पुरसत प्रान्तमा शनिबार झडप तीव्र भएको छ, जसले गर्दा प्रारम्भिक द्वन्द्व क्षेत्रबाट एक सय किलोमिटरभन्दा बढी टाढा नयाँ मोर्चा खोलिएको छ । थाइल्याण्डले शनिबारसम्म ७ सैनिक सहित २० जनाको मृत्यु भएको बताएको छ। कम्बोडियाले ५ सैनिक र ८ सर्वसाधारण सहित १३ जनाको मृत्यु भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *