काठमाडौं । नेकपा एमालेबाट भूमि, सहकारी तथा गरिवी निवारण मन्त्री बनेका बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासनका तत्कालीन मन्त्री राजकुमार गुप्तालाई एमाले महासचिव शंकर पोखरेलले मन्त्री बनाएका थिए । तत्कालीन संघीय मामिला मन्त्री गुप्ता र हालका भूमिमन्त्री अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलले मन्त्री बनाएता पनि उनिहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लागि रहेको छ । अहिले महासचिव पोखरेलले बनाएका दुवै मन्त्री भ्रष्टाचारमा मुछिएपछि उनीहरूको मात्रै बदनाम नभएर महासचिव पोखरेलसमेत बदनाम भएका छन् ।
संघीय मामिलामन्त्री गुप्ताले ७८ लाख घुस लिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । तर, अधिकारीले भने पदबाट राजीनामा दिएका छैनन् । विभिन्न मिडियामा मन्त्री अधिकारीविरुद्ध समाचार सार्वजनिक भए तापनि आफू सो कार्यमा संलग्न नभएको तर मिथ्या आरोप लगाइएको भन्दै पत्रकार सम्मेलन गरेर पन्छिएका थिए । तर, मन्त्री अधिकारीलाई गुमराहमा पार्दै विचौलिया प्रमोद खड्को डिजाइनमा सचिवलय कर्मचारीदेखि मन्त्रीसमेत पर्ने गरेका छन् । मन्त्री अधिकारीको दानापानी तीनै विचौलिया खड्काले परिपुर्ती गरिदिने स्रोतले उल्लेख गरेको छ ।
मन्त्रिमण्डल फेरबदल हुने हल्ला चलेसँगै मन्त्री अधिकारीले पनि आफू पटक–पटक विवादमा परेको हुँदा मन्त्रीबाट हट्नुपर्ने डरले नासु र खरिदारहरूलाई सरुवा गरेर असुली धन्दा चलाएको बताइन्छ । भू–माफियाहरूले पनि उनै विचौलिया खड्कालाई प्रयोग गर्ने र भूमाफियाको कुरा विचौलिया खड्काले मन्त्रीसम्म पु¥याउने र त्यही डिजाइन अनुसारको काममा सेटिङ गरि पैसा असुल्दै आएको बताइन्छ । उपत्यकाभित्र रहेका मालपोत कार्यालयबाट महिनावरी उठाउने जिम्मा उनै खड्काले पाएको बताइन्छ । खड्कासँगै अर्का कर्मचारी रहेका छन् उपसचिव जीवन सेढाईँ ।
सेढाईँ विगत लामो समयदेखि शहरी विकास मन्त्रालयमा रजगज गरी बसेका थिए । उनी बढुवा भएपछि सहरीबाट भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा काजमा सरुवा भएका थिए । भूमिमा सेढाईँ सरुवा भए तापनि उनी त्यहाँ कामबीहिन भएर करिव तीन-चार महिना हाटा गरेर दिन बिताइरहेका थिए । तत्कालीन भूमि सचिव गोकर्णमणि दुवाडीको चाकडी गर्दासमेत उनी मालपोत कार्यालयमा जान सकेका थिएनन् । सचिवको चाकडी गर्दा नभएपछि मन्त्री अधिकारीको चाकडी गरी ललितपुरका तत्कालीन मालपोत अधिकृतलाई अन्यत्र सरुवा गरी आफू त्यहाँ पुगेका थिए ।
अहिले ललितपुरमा उनै सेढाईँको हालीमुहाली चलिरहेको छ । उनै उपसचिव सेढाईंले मन्त्री अधिकारी र भूमाफियाहरूलाई प्रयोग गरी सरकारी जग्गा व्यक्तिको नाममा ल्याई दर्ता गरिदिने, मोही र तलसिनको विवादमा लाभकर छल्नेदेखि राजस्व छल्नेसम्मको हर्कत गरी छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न सफल भएको ललितपुर मालका एक पीडित कर्मचारीले नाम नबताउने शर्तमा तामाकोशी सन्देशलाई बताएका छन् ।तर, यस्ता भ्रष्ट कर्मचारीलाई मन्त्रीको साथ भएपछि कसले गर्ने कार्बाही ?

