नेपालका दलहरु नेता ‘फूटाउ र राज गर’ अभियानमा

राजनीति समाचार

(रामचन्द्र बस्नेत)
सबै राजनीतिक दलभित्र अहिले नेताहरुबीच व्यक्तिगत घमण्ड र ‘इगो’का कारण चिरैचिरा पर्न थालेको छ । सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र पहिलादेखि व्यक्तिगत घमण्ड र ‘इगो’ का चिरा पर्दै आएको थियो । त्यसले गर्दा २०७९ को निर्वाचन लड्न अन्य दलहरुसँग सहारा लिनुपरेको थियो । नेकपा माओवादीलगायत अन्य दलहरुसँग गठबन्धन गरेर निर्वाचन लड्दा पनि कांग्रेसले आसातित सिटमा जित निकाल्न सकेको थिएन ।

कांग्रेसभित्र यसैगरी नेतैपिच्छेको गुट फस्टाइरहने हो भने आगामी ८४ को निर्वाचनमा प्रजापरिषद्को हालत नहोला भन्न सकिँदैन । उता, कम्युनिस्ट पार्टीहरुमा नेताहरुको व्यक्तिगत घमण्डका कारण गुटैगुट फस्टाउन थालेको छ ।

नेकपा एमालेबाट चोइटिएर नेकपा एकीकृत समाजवादी पार्टीभित्र ‘कहीँ नभएको जात्रा हाँडिगाउँमा’ भनेझैं अध्यक्ष माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीचको टक्करले पार्टी नै कोमामा पुग्ने देखिन्छ । त्यसैगरी नेकपा एमालेभित्र पनि देखिने गरी दुईवटा गुट फस्टाएको छ । खासगरी पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी राजनीतिमा सक्रिय भएपछि एमालेभित्र भुसको ‘आगो’ झैं भित्रभित्रै गुट फस्टाउन थालेको छ । उतातिर जनयुद्धको १७ हजार मान्छे मारेर संसदीय राजनीतिमा आएको नेकपा माओवादीले २०६४ निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्ने अवसर पाएको थियो ।

विगत लामो समयदेखि एकलौटी रुपमा पार्टी अध्यक्ष बन्दै पुष्पकमल दाहाल प्रचण्डलाई नेता जनार्दन शर्माले टक्कर दिन थालेपछि माओवादी केन्द्रभित्र पनि दुई धारा देखिएको छ । उता, २०४७ सालमै स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र नेताहरुबीच व्यक्तिगत घमण्डले चरम रुप लिएको छ । नयाँ जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र त झन् नेतैपिच्छे गुटैगुट सिर्जना भएको छ ।

त्यसले गर्दा नेपालमा राजनीतिकमा ‘फूटाउ र राज गर’ भन्ने भनाइ चरितार्थ भएको छ । राजनीतिक पार्टीभित्रको यी र यस्तै कारणले गर्दा नेपालमा लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने देखिन्छ । व्यवस्था धरापमा पर्ने मात्रै होइन कर्मचारीतन्त्र भित्र सुशासन कुशासन मौलाउँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *