बजारमा मूल्यबृद्धिसँगै ग्यासँको अभाव

राजनीति समाचार

काठमाडौं । सरकार निर्वाचनतिर केन्द्रित भएको मौका छोपेर विचौलियाहरुले कृतिम अभाव सिर्जना गरेर बजार मूल्य बढाइरहेका छन् । बजारमा खानेतेल, चामल, दाल, चिनीलगायत खाद्यन्नदेखि जङ्कफुडसम्मको मूल्य पहिलोको तुलनामा चार गुणा बढाइएको छ । कतिपय सामानको विचौलियाले कृतिम अभाव सिर्जना गरेर मूल्य बृद्धि गरेका छन् भने कतिपय उद्योगी, व्यापारीहरुले कम तौलको सामान राख्ने र मूल्य बढाउने काम गरिरहेका छन् । निर्वाचन नजिकिएसँगै खाना पकाउने एलपी ग्याँसको अभाव सिर्जना भएको छ ।

बजारमा ग्याँसको लागि लाइन बस्नेहरुको भीड लागिरहेको छ । विचौलियाहरुले अखाद्य वस्तु मिसावट गरेर सामान विक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको छ । स्वदेशमा उत्पादित तरकारी र फलफूलले मार्के नपाएर किसानहरु चिन्तित भइरहेका छन् । उता, किसानले उचित मूल्य पाएका छैनन् भने विचौलियाले बीचमा मूल्यवृद्धि गर्दा उपभोक्ता बढी मूल्य तिर्न वाध्य भएका छन् । बजार मूल्य आकासिनुका साथै कृतिम अभाव सिर्जना गरेर उपभोक्ता ठग्ने काम भइरहँदा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग रमिते बनेर बसिरहेको छ ।

एकातिर यस्तो अवस्था छ भने अर्कोतिर राजनीतिक दलदेखि स्वतन्त्रबाट उम्मेदवार बनेकाहरु अधिकांश व्यापारी भएकाले चुनाव खर्च उठाउनको लागि आफूले उत्पादन गरेको सामानको मूल्य बृद्धि गरिरहेका छन् । एकातिर मूल्य बृद्धि गराएका छन् भने अर्कोतिर राजश्व छली भइरहेको छ । कतिपय व्यापारीहरु आफै उम्मेदवार बनेका छन् भने कतिपय व्यापारीले उम्मेदवारलाई सहयोग गर्नुपर्ने नाममा मूल्य बृद्धि गरिरहेका छन् । नागरिक सरकारका अधिकांश मन्त्रीहरुले राजीनामा दिएर रास्वपाबाट उम्मेदवार बनेपछि उनीहरुलाई व्यापारीबाट सहयोग मिलेबापत व्यापारीहरुले आफूखुसी मूल्य बृद्धि गर्दा पनि सरकारले ध्यान दिएको छैन । त्यसले गर्दा अधिकांश व्यापारीहरुले बजारमा मूल्य बृद्धि गराइरहेका छन् ।

मूल्य बृद्धि र अभाव सिर्जना गरेर उपभोक्ता ठग्ने काम भइरहँदा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्ह बेखर बनेर बसिरहेका छन् । राजनीतिक दलहरुले पनि त्यसप्रति चासो देखाएका छैनन् । सबै दलहरु कसरी आफ्ना उम्मेदवारलाई जिताउनेभन्दा ध्याउन्नामा लागिपरेका छन् । दलहरुको निष्क्रियताको फाइदा उठाउँदै कालाबजारिया र विचौलियाले कमाउधन्दा चलाइरहेका छन् । मन्त्री र कर्मचारीहरु भने निर्वाचनको रटान दिएर रमिते बनिरहेका छन् । यतिबेला खाना पकाउने ग्यासँको अभाव सिर्जना गरिएको छ । ग्याँस अभाव हुनुपर्ने कुनै कारण छैन । तर, आपूर्तिमन्त्रालय र आयल निगमले त्यस्ता विषयमा ध्यान दिएका छैनन् । ग्याँस पसलेहरुले उपभोक्तालाई ‘भरे आउँछ, र भोलि आउँछ भन्दै दिकदार बनाउने र तपाईंले भनेको कम्पनीको ग्याँस आएको छैन, यति बढी दिएर अर्को लानु भन्ने जवाफ दिएर ठग्ने काम गरिरहेका छन् । उपभोक्ताहरु सिलिन्डरको मूल्यसमेत तिरेर ग्याँस किन्न वाध्य भइरहेका छन् । त्यो पनि काम छोडेर दिनभर लाइन बस्नुपर्ने वाध्यता छ । यस्ता विषयमा सरकार र सम्बन्धित निकायले ध्यान दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *