नेपालको ७० जिल्ला भन्दा वढिमा पुगेको छु । कतिपय जिल्ला पटक पटक पुगेको छु । तर घुम्न भनेर कुनै पनि जिल्ला गएको याद छैन । कामको सिलसिलामा पुगेको छु । त्यस मध्ये धेरै पटक पुगेको जिल्ला कास्की हो ।
यो जिल्लाको सदरमुकाम पोखरा पटक पटक पुग्नु भनेको अरु जिल्ला जाने बाटो भएर पनि हो । अरु प्रदेशलाई जोड्ने विमानस्थल गण्डकीको पोखरा मात्रैं हो । त्यहि भएर पोखरा धेरै पटक पुग्ने गरिन्छ । यद्यपी पोखरा असाध्यै सुन्दर छ । जाउँ जाउँ पुगौं पुगौ एक पटक लेक साइड तर्फ घुमौं जस्तो लाग्दछ । तर कास्कीको ग्रामिण इलाकामा पुग्ने मौका चाँही खासै मिलेको थिएन ।
पुराना दिन संझदा
एक दशक भन्दा पनि अघि अन्नपुर्ण संरक्षण क्षेत्रका वारेमा केही जान्न एक गाउँतिर पुगेको थिएँ तर त्यो स्थानको नाम नैं भुलेछु । तर यस पटक कास्कीको ग्रामिण क्षेत्र पुग्ने त्यहाँका सामुदायिक वन र स्थानीय तहका जनप्रतिनिधिहरुसँग कुराकानी तथा अन्तरक्रिया गर्ने मौका मिल्यो । नेपालको सामुदायिक वन अभियान प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेलेको रिकफ्टसँग मेरो धेरै पहिला देखिको सम्वन्ध थियो । त्यही संस्थाले मलाई कास्की लगायतका केही जिल्लाको ग्रामिण क्षेत्र घुम्ने र त्यहाका नागरिकहरुसँग संवाद गर्ने मौका जुराइ दियो ।
रिकफ्ट नेपालसँग सन् २००४ सँग मेरो प्रत्यक्ष सम्वन्ध छ र मेरो जीवनको मोड नैं परिवर्तन गराउन योगदान गर्ने संस्था पनि हो । त्यती बेला वाच र फेकोफनले रिकफ्ट वैंककको सहकार्यमा सामुदायिक वनमा सुशासन सम्वन्धी एक परियोजना सञ्चालन गरेको थियो । त्यस परियोजनाको अन्त्य अन्त्य तिर सामुदायिक वनमा काम गर्ने सहजकर्ताहरुको एक भेला आयोजना गरेको थियो । त्यो मिति थियो २०६० साल माघ २५ । त्रिपुरेश्वरमा ब्लु स्टार होटल थियो त्यो अहिले वन्द भैसकेको छ । त्यहाँ ५१ जिल्लाका २५१ जना म जस्ता सहजकर्ताहरु जम्मा भएका थियौं । वाचले यो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । अगुवाई थियो, सामुदायिक वनका अभियानकर्ता तथा सहजकर्ता डा. नारायणकाजी श्रेष्ठको ।
त्यो अन्तरक्रिया कार्यक्रममा सामुदायिक वन अभियानमा सुशासन र सहजकर्ताको भूमिका सम्वन्धी २ पेज भएको निश्कर्षको वुँदाहरु प्रस्तुत गर्ने मौका मैले पाएको थिएँ । त्यहि मेरो जीवन मोडिने अवसर हुन पुग्यो । म त्यती बेला फेकोफनको कार्यक्रम अधिकृत पदमा रहेर जागिर खाइरहेको थिएँ । २०६० माघ २५ भएको अन्तरक्रिया कार्यक्रममा सहजकर्ताको साझा संस्थाको आवश्यकता महसुस भयो । ७ सदस्यीय तदर्थ समिति वन्यो । नाम राखियो सामुदायिक वन सहयोगी सञ्जाल, नेपाल । सात जनाको टिममा म एक जना परें । अरु सरोज कुमार पाण्डे, ठाकुर भण्डारी, विना श्रेष्ठ, राजकुमार खड्का, सरिता उप्रेती र विनोद थर विसें पछि सम्पर्कमा नैं नआए पछि थानकोटका रामकुमार केसीलाई चयन गरिएको थियो ।
भोली पल्टको वैठकले मलाई तदर्थ समितिको संयोजक तोकि कार्य आरम्भ गरिएको थियो । त्यो बेलामा हामी ७ जनाले जनही रु ५ सय जम्मा गरेर खर्च व्यवस्थापन गरेका थियौं । संस्थाको विधान दर्ता गर्ने बेलामा पदाधिकारी चाहिने भएका हुनाले म अध्यक्ष, उपाध्यक्ष सरोज, सचिव ठाकुर र कोषाध्यक्ष विना चयन भएका थियौं । यो संस्थाको नाम अहिले कफ्सन नेपालबाट परिचित छ । सो संस्थाको वर्तमान अध्यक्ष विना श्रेष्ठ हुनुहुन्छ ।
रिकफ्टसँगको साइनो
हो, कफ्सन नेपाल स्थापनाको पृष्ठभूमि रिकफ्टसँग जोडिएको छ । अर्थात रिकफ्ट सहितले सञ्चालन गरेको एक परियोजनाको उत्पादन कफ्सन हो भन्दा फरक पर्र्दैन । अनी कफ्सन नेपालले मेरो परिचय फेरिदिएको छ । कफ्सन नेपालको अध्यक्ष भए पछि मैले नियमित जागिर छाडें । अभियान तर्फ वढि केन्द्रीत हुन पुगें । धेरै पटक रिकफ्ट कार्यक्रममा सहभागी हुने मौका पाएको छु ।
मेरो पहिलो विदेश यात्रा पनि रिकफ्टसँग जोडिएको छ । यस अवधीमा रिकफ्टकै पनि नाम र केही भूमिकामा परिवर्तन भएको छ । केही बर्ष रिकफ्टले नेपालमा सञ्चालन गर्ने कार्यक्रमको कार्यालय कफसन नेपालले उपलव्ध गराएको थियो । त्यो कार्यक्रम सकिए पछि कार्यालय फर्निचर कफसन नेपाललाई नैं हस्तान्तरण गरेको थियो । त्यस पछि रिकफ्ट नेपाल नाम दिई नेपालमा नैं संस्था समेत स्थापना भएको छ ।
रिकफ्टसँग नजिकबाट सम्वन्ध भएको २ दशक पछि फेरी त्यही संस्थाको आयोजनामा गण्डकीका केही ग्रामिण वस्तीमा पुग्ने त्यहाँका सामुदायिक वनका अगुवासँग अन्तरक्रिया गर्ने मौका जुरेको छ । नेपालमा रिकफ्टसँगको साइनो सामुदायिक वनमै जोडिएको हो । पहिला सामुदायिक वनसम्वन्धी तालिम सञ्चालन गर्ने केन्द्रकै रुपमा स्थापित भएको थियो । पछि नाम फेरिएको हो । तर छोटकरीमा रिकफ्ट नाम चाँही उही छ ।
रिकफ्टको प्रधान कार्यालय वैंककमा गएर नेपालका सरकारी तथा गैरसकारी पदाधिकारीहरु कति जनाले सामुदायिक वनको प्रकृयाको तालिम लिएर आए सायदै त्यसको अभिलेख होला । म पनि सोही सिलसिलामा केही पटक पुगेको छु । नेपालमै आएर तालिम पनि दिएका छन् । हुनत सुरुमा यसको मुख्यालय नैं नेपालमा नैं राख्न खोजिएको थियो रे तर त्यती बेलाको सरकारले सहयोग नगरेको वा चासो नदेखाएकोले वैंककमा राख्नु परेको भन्ने पनि कतै सुनिएको थियो । त्यसैले पनि नेपालको सामुदायिक वन अभियानले विस्तार गर्नमा रिकफ्टको महत्वपूर्ण भूमिका रहेको भन्दा कुनै गफ लगाएको मानिन्न । नेपालको सामुदायिक वनको इतिहास लेख्दा रिकफ्टको योगदान लेखिएन भने सायदै अपुरै होला भन्ने लाग्दछ । नेपालको सामुदायिक वनको अभ्यासलाई अरु देशमा पु¥याउन पनि रिकफ्टको भूमिका रहेको छ ।
सामुदायिक वनको अवस्था
कास्कीको वस्तीमा पुगेको कुरा लेख्दा लेख्दै म अन्यत्रै धेरै वहकिन पुगेछु । तर यी कुरा लेख्दा मेरो मन पुराना दिनमा फर्कदै तरङ्गित भएको छ । कुनै दिन ति अनुभुती लेखौंला भन्दा भन्दै अहिले मेरो दिमाखमा आएको कुरा पछि नआउन पनि सक्छ भनेर लेख्दा लेख्दै वहकिन पुगें । फेरि फर्कन्छु २०८२ सालनैं । २०८२ साल भाद्र १७ गते बुद्धको विमानबाट पोखरा झरें । विमानस्थलमा नैं रिकफ्टका कार्यक्रम अधिकृत पवन कार्कीसँग भेट भयो ।
लेकसाइटको रुद्राक्ष होटलमा वास वसियो । भोली पल्ट देखि कास्कीका ग्रामिण तहमा ४ दिन, स्याङ्गजामा २ र पर्वतमा २ दिन समुदायका अगुवासँग छलफल गर्ने कार्यक्रम तय भएको थियो । नेपालमा केही वन संरक्षण क्षेत्रहरु रहेका छन् । त्यस मध्येमा पञ्चासे वन संरक्षण क्षेत्र एक हो । यस पटक पञ्चासे वन संरक्षण क्षेत्रमा पर्ने सामुदायिक वनका अगुवाहरुसँग छलफल गर्ने कार्यक्रम रहेको थियो । पञ्चासे क्षेत्र कास्की, पर्वत र स्याङ्जा जिल्लाको संगम स्थान रहेछ । कास्की जिल्लाको पोखरा महानगरपालिकाका २ वटा वडाहरु पञ्चासे वन संरक्षण क्षेत्र भित्र पर्दोरहेछ । वडा नंं २२ र २३ । अन्नपुर्ण गाउँपालिकाको वडा नं ४, स्याङ्गजा जिल्लाका आँधिखोला गाउँपालिकाको वडा नं ४ र फेदिखोला गाउँपालिकाको ४ र ५ नं वडा त्यसै गरी पर्वत जिल्लाको कुष्मा नगरपालिका वडा नं १४ र मोदी गाउँपालिका वडा नं. ७ र ८ यस वन संरक्षण क्षेत्रमा पर्दछ ।
कास्की, स्याङ्जा र पर्वतको सिमानामा रहेको पञ्चासे वन संरक्षणले ५ हजार ७ सय ७६ हेक्टर ओगटेको छ । यस भित्र १०८ बटा सामुदायिक वनहरु रहेका छन् । सामुदायिक वनले ओगटेको क्षेत्र वाहेकको क्षेत्र पनि छ त्यसको संरक्षणमा समेत विशेष ख्याल गर्न वन संरक्षण क्षेत्र बनाएको रहेछ । ती सवै सामुदायिक वनका अगुवाहरुलाई सामुदायिक वनको मार्गदर्शन २०८१ को अभिमुखीकरण कार्यक्रम सञ्चालनको सिलसिलामा मलाई यो त्यहाँ पुग्ने मौका जुरेको हो । २०८१ चैत्र २८ गते सामुदायिक वनको मार्गदर्शन, २०८१ भनि नेपाल सरकारका वन तथा वातावरण मन्त्रालयका मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भै लागु भैरहेको छ । यसका प्रमुख प्रावधानहरु सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुलाई जानकारी गराउने र कार्यान्वयन गर्ने गराउने क्रममा रिकफ्टले अभिमुखीकरण गोष्ठी आयोजना गरिरहेको छ ।
पञ्चासे वन संरक्षण क्षेत्र भनेको चाँही वन ऐन २०७६ अन्तरगत सञ्चालन भएको हो । यस्ता वन संरक्षण क्षेत्रहरु नेपालभर एक दर्जनको हाराहारीमा रहेका छन् । यस्लाई वन ऐन २०४९ हुँदा संरक्षित वन भन्ने गरिन्थ्यो । वन ऐन २०४९ खारेज भैं २०७६ सालमा मा वनेको वन ऐनले त्यसता संरक्षित वनहरुलाई वन संरक्षण क्षेत्रमा रुपान्तरण गरिदिएको छ ।
यी शव्दहरु लेखिरहँदा कास्कीका ४ स्थान र स्याङ्गजाको दुई स्थानमा सामुदायिक वनका पदाधिकारीहरुसँगको छलफल सकिएको छ । अन्तरक्रियाको क्रममा केही उत्साहजनक विषयहरु पनि आए अनी केही सामुदायिक वन अभियानले सोच्नु पर्ने विषयहरु देखिए । अधिकांश सामुदायिक वनका समितिहरु समावेशी स्वरुपमा देखिए । वनको हैसियत वढेको हरियाली देखिएको पाइयो ।
वन जोगाउन उपभोक्ताहरुले गरेको कोसिस सुन्न पाउँदा छाति चौडा भएको महसुस हुन्छ तर अव हामीलाई सामुदायिक वन चाहिएन । धान्न सकिएन । मानिस नैं भएनन् । स्थायी लेखा नं. लिन भनियो तर त्यसको अपडेट गर्ने खर्च पनि सामुदायिक वनबाट जुटेन भनेको सुन्दा मन कटक्कै खाँदो रहेछ । यसका वारेमा विस्तृतमा अर्को श्रृखलामा लेखौंला । अहिलेलाई चाँही यत्ति लेखौं, ग्रामिण क्षेत्रका सामुदायिक वनका अगुवाहरुसँगको भलाकुसारी मेरोलागि ठुलो खुराक भएको छ । त्यहाँको परिवेश र सामुदायिक वनका पदाधिकारीहरुको वुझाइ गजब पाएँ । सहभागीता उत्साहमा कमी देखिएन तर यो उत्साहलाई नियमित गर्न सकिन्न कि भन्ने चिन्तन मनन्योग्य छ । यसका वारेमा पछि लेखौंला ।

