काठमाडौं । रास्वपाकी सांसद प्रतिभा रावल सामान्य प्रशासन र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री बनेकी छिन् । दुवै मालदार मन्त्रालयमा गनिन्छन् । सामान्य प्रशासनमा कर्मचारी सरुवा बढुवामा चेलखेल हुन्छ भने भूमि तथा गरिवी निवारण मन्त्रालयमा भूमि माफिया र कर्मचारीको सेटिङमा व्यापक रुपमा घुसको चलखेल हुने गरेको थियो । अब रास्वपा सरकारी मन्त्री रावलले कर्मचारी सरुवा बढुवा र जग्गा किनबेचमा सेटिङ मिलाएर कमाउधन्दा चलाउँदै आएका विचौलियालाई कसरी व्यवस्थापन गर्छिन् त्यो हेर्न बाँकी छ ।
अर्कोतिर नापी र मालपोत कार्यालय आसपास बसेर विचौलियाको भूमिका खेलेर कर्मचारीलाई कमाउधन्दा गराउनेहरुको सेटिङ कसरी तोड्छिन् त्यो पनि एकिन छैन । तत्कालीन सरकारका पालामा भूमिमन्त्री र कर्मचारीबीच लेनदेनको सेटिङ नमिलेर पेन्डिङ रहेका फाइलहरु बालेन सरकार नबन्दै कर्मचारी र विचौलिया मिलेर धमाधम काम फत्ते गरेर रकम कुम्ल्याएका थिए । त्यसको उदाहरण लिन सकिन्छ ललितपुर मालपोत र नापी कार्यालयलाई ।
ललितपुर मालपोत र नापी कार्यालयमा पेन्डिङमा रहेका फाइलहरुको बालेन सरकार आउनुभन्दा केही गाडिसम्म हतारहतार काम फत्ते गरेर रकम असुल्ने काम भइरहेको थियो । खासगरी मालपोतको रजिष्ट्रेसन शाखा र मुद्दा फाँट व्यापक रुपमा अनियमितता हुँदै आएको थियो । त्यसमा मुद्दा फाँटका नासु केशराज पोखरेल र पदम कार्कीको एउटा टिम छ भने अन्यको छुट्टाछुट्टै शाखाहरु छन् । त्यसैगरी रजिष्ट्रेसन शाखामा लिलाबहादुर विश्वकर्मा, उत्तम कुँवर, सुवोध खनाल, गोविन्द बस्नेत, भोजराज गिरी, निर्मल रावललगायतका कर्मचारीहरुको हालीमुहाली चल्दै आएको थियो । बालेन सरकार बनेपछि ललितपुर मालपोतमा कार्यालय प्रमुख पनि उपस्थित हुन छाडेका छन् भने जग्गा समितिको बैठक पनि बस्न छोडेको छ । तर, कार्यालय परिसरमा विचौलिया र सेवाग्राहीको भीड भने लागिरहेको बताइन्छ ।
उता, मुद्दा फाँटका कर्मचारीहरु भने कार्यालय बाहिर बसेर घुसको लेनदेन मिलाउने काम गरेर दिन बिताउने गरेको सेवाग्राहीको गुनासो छ । त्यसैगरी नापी कार्यालयका कर्मचारीहरुले पनि फिल्डमा जग्गा नप्न जाँदा र कित्ता काँट गर्दा सेवाग्राहीसँग बार्गेनिङ गरी घुस माग्ने गरेको खुलासा भएको छ ।
त्यसैगरी सामान्य प्रशासन मन्त्रालयमा सरुवा, बढुवामा विचौलिया र राजनीतिक दलको सोर्सफोर्सको हावी हुँदै आएको थियो । अब मन्त्री रावलले त्यसलाई कसरी चिरेर अगाडि बढ्छिन् त्यो हेर्न बाँकी छ ।
कतिपय कर्मचारी त घरायसी कारण देखाएर आफ्नो घरपायकमा बस्नको लागि मरिहत्ते गर्दछन् भने कोही श्रीमान–श्रीमती एकै ठाउँमा बस्नको लागि भनसुन र लेनदेन हुने गरेको थियो । त्यो संस्कारलाई तोड्न सक्छिन् सक्दिनन् । त्यसलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिन्छ । त्यसले गर्दा दुवै मन्त्रालय मालदार भएकाले रावललाई काम गर्न गाह्रो पर्ने देखिन्छ ।

