सरकार प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते गर्ने तयारीमा जुटिरहेको छ । तर, राजनीतिक दलहरु आन्तरिक द्वन्द्वमै अलमलिइरहेका छन् । ठूलो दल नेपाली कांग्रेस यतिबेला निर्वाचनतिर भन्दा पनि आन्तरिक झगडामा रुमलिइरहेको छ । संस्थापन पक्षले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने भनिरहँदा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन अगाडि नै पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै विशेष महाधिवेशन गरेर तमासा देखाएका छन् । विशेष महाधिवेशन गरे तापनि कांग्रेस फुट्ने र जुट्ने एकिन भएको छैन । विशेष महाधिवेशनले गर्दा पार्टी नफुटेपनि आगामी निर्वाचनमा एक भएर जाने सम्भावना क्षण हुँदै गएको छ । यसले गर्दा कांग्रेसभित्र झन् गुट उपगुट झांगिने र निर्वाचनमा एकले अर्को समूहको उम्मेदवार हराउने खेल नहोला भन्न सकिँदैन । त्यसले गर्दा कांग्रभित्र झन् ध्रुवीकरण हुने आँकलन गरिँदै छ ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले पनि विभिन्न पार्टीलाई जुटाएर केन्द्रीय नेताबीच एकता गरे तापनि विभिन्न पेशा, व्यवसाय र जनवर्गीय संगठनहरुको एकता भएको छैन । केन्द्रीय नेताहरुबीच पनि कसलाई कहाँ व्यवस्थापन गर्ने भन्ने दुविधा त्यत्तिकै छ । जनवर्गीय संगठनहरुमा एकता नगरी केन्द्रीय नेताहरुको मात्रै एकता भएर केही गर्ने देखिँदैन । किन कि नेपपा माओवादी केन्द्र र एकीकृत समाजवादीले त पार्टी नै नेपाली कम्युनिस्ट पार्टी बनाएर बिलय गरेका छन् । माओवादीको चुनाव चिन्ह हँसियाँ हथौडा थियो भने एकीकृत समाजवादीको कलम थियो । आज त्यो पार्टीको चिन्ह नै त्यागरेर नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्ह राखिएको छ । यत्तिकै निर्वाचन भएको खण्डमा माओवादी र एकीकृत समाजवादीलाई भोट दिएका सर्वसाधारणले तारो चिन्हमा भोट हाल्छन् कि हँसियाँ हथौडा र कलम चिन्ह खोज्छन् त्यो पनि निश्चित छैन । विभिन्न दल त्यागेर नेपाली कम्युनिस्ट पार्टीमा आएका नेताहरुले जनतासँग भोट माग्दा कसरी बुझाउँछन् त्यो पनि एकिन छैन ।
उता, मधेसवादी दलहरुमा पनि पदको लागि जुट्ने र फुट्ने रोगले गाँजीरहेको छ । त्यसले गर्दा मधेसवादी दलहरु पनि एक भएर निर्वाचनमा जाने सम्भावना कम देखिन्छ । राष्ट्रिय सभामा १÷१ सिट पाएपछि जसपाका उपेन्द्र यादव र लोसपाका महन्त ठाकुर कांग्रेस र एमालेसँग टाँसिएका छन् । राष्ट्रिय सभाको निर्वाचनमा मात्रै कांग्रेस र एमालेसँग जोडिने हुन् कि प्रतिनिधिसभाको निर्वाचनमा पनि सँगै रहने हुन् त्यो निश्चित भएको छैन । त्यसैले गर्दा तराइवासी दलहरु पनि प्रतिनिधि सभाको निर्वाचनमा कसरी जाने हुन् भन्ने टुंगो छैन । तर, नेकपा एमाले भने पार्टीको ११ औं महाधिवशेन सकेर संसद् पुनःस्थापना होस् अथवा प्रतिनिधि सभाको निर्वाचन दुवैको लागि तयारी अवस्था रहेको देखिन्छ । उता, स्वतन्त्रहरु प्रतिनिधि सभाको निर्वाचनको लागि तयारीमा जुटिरहेका छन् भने पुराना राजनीतिक दलभित्र आन्तरिक खिचडी पाकिरहेको छ ।

