स्वदेशदेखि विदेशसम्मको नजर झापा ५ मा किन ?

राजनीति समाचार

काठमाडौं । अहिले सबैको ध्यान झापा क्षेत्र नम्बर पाँचमा केन्द्रित छ । त्यहाँ चुनावी मैदानमा हेभिवेट केपी शर्मा ओलीसँग भिड्दैछन् काठमाडौंका पूर्व मेयर वालेन साह । महानगरपालिकाको नेतृत्वमा रहँदा लुकी लुकी हिडेका वालेनलाई भावी प्रधानमन्त्रीका रुपमा चर्चा र परिचर्चा गरिँदैछ । डेढ बर्ष अवधि बाँकी छँदै मेयरको कुर्सी त्यागेर झापा ५ मा केपी शर्मा ओलीसँग चुनावी प्रतिष्प्रर्धा गर्न निस्किएका काठमाडौंका तत्कालीन मेयर वालेन साहले केही होटल व्यवसायीहरुको पैसा तिरेको पाइदैन । जसमध्ये काठमाडौँ महानगरले टुँडिखेलमा गत ७ जेठदेखि ७ असारसम्म सीप मेला २०८२ सञ्चालन गरेको मेलाको पैसा समेत नपाएको व्यवसायीहरु बताउँछन् । होटेल हार्मोनी बिस्ट्रोका सञ्चालक विष्णुप्रसाद कँडेलले महानगरपालिकाबाट झण्डै ३५ लाख रकम नपाएको गुनासो पोखेका छन् ।

महानगरको विज्ञ शैलेन्द्र झाले सीप मेलाको क्याटरिङको संयोजनक गरेका थिए । ३२ लाख रुपैयाँ क्याटरिङको मूल्य र भ्याट रकम उठेको भए पनि सो रकम भुक्तानी हुन नसकेको व्यवसायीहरु बताउँछन् । त्यहाँको चुनावी परिणाम के आउला ? वालेनले जित्लान वा ६४ को चुनावी परिणाम यस पटक झापा ५ मा दोहोरिएला ? ओलीलाई चुनावी ब्याटलमा असफलता भन्दा सफलता नै बढी हात लागेको छ । ओलीले २०४८ सालमा पहिलो पटक सांसद बन्दा झापा ६ बाट चुनाव जितेका थिए । ०५१ को मध्यावधिमा पनि त्यहीँबाट चुनाव जिते । ०५६ मा क्षेत्र नम्बर २ र ६ बाट चुनाव लडे । दुबै क्षेत्रबाट जिते । त्यस पछिका संसदीय चुनावहरु सबै जितेका छन् ओलीले तर ओलीले झण्डै दुई दशक अगाडि ०६४ सालमा चुनाव हारेका थिए । २०६४ सालको चुनाव संविधानसभाको निर्वाचन भएको थियो ।

६०१ सदस्यीय संविधानसभामा प्रत्यक्ष चुनाव क्षेत्रबाट २४० जना र समानुपातिक पद्धतिबाट ३३५ जना र विशिष्ट व्यक्तिहरु २६ जना चयन हुने व्यवस्था थियो । ६४ को निर्वाचन हुँदा ओली झापा ७ बाट निर्वाचनमा लडेका थिए । जहाँ चुनावी मैदानमा कांग्रेसको तर्फबाट महेन्द्रकुमारी सुब्बा, नेकपा माओवादीले विश्वदीप लिङ्देन चुनावी मैदानमा थिए । झापा–७ बाट संविधानसभा सदस्यमा माओवादी उम्मेदवार विश्वदीप लिङ्देन १६ हजार ९९ मत ल्याएर निर्वाचित भए । एमाले नेता केपी शर्मा ओलीले १४ हजार ९५९ मत ल्याउँदा कांग्रेसकी महेन्द्रकुमारी सुब्बाले ११ हजार ६०५ मत ल्याएर तेस्रो भएकी थिइन् । ११ सय मतान्तरले ओलीले त्यो चुनाव हार्न पुगे । उसो त सो चुनावमा माओवादीको देशव्यापी ह्विम थियो ।

पार्टीकै महासचिव माधवकुमार नेपाल रौतहट र काठमाडौं दुबै ठाउँबाट पराजित भएका थिए । कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला झापा–३ बाट पराजित भए । माओवादीले प्रत्यक्षतर्फका २४० सिटमध्ये १२० वटामा जित्यो । कांग्रेसले ३७ र एमालेले ३३ सिटमा मात्र चुनाव जितेको थियो । समानुपातिकतर्फ माओवादीले १००, कांग्रेसले ७३ र एमालेले ७० सिट पाएको थियो । अहिले गाउँदेखि शहरसम्म घण्टीमय भएको स्थिति छ । सबैभन्दा बढी चासो र चर्चामा परेको झापा ५ मा ६४ को स्थिति दोहोरिन्छ वा के हुन्छ ? त्यो थाहा पाउन त फागुन २१ पछि परिणामले देखाउने छ । यतिबेला अधिकांश स्वदेशीदेखि विदेशीसम्मले झापा ५ लाई नजर लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *