वार्षिक उत्सव मनाउने र फजुल खर्च गर्नाले संस्थानहरु धमाधम बन्द

राजनीति समाचार

काठमाडौं । सरकारी स्वामित्वमा रहेका संस्थानहरु पञ्चायतकालमा जति फाइदामा थिए बहुदलीय व्यवस्थाहुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा आधाभन्दा बढी बन्द भइसकेका छन् भने सञ्चालनमा रहेकाहरुको अवस्था पनि कर्मचारी पाल्न र कार्यालय सञ्चालन गर्न धौ–धौको अवस्थामा गुज्रिइरहेका छन् ।

पञ्चायतीकालमा नाफामा रहेका साझा यातायात, शाही औषधि लिमिटेड, ट्रलीबस, बाँसबारी छाला तथा जुत्ता कारखाना, टिम्बर कर्पोरेशन, नेशनल ट्रेडिङ लिमिटेड, चोभारको हिमाल सिमेन्ट कारखाना, विराटनगर जुटमिल कारखाना, जनकपुर चुरोट कारखाना, चिया विकास निगम, हेटौंडा कपडा उद्योगलगायत सरकारी स्वामित्वका अधिकांश संस्थानहरु र प्रजातन्त्रहुँदै गणतन्त्रसम्म आइपुग्दा बन्द भइसकेका छन् ।

देशमा बहुदलीय व्यवस्था लागु भएपछि च्याउसरी राजनीतिक दलहरु उदाए । ती राजनीतिक दलहरुले सरकारी संस्थान र उद्योगलाई आफ्ना कार्यकर्ता र आसेपासे थन्क्याउने भर्ती केन्द्र बनाउँदै गए । उनीहरुले भर्तीकेन्द्र मात्रै बनाएनन् ती संस्थान र उद्योगहरुबाट भएको आम्दानी पार्टी चलाउन र चुनाव लड्न चन्दा माग्ने ।

चन्दा नदिएको खण्डमा तोडफोड, आगजनी गर्ने, दलबाट भर्ति भएका कर्मचारीहरुले भ्रष्टाचार गर्ने, संस्थानका सवारी साधन र इन्धन दुरुपयोग गर्ने, भौतिक सम्पत्ति हिनामिना तथा बेपत्ता बनाउने जस्ता कारणले सरकारी संस्थान र उद्योगहरु बन्द हुन पुगेका हुन् । बाँकी रहेका सरकारी संस्थानहरु नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरण, दुग्ध विकास संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल आयल निगम, औषधि व्यवस्था विभाग, बैद्य खाना, जुडीबूटी कारखाना, बीमा संस्थान, नेपाल बायुसेवा निगमलगायका संस्थानहरुमा कतिपयले ऋण लिएर कर्मचारी पाल्ने र कार्यालय सञ्चालन गरेर बसेका छन् ।

सञ्चालनमा रहेका संस्थान मध्यपनि नेपाल बायुसेवा निगम, बैद्य खाना, दुग्ध विकास संस्थान, जडिबुटी, बीमा संस्थान, नेपाल टेलिकमको हालत दिनप्रतिदिन नाजुक बन्दै गएको छ । नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, साल्ट ट्रेडिङ कर्पोरेशन, दूरसञ्चार प्राधिकरण र बीमा प्राधिकरण केही नाफामा देखिएका छन् । नाफामा देखिए तापनि यी संस्थानहरुभित्र भ्रष्टाचार, विकृति र विसंगति झागिँदै गएको छ । यी संस्थाहरुले पनि वार्षिकोत्सवमा फजुल खर्च गर्ने, सेमिनार, गोष्ठी, पोषाक भत्ता, खाजा भत्ता, ओभर टाइम भत्ता, सवारी साधन र इन्धन दुरुपयोग गर्ने जस्ता क्रियाकलापले नाफा भएको रकम सिध्याउने काम गरिरहेका छन् ।

अझ विद्युत् प्राधिकरणका तत्कालीनदेखि हालका उच्च तहका कर्मचारीहरुले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेर विभिन्न हाइड्रोपावर कम्पनी, शेयर र बैंकमा लगानी गर्दै आएको स्रोतले उल्लेख गरेको छ । उता, विद्युत् प्राधिकरण अन्तर्गतका विभिन्न ठूला–ठूला आयोजना र प्रोजेक्टका गाडी विभिन्न पार्टीका नेता र कार्यकर्ताहरुले चुनावका बेला प्रयोगरी दुरुपयोग गर्दै आएका छन् । त्योसँगै प्राधिकरणका कर्मचारीहरुले गाडी मर्मत, संभार र इन्धनमा त्यत्तिकै दुरुपयोग गरिराखेका छन् । त्यसैगरी विद्युत प्राधिकरणभित्रका प्रशानका कर्मचारीहरुले बिनाकाम ओभरटाइम भत्ता खाने गरेको स्रोतको दावी छ । खासगरी प्रशासन र स्टोर शाखामा कार्यरत कर्मचारीहरुले हाजिर मिलाएर मासिक तलब बराबर ओभरटाइम भत्ता लिने गरेको उल्लेख छ ।

ओभरटाइम लिने कर्मचारीहरु बिहान ६ बजे हाजिर गर्न जाने अनि घर आएर खाना खाने फेरि अफिस जाने गर्दछन् । त्योसँगै प्रशासन र स्टोर शाखाका कर्मचारीहरुले विभिन्न शीर्षकमा सामान माग गर्ने, सामानको परल मूल्यभन्दा डबल रकमको बिल पास गर्ने, कर्मचारी खटनपटन र सरुवा, बढुवामा खेलोफड्को गर्ने गरेर भ्रष्टाचार गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *