बेल्जियमले प्यालेस्टाइनलाई मान्यता दिने

विविध समाचार

काठमाडौं । बेल्जियमले यसै महिनाको अन्त्यतिर संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको छ।

यो घोषणा बेल्जियमका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री म्याक्सिम प्रेभोले गरेका हुन् ।‘प्यालेस्टाइनलाई बेल्जियमले संयुक्त राष्ट्र संघको सत्रमा मान्यता दिनेछ । साथै इजरायली सरकारविरुद्ध कडा प्रतिबन्ध लगाइनेछ,’ प्रेभोले मंगलबार बिहान सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

प्रेभोका अनुसार बेल्जियमले इजरायलमाथि १२ वटा प्रतिबन्ध लगाउनेछ । ती प्रतिबन्धहरूमा अधिग्रहित पश्चिमी किनारमा रहेका अवैध इजरायली बस्तीबाट सामान आयातमा रोक लगाउने र इजरायली कम्पनीहरूसँगको सार्वजनिक खरिद नीतिहरू पुनरावलोकन गर्ने लगायतका कदमहरू रहेका छन्।

बेल्जियमको मध्यमार्गी क्रिश्चियन डेमोक्र्याट पार्टीका सदस्य समेत रहेका प्रेभोले यो निर्णय ‘प्यालेस्टाइनमा विशेषगरी गाजामा भइरहेको मानवीय त्रासदी’ का कारण गरिएको स्पष्ट पारेका छन् ।
यस वर्ष अप्रिलसम्म १४७ देश (संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूको ७५ प्रतिशत)ले प्यालेस्टाइनलाई मान्यता दिइसकेका छन्। तर इजरायल र संयुक्त राज्य अमेरिका यस कदमको कडा आलोचना गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *