महानिर्देशक ज्ञवालीकै कारण बजार अनुगमन सून्य

राजनीति समाचार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले महंगी र काला बजारियालाई बढावा दिँदै आएका छन् । अखाद्य मिसावट र कालाबजारीहरुलाई कारबाही गर्नुको सट्टा बजार अनुगमन नगरेर उनीहरुलाई प्रोत्साहन गर्ने काम गरिरहेका छन् । बजारमा अखाद्य वस्तु मिसावटसँगै महंगी बढिरहेको छ भने सर्वसाधारण जनता दिनप्रतिदिन ठगिइरहेका छन् । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले जेनजी सरकार बनेयता न त बजार अनुगमन गर्न सकेको छ न त अखाद्य वस्तु मिसावट गरी विक्रीवितरण गर्ने व्यापारीलाई कारबाही गर्न सकेको छ ।

पहिलाका महानिर्देहकहरुले अनुगमनमा महिला कर्मचारीहरुलाई पनि पठाउने गरेको पाइन्थ्यो । अहिले अनुगमनका लागि पुरुष कर्मचारीहरुलाई मात्रै पठाइन्छ । तत्कालीन महानिर्देशकहरुले बजार अनुगमन गरी अखाद्य वस्तु मिसावट गर्ने व्यापारीहरुलाई छलफलमा बोलाएर डकुमेन्ट माग्ने त्यो ल्याउन नसक्ने कारबाहीको दायरामा ल्याउने चलन थियो । जेनजी सरकार बनेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तत्कालीन महानिर्देशक कुमार दाहाललाई हटाएर रोसन ज्ञवालीलाई महानिर्देशक बनाएको थियो । ज्ञवालीले कार्यालयमा बस्नेभन्दा पनि स्वदेश र विदेश घुमघाममै दिन बिताउन गरेको बताइन्छ ।

बजार अनुगमनमा नरहरि तिवारीलाई खटाइएको छ । तर, तिवारीले भनेजस्तो अनुगमन गर्न सकेका छैनन् । अनुगमन गरिहाले तापनि न त व्यापारीलाई छलफलमा बोलाइन्छ न त कागजात नै मगाइन्छ । ती दुवै काम नहुँदा बजारमा अखाद्य वस्तु मिसावटदेखि डेट नाघेका, सडेगलेका वस्तुहरुको विक्रीवितरण भइरहेको नाम नबताउने शर्तमा एक व्यापारीले तामाकोशी सन्देशलाई बताएका थिए । साना–साना पसलहरुमा अनुगमन गरेजस्तो गर्ने र तर्साउने ठूला व्यापारीहरुकोमा अनुगमन गर्ने गरेको बताइन्छ । महिला कर्मचारीहरुलाई विभागमा राखेर पुरुष कर्मचारीलाई बजार अनुगमनमा पठाइन्छ । ती कर्मचारीहरु अनुगमन गर्ने नाममा उल्टै कालाबजारी गर्नेहरुलाई कागजी प्रक्रिया मिलाएर उन्मुत्ति दिने र कमिसन खाने गरेको पाइन्छ ।

निर्वाचन नजिकिएसँगै व्यापारीहरुले विभिन्न सामानहरु ल्याउँदा भन्सार छली गर्ने गरेका छन् । निर्वाचन ताका धेरैजसो व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेका थुप्रै उदाहरण छन् । तर, महानिर्देशक ज्ञवालीले त्यस्ता विषयमा ध्यान दिएका छैनन् । जेनजी सरकार बनेपछि ठूला–ठूला व्यापारीलाई अहिलेसम्म कारबाही गरेको पाइँदैन । कारबाही त परै जाओस् अनुगमन गरेर अखाद्य वस्तु मिसावट गरी विक्रीवितरण गर्ने व्यापारीलाई कारबाही गरेको पाइँदैन । एकातिर यस्तो स्थिति छ भने अर्कोतिर पसलेहरुले मूल्य सूची राख्ने गरेका छैनन् । त्यसले गर्दा एउटै गुणस्तर र तौलको सामानको मूल्य पसलैपिच्छे फरक–फरक हुने गरेको पाइन्छ । तर, सरकार र सम्बन्धित निकायले भने त्यसमा ध्यान दिएका छैनन् । सरकारको कमजोरीको फाइदा उठाउँदै कालाबजारी गर्नेहरुले फाइदा लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *