जेनजी आन्दोलनपछि सबै क्षेत्र तहसनहस, विचौलियाको विगविगी

राजनीति समाचार

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचाना निर्माणदेखि कार्यालय व्यवस्थापनसँगै कर्मचारी व्यवस्थापनमा राज्यको अर्बौं रुपैयाँ खर्च भइरहेको छ । सरकारलाई सो खर्च व्यवस्थापन गर्नको लागि हम्मेहम्मे परिरहेको छ । यता उद्योग धन्दादेखि व्यापार व्यवसायहरु पनि चौपट भएका छन् । त्यसको व्यवस्थापन गर्न सरकारले सकेको छैन । विदेशीले नेपालमा लगानी गर्ने वातावरण बनाउन सरकारले कुनै पहल गरेको छैन ।

सरकारले विदेशीलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन नभएपछि उनीहरु लगानी गर्नबाट हच्किएका छन् । जेनजी आन्दोलनकै कारण नेपालमा भएका उद्योगीहरुले पनि उद्योग चलाउन थप लगानी गर्न सकेका छैनन् । त्यसले गर्दा देशमा आर्थिक संकट थपिँदै गएको छ । जेनजी आन्दोलनले ४ घण्टामै राज्यबिहीनताको अवस्था सिर्जना गरेको थियो ।

त्यसले गर्दा पनि नेपालको शान्ति सुरक्षाप्रति विदेशीले विश्वास गर्न सकेका छैनन् । उद्योगीहरुले पनि सरकारसँग लगानी गर्ने वातावरण बनाउन पहल गरिरहेका छन् । तर, सरकारले यस विषयमा ध्यान दिन सकेको छैन । स्वदेशी उद्योगीहरुले पनि नेपालमा लगानी गर्ने वातावरण नभएको भन्दै सुरक्षाको ग्यारेन्टी गर्न सरकारलाई आग्रह गरिरहेका छन् । सरकारले लगानीमैत्री वातावरण नबनाएसम्म उद्योगधन्दा सञ्चालन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभनएको उद्योगीहरुले बताइरहेका छन् ।

उता उद्योगी व्यापारीहरुले पनि मौकाको फाइदा उठाउँदै सरकारलाई गुमराहमा पारेर विभिन्न व्यापारिक पोलिसीमा खेल्ने गरेका छन् । यता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हा उद्योगी, व्यापारीहरुकै पछि लागेर कमाउधन्दा चलाइरहेका छन् । विचौलिया र व्यापारीहरुले खेल्दा किसानहरु मारमा परिराखेका छन् । यतिबेला तरकारीको सिजन चलिरहेको छ । तर, उभोक्ता भने महंगीको मारमा परिराखेका छन् ।

किसानबाट उभोक्ताको भान्सासम्म आइपुग्दा ५ पाँच गुना मूल्य बृद्धि भएको पाइन्छ । विचौलिया, ढुवानीकर्ता र थोकबजारको सिन्डिकेटले गर्दा उत्पादन गर्ने किसान र उपभोक्ता ठगिइरहेका छन् । त्यसको उदाहरण लिन सकिन्छ गोलभेडालाई । काठमाडौं उपत्यकाभित्र प्रतिकेजी १ सय ६० रुपैयाँसम्म व्यापारीहरुले असुलीरहेका छन् भने उपत्यकाबाहिर प्रतिकेजी २०० रुपैयाँसम्म असुल्ने गरेका छन् । तर, सरकारका सम्बन्धित निकायले भने त्यस्ता विषयमा ध्यान दिन सकेका छैनन् । सरकारलाई निर्वाचनको रटान दिँदैमा फूर्सद छैन । कर्मचारीलाई कहाँबाट कमिसन आउँछ भनेर सेटिङ गर्दैमा ठिक्क छ ।

त्यसैगरी यातायात क्षेत्रमा पनि मनलाग्दी भाडा असुल्ने काम भइरहेको छ । बढी भाडा असुलेर पनि यात्रुहरुलाई तोकिएको समयमा गन्तव्यमा नपु¥याएर अलपत्र बनाउने काम भइरहेको छ । तर, सरकार र सम्बन्धित निकायले त्यतातिर ध्यान दिन सकेको छैन । जेनजी आन्दोलनपछि प्रहरी प्रशासनको उपस्थिति कम भएको मौका छोपेर यातायात व्यवसायीहरुले यात्रुहरुलाई दुःख दिने काम झन् बढिरहेको छ । त्यस्ता व्यवसायीलाई यातायात व्यवस्था विभाग र कार्यालयले अनुगमन गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । ग्रामीण भेगतिर प्रहरीको उपस्थिति सून्य छ ।

यातायात व्यवसायीहरुले क्षमताभन्दा बढी मान्छे खसीबोका कोचेझै यात्रु बोक्ने गरेका छन् । मान्छे सवार गर्ने गाडीमा खसीबोको, मालसामान बोक्ने गर्दा यात्रुहरुलाई त्यत्तिकै हैरानी हुने गरेको छ । ट्राफिक प्रहरीको उपस्थिति नहुँदा तोकिएको समयमा सवारी साधन नचलाएर ढिलासुस्ती गर्ने काम भइरहेको छ । त्यसले गर्दा यात्रुहरुलाई समयमा पुग्नुपर्ने काममा वाधा पुगिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *