काठमाडौं । ‘स्याल कराउनु र कुखुरा हराउनु’ एकै पटक । स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा डा विकास देवकोटा नेतृत्व गर्ने ठाउँमा पुग्नु र उनको पूर्व पत्नी स्वास्थ्य सेवा विभागबाट सूदुरपश्चिमस्थित डडेलधुरातिर सरुवा हुनु एकै पटक भएको छ । यो घटनालाई स्वास्थ्य सेवाका कर्मचारीहरुले सचिव देवकोटाले पूर्व पत्नीसँग प्रतिशोध साँझेको टिप्पणी गर्न थालेका छन् । डा देवकोटाले सचिवको जिम्मेवारी सम्हालेको केही महिना पछाडि नै स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाकी निर्देशकको भूमिका निर्वाह गरिरहेकी एक अब्बल डाक्टरलाई त्यहाँबाट लखेटिइन र सरुवा भएर दुगर्ममा पुगिन । त्यो पनि विभागमा आएको बर्ष दिन नपुग्दै । यस अघि कोशी प्रदेशमा सेवा गरेर उनी विभागमा आइपुगेकी थिइन । तर बर्ष दिन नपुग्दै उनलाई दुर्गममा गरिएको सरुवालाई पूर्व पतिले गरेको हिंसाको रुपमा अर्थाउनेहरु पनि छन्,स्वास्थ्य मन्त्रालयतिर ।
हाल मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी सम्हालिरहेकी तिनै चिकित्सकसँग यस बिषयमा तामाकोशी प्रतिनिधिले जिज्ञासा राख्दा उनले सरुवाप्रति आफ्नो कुनै गुनासो नरहेको तर सिष्टमप्रति ठूलो गुनासो रहेको टिप्पणी गरिन । डा देवकोटा सचिवको जिम्मेवारीमा आउनु र आफ्नो दुर्गममा सरुवा हुनुलाई उनले कागतालीको रुपमा अर्थाइन । उसो त उनै देवकोटाले सचिवको जिम्मेवारी सम्हालेको तीन महिना नबित्दै कान्छी पत्नीलाई अधिकृत स्तरको पदमा ठाडो नियुक्ति दिलाएको बिषयमा समेत उनको आलोचना गर्न थालेका छन् । देवकोटाले आफ्नो पत्नीलाई विना प्रतिष्प्रर्धा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नर्सिङ क्याम्पसमा नर्सिङ प्रशिक्षक नियुक्त गरेको अस्पतालका कर्मचारीहरुले जनाएका छन् ।
पूर्ववर्ती सरकारले गत फागुन २१ मा देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो । उनै देवकोटा सचिव नियुक्त भएसँगै आफ्नी पत्नीलाई विना प्रतिष्प्रर्धा परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा प्रवेश गराएका हुन । उनी सचिव बढुवा भएको तीन महिना पछि नै श्रीमतीलाई परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको नर्सिङ प्रशिक्षकमा नियुक्त गरेका हुन । क्याम्पसले करार कर्मचारी नियुक्ति नियमावली नबनाई गत चैत्र र वैशाखमा डा देवकोटाकी श्रीमती भुजेलसहित चार जना नर्सिङ प्रशिक्षक नियुक्त गरेको हो । देवकोटा पत्नी भुजेलको सेवा अवधि जेठ १ गतेबाट ०८३ असारसम्म तोकिएको छ ।
उनी सचिव नियुक्त भएको तीन महिना पछि श्रीमती भुजेललाई अस्पतालको नर्सिङ प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो । यस अघि पनि यसै गरी ठाडै तीन जनालाई नर्सिङ प्रशिक्षकमा विना प्रतिष्प्रर्धा नियुक्त गरिएको थियो । अस्पतालले आवेदन नै माग नगरी आन्तरिक रूपमा प्रतिस्पर्धाका नाममा उनीहरुलाई नियुक्त गरेको हो । अस्पताल प्रशासनले विष्णु भुजेल सचिव विकास देवकोटाको श्रीमती भएको स्वीकार गरेको छ तर उहाँको नियुक्ति नियमसंगत ढंगबाटै भएको अस्पतालले भनेको छ । अस्पताल प्रशासनसँग यो बिषयमा जिज्ञासा राख्दा, सचिवको सोर्स फोर्सको आधारमा नभइ आन्तरिक प्रतिस्पर्धामार्फत सचिव देवकोटा पत्नी भुजेलसहित चार जनालाई नियुक्त गरेको भनाइ छ ।

