काठमाडौं । देशभर आजदेखि सप्ताहव्यापी १७औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन)को अगुवाइमा विभिन्न संरक्षण साझेदार सङ्घसंस्थाको सहकार्यमा भदौ १६ गतेदेखि २२ गतेसम्म यस दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन लागेको हो । यस अवसरमा लोपोन्मुख गिद्ध संरक्षणका लागि जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने गरिने जनाइएको छ ।
गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ । मरेका तथा सडेगलेका जनावरको सिनो खाने गिद्धले वातावरण सफा राख्नुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, एन्थ्राक्स, क्षयरोगजस्ता महामारी फैलन नदिन महत्वपूर्ण भूमिका खेल्ने भएकाले कुचीकार भनिएको चरा विज्ञहरु बताउँछन् । गिद्ध आफैं सिकार नगरी केवल सिनोमा निर्भर रहने भएकाले वातावरणलाई प्रदूषित हुनबाट जोगाउँछन् ।
तर पछिल्लो समय गिद्ध लोपोन्मुख अवस्थामा पुगेका छन् । दर्दनिवारक औषधि ‘डाइक्लोफेनेक’ प्रयोग गिद्ध विनाशको प्रमुख कारण भएको वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ । किसानले जनावर बचाउन सिनोमा विषादी प्रयोग गर्ने, ठूला रुख फँडानी, विद्युत् तारमा ठोक्किने, तथा आधुनिक कृषि उपकरणको प्रयोगका कारण पशुपालनमा कमी आउनुले गिद्धको आहारा घटेको छ । साथै, प्राकृतिक प्रकोप, डढेलो, पहिरो, आँधीबेहरी आदिले गिद्धको बाँसस्थान नष्ट भइरहेको तथ्याङ्कले देखाएको छ ।

