वैरोमा पूर्वस्वीकृति र अन्तिम स्वीकृतिमा असुलीधन्दा

राजनीति समाचार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले पद वहाली गरेको हप्तादिन नपुग्दै वैदेशिक रोजगार विभागबाट कर्मचारी सरुवा गर्न सुरु गरेका छन् । विभागका तत्कालीन महानिर्देशक कमल भट्टराईराई मन्त्रालयमा तानेर सो ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सह–सचिव मिरा आचार्यलाई महानिर्देशक बनाएका छन् । जब कि सह–सचिव आचार्यलाई वैदेशिक रोजागार सम्बन्धी कुनै ज्ञान छैन । लामो समयसम्म श्रम मन्त्रालयमा बसेर वैदेशिक रोजगारीसम्बन्धी अनुभव बटुलेका सह–सचिवहरुलाई पाखा लगाएर कमाउधन्दा सञ्चालन गर्नको लागि सामान्य प्रशासन मन्त्रालयकी सह–सचिव आचार्यलाई महानिर्देशक बनाएका छन् ।

वैदेशिक रोजगार विभागमा मेनपावर कम्पनी सञ्चालक र कर्मचारीहरुको सेटिङ चलिरहँदा मन्त्री भण्डारीले नयाँ महानिर्देशक नियुक्ति गरेर तमासा देखाएका छन् । वैदेशिक रोजगार विभागमा पूर्वस्वीकृति र अन्तिमस्वीकृतिमा ठूलो चलखेल हुँदै आएको छ । त्योसँगै इन्डिभिज्युल शाखामा पैसाको व्यापक चलखेल हुदैँ आएको छ । इन्डिभिज्युल शाखामा प्रविन सुवदीको हालिमुहाली चलेको छ भने अन्तिम स्वीकृतिमा खत्री र ओली थरका कर्मचारीहरुको उर्तिधन्दा चलिरहेको छ ।
वैदेशिक रोजगार विभागका लव जोशीलाई सामान्यको अतिरिक्त शाखामा सरुवा गरिएको छ भने उपेनद्र राज पौडेललाई गृहमा सरुवा गरिएको छ । दुईजना उपसचिव महिलालाई विभिन्न ठाउँबाट सरुवा गरी श्रम मन्त्रालय पठाइएको छ । श्रम मन्त्रालयबाट वैदेशिक रोजगार विभागमा पठाउने तयारी गरेको छ । त्यसले गर्दा वैदेशिक रोजगार विभाग दिनप्रतिदिन बद्नाम बन्दै गएको छ ।

उता, म्यानपावर सञ्चालकहरुले पूर्व स्वीकृति र अन्तिम स्वीकृति निकाल्नको लागि एक हप्ता अगाडि नै विभागमा आवेदन दिँदा पनि पैसाको कारोबार नमिल्दा ढिलासुस्ती हुने गर्दछ । त्यसरी पूर्वस्वीकृति र अन्तिम स्वीकृति लिनको लागि सम्बन्धित कर्मचारीकाहरुका श्रीमतीको मोबाइल बैंकिङ्गमा पैसा हालिदिनुपर्ने हुन्छ । यदि अख्तियारले समातेको खण्डमा कर्मचारीहरुले आफ्नो मोबाइलमार्फत् कारोबार गर्दा भ्रष्टाचार गरेको देखिने भएकाले श्रीमती अथवा आफन्तको मोबाइलबाट घुसको रकम कारोबार गर्ने गरेको पीडितको भनाइ छ ।

कर्मचारीहरुको यस्तो रवैया छ भने उता मेनपावर कम्पनी सञ्चालकहरुजे नक्कली डिमान्ड लेटर खडा गरेर विभिन्न देशमा नेपाली कामदार पठाउने गर्दछन् । नक्कली डिमान्ड लेटर खडा गर्ने काम स्वदेश र विदेश दुवैतिरबाट हुने गर्दछ । विदेशी एजेन्टहरुले पनि नक्कली डिमान्ड लेटर पठाउने गरेका हुन्छन् । त्यसको आधारमा नेपालका मेनपावर कम्पनीहरुले कामदार पठाउने गर्दछन् । त्यसरी विदेश गएका नेपाली कामदारहरु त्यहाँ पुगेर अलपत्र पर्ने गरेका थुप्रै उदाहरण छन् । उता, वैदेशिक रोजगार विभागमा दिनप्रतिदिन ठगीका उजुरीहरु परिरहेका छन् । ठगीका उजुरीको चाङ बढेसँगै विदेश जानेहरुको संख्या पनि त्यत्तिकै बढिरहेको छ । गत मंसिर महिनामा मात्रै विभिन्न देशमा ६५ हजार हाराहारी नेपालीहरु वैदेशिक रोजगारीमा गएको पाइन्छ । वैदेशिक रोजागरीबाट घर बिदामा नेपाल आएका र पुनः फर्किने बेलामा कामदारले ल्याएको डकुमेन्टमाथि शंका गर्ने, झुलाउने र अन्तिममा पैसा असुल्ने काम गर्दछन् ।

तर, मन्त्री भण्डारीले यस्ता सम्वेदशील विषयमा ध्यान नदिएर वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण निःशुल्क बनाउने नाममा सस्तो लोकप्रियता कमाउने काम गरिरहेका छन् । वैदेशिक रोजगारीमा स्वास्थ्य परीक्षणभन्दा सिस्टम ठूलो विषय बनेको छ । सिस्टम बनाएर ठगी नियन्त्रण गर्नुपर्नेमा त्योनगरी छिट्टै सस्तो लोकप्रियता कमाउने काममा मन्त्री भण्डारी रमाइरहेका छन् । त्यसैगरी श्रमसचिव कृष्ण हसिर पुष्करले विदेश जाने नेपालीहरुलाई स्वास्थपरिक्षणमा प्रधानमन्त्रीलाई झुक्याइएको आरोप उनीमाथि लागेपछि उनी सरुवामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *