राजनीतिक प्रतिशोधले द्वन्द्व भड्किने खतरा

राजनीति समाचार

रामचन्द्र बस्नेत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेको २४ घण्टा नबित्दै नवनियुक्त गृहमन्त्री सुदन गुरुङको ठाडो ओदशमा नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरिएपछि नेकपा एमालेले राजनीतिक प्रतिशत भएको भन्दै देशैभरि सडक आन्दोलन चर्काएको छ । नेकपा एमालेको सडक आन्दोलनमा केही नेता, कार्यकर्ताहरु घाइते भएका छन् ।

अन्य दलहरुले पनि ओली र लेखकको पक्राउलाई लिएर राजनीतिक प्रतिशोध भएको बताइरहेका छन् । तर, नेपाली कांग्रेसले भने उक्त घटनाको बारेमा पार्टीको स्पष्ट धारणा राखेको छैन । एमालेले ओली र लेखकको रिहाइको माग राखेर आन्दोलन चर्काइरहँदा सरकारले अन्य पूर्वमन्त्रीहरुलाई पक्राउ गर्ने र पार्टीका शीर्ष नेताहरुलाई सम्पत्ति सुद्धिकरणको आरोपमा छानविन गर्न थालेको छ । आन्दोलनमा सहभागी हुनेहरुलाई पनि सार्वजनिक मुद्दा लगाउने भएपछि आन्दोलनमा सहभागी कम भएका छन् । त्यसले गर्दा नेपालको राजनीतिमा कस्तो प्रभाव पर्छ त्यो निश्चित भएको छैन ।

सरकार र राजनीतिक दलहरुबीचको टकरावले गर्दा देशमा द्वन्द्व चर्किने अवस्था सिर्जना हुँदै छ । सरकारले सुशासन र विकास निर्माणको काम गर्नुको सट्टा राजनीतिक प्रतिशोध साँधेर अघि बढ्दै गएको आभास हुन्छ । भ्रष्टाचारमा नेता र कर्मचारीहरुको मुद्दालाई केही समय थाती राखेर विकास निर्माण र सुशासनको कामलाई अगाडि बढाएको खण्डमा सरकारको काम उचित हुने थियो । तर, सरकार बनेको हप्ता दिन नपुग्दै राजनीतिक दलका नेता र कर्मचारीहरुलाई पक्राउ गरेर देश द्वन्द्वतिर धकेल्न प्रयास सरकारले गरिरहेको छ । यो सरकारको गतिविधि हेर्दा हिजो दलको सरकारले गरेको र नयाँ सरकारको काममा भिन्नता देखिँदैन । सरकारले आगामी दिनमा पनि यस्ता उच्छृंखल गतिविधि गर्दै जाने हो भने जनताले सोचेअनुसारको काम रास्वपा सरकारले गर्न सक्ने छैन ।

राजनीतिक दलहरुमाथि भ्रष्टाचार र हत्याराको आरोप लगाएर प्रतिशोध साध्दा देशमा अराजकताको भीड झन् बढ्ने देखिन्छ । देशमा राजनीतिक स्थायित्व र दलहरुबीच समन्वय नभएको खण्डमा देश विखन्डतिर जाने र विदेशी चलखेल बढ्ने सम्भावना त्यत्तिकै बढेर जान्छ । त्यसले गर्दा पनि सरकार र राजनीतिक दलहरुबीच समन्वय गरी देशलाई निकासा दिने बाटो अपनाउनु उचित हुन्छ ।

तत्कालीन मन्त्री र कर्मचारीहरुले गरेको भ्रष्टाचारको छानविन गर्दा राजनीतिक प्रतिशोधको आधारमा नभई वास्तविक दोषी नउम्निे गरी निष्पक्ष ढंगले छानविन गर्नुपर्छ । अहिलेको स्थिति हेर्दा राजनीतिक प्रतिशोधको आधारमा सरकार अगाडि बढेको देखिन्छ । त्यसले गर्दा नेपालमा शान्ति र सुशासन कायम हुनेभन्दा पनि झन् अराजकताको स्थिति सिर्जना हुन सक्छ । त्यसैले सबै तहतप्का र सम्बन्धित निकाय संयम भएर अगाडि बढ्नुको विकल्प छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *