काठमाडांंै । शुशिला कार्की प्रधानमन्त्री भएको एकमहिना पार गरिसक्दा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्ति गर्न नसकेर आफैले सम्हालिरहेकी छिन् । प्रधानमन्त्री कार्कीले सम्हालिरहँदा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सुनसान अवस्थामा गुज्रिइरहेको छ । श्रम सचिव रहेका छन् पुष्कर हरि कर्ण ।
कर्ण पनि आफ्नो कार्यकक्षामा नबसेर मुख्यसचिव बन्नको लागि प्रधानमन्त्री कार्कीको चाकडीमा व्यस्त छन् । कर्ण पूर्व सरकारका प्रधामन्त्री केपी शर्मा ओलीसँगै कांग्रेका शीर्ष नेता र तराइवासी नेताहरुको समेत आशिर्वाद लिएर भावी मुख्यसचिव बन्ने धुनमा लागिपरेका थिए । तत्कालीन सरकार ढलेपछि अहिले नागरिक सरकारका प्रधामन्त्री शुशिला कार्कीको सरणमा पुगिसकेका छन् ।
उता मुख्यसचिव एकनारायण अर्याल आगामी मंसिर ९ गते अवकास प्राप्त हुँदैछन् । अर्याल अवकास प्राप्त भएपछि आफू मुख्यसचिव बन्नको लागि कर्ण पहिलादेखि नै दौडधूप गरिरहेका थिए । कर्णसँगै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी पनि कसिएका थिए । तर, दुवाडीलाई अहिलेको सरकारले निलम्बन गरी उनको पासपोर्टसमेत रोक्का गरिदिएको छ ।
त्यसले गर्दा दुवाडीको मुख्यसचिव बन्ने रहर समाप्त जस्तै भएको छ । दुवाडीको जागिरे अवधि पनि आगामी मंसिरसम्म मात्रै छ । दुवाडीपछि अर्का सचिव सुमन शर्मा सिनियर रहेका छन् । शर्माको जागिरे अवधि पनि आगामी फागुनसम्म मात्रै छ । त्यसले गर्दा पनि कर्ण मुख्यसचिव बन्नको लागि न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । तर, जेनजी पुस्ताको आन्दोलनले बनेको नागरिक सरकारले कसलाई मुख्यसचिव बनाउने हो त्यो एकिन छैन ।
उता, कर्णको हर्कत यस्तो छ, उनी मालदार हड्डा र पावरमा पुग्नको लागि खान र खुवाउन माहिर कर्मचारीमा गनिन्छन् । कर्णले आफू मुख्यसचिव बन्नको लागि सबैतिर सेटिङ मिलाउन माहिर रहेको कर्मचारी स्रोत बताउँछ । कर्ण भारतमा पढेर आएकाले त्यतातिर पनि सेटिङ मिलाउन सक्ने क्षमता राख्छन् । कर्णलाई भारतमा पढाइ सकेर नेपाल सरकारको जागिर खाइसकेपछि फेरि नेपाल सरकारले छात्रवृत्तिमा जर्मनमा थप अध्ययनको लागि पठाएको थियो । त्यसपछि कर्ण ४ वर्ष कोरियाको राजदूत भएर बिताएका थिए । त्यसैगरी भारतको काउन्सुलर भएर ४ वर्ष बसेका थिए ।
त्यस्तै २ वर्ष अमेरिकामा बस्ने मौका पाएका थिए । कर्णले विदेशमा बस्दा उतै खाता खोलेर करोडौं जम्मा गरेको स्रोतको दावी छ । यता नेपाल सरकारको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थमन्त्रालय, पर्यटन मन्त्रालय, संघीयमन्त्रालयहुँदै श्रम सचिवसमेत बन्न सफल भएका छन् । श्रम सचिव भएपछि श्रम मन्त्री शरदसिंह भण्डारीलाई हटाउन जोडबल गरिरहेका थिए । कर्णको दाउ भण्डारीलाई हटाएर शर्वेन्द्रनाथ सुक्लालाई मन्त्री बनाउने थियो । कर्ण अहिले पनि श्रम मन्त्रालयमा बसेर विभिन्न सेटिङ गरिराखेका छन् ।
अहिले प्रधानमन्त्री शुशिला कार्कीले श्रम मन्त्रालयमा ध्यान दिन नसकेको मौका छोपेर वैदेशिक रोजगार विभागमा सेटिङ चलाइरहेका छन् । कर्णकै आडमा वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईको हालिमुहाली चलिरहेको छ । अध्यागमन विभागले भिजिट भिसामा नेपालीहरु विदेश पठाएको आरोपमा तत्कालीन गृहमन्त्री रमेश लेखक मुछिएका थिए । गृहमन्त्री लेखकसमेत अनियमिततामा मुछिएपछि सरकारले छानविन समिति बनाएको थियो । छानविन समिति बनेपछि अध्यागमन विभाग भिजिट भिसामा कड्याइँ गरेको थियो ।
गत भदौ २३ र २४ गतेको आन्दोलनले सरकार ढलेपछि एयरपोर्ट अध्यागमन कार्यालय ‘बिना मियोको दाई’ जस्तै भएको छ । त्यसले गर्दा अहिले वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराई, विचौलिया र म्यानपावर कम्पनीका सञ्चालकहरुले भिजिट भिसामा खुलमखुला रुपमा विभिन्न मुलुकमा नेपालीलाई पठाइरहेका छन् ।
यतिबेला वैदेशिक रोजगार विभागहुँदै यरपोर्ट अध्यागमन कार्यालयका कर्मचारी, सुरक्षा निकाय र विचौलियाहरुको सेटिङ फास्टाएको छ । श्रम मन्त्रालयको जिम्मेवारी लिएकी प्रधानमन्त्री शुशिला कार्की भने बेखबर जस्तै भएकी छिन् । प्रधानमन्त्री कार्कीलाई मन्त्रालय सम्हालन भ्याइनभ्याई भएको छ भने त्यसको फाइदा श्रम सचिव कर्ण र महानिर्देशक भट्टराईले लिइरहेका छन् । अनि यो सरकारले कसरी गर्छ देशमा सुशासन कायम ?

