स्मार्ट टेलिकमको अर्बौ भष्ट्रचार गुपचुप बन्दै

राजनीति समाचार

काठमाडौं । तीन वर्ष अघि नै बन्द भएर सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको अर्बौं अनियमितता प्रकरणमा एनसेलका सञ्चालक शतिशलाल आचार्यदेखि नेपाल इन्भेष्टमेष्ट मेगा बैंक लिमिटेड र (एनआईएमबी)का सीइओ ज्योती प्रकाश पाण्डे समेत संलग्न रहेको तथ्य खुलेको छ । स्मार्ट टेलिकमका तत्कालिन सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरेसँगै खारेज भइसकेको स्मार्ट टेलिकमको ४ अर्ब ६० करोड रुपैयाँ बराबरको सम्पत्ति हत्याएको विषयमा आचार्य र पाण्डे सम्पत्ति अनुसन्धानको छानविनमा तानिएका हुन ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि नै भट्ट, गोल्छा र सुलभ अग्रवाललाई पक्राउ गरेको थियो । गोल्छा अदालतको आदेशमा छुटे पनि अग्रवाल र भट्ट अझै हिरासतमै छन् । हिरासतमा रहेका विचौलिया दिपक भट्ट र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेबीचको कनेक्सन ठूलो छ ।

सिइओ पाण्डेको सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा रहेका दिपक भट्टसँग व्यावसायिक साझेदारी रहेको खुलेको छ । स्मरण रहोस यस्तै साझेदारी फेला पर्दा मन्त्री सुदन गुरुङ्गले गृहको कुर्सी महिना दिन नपुग्दै छाड्नु परेको थियो भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक यही प्रकरणमा जोडिएर अहिले अर्थ मन्त्रालयको बरण्डामा थन्किएका छन् ।

सीईओ पाण्डेकी छोरी एकता पाण्डेको नाममा हिमालयन रि–इन्स्योरेन्सको १ लाख ५० हजार कित्ता सेयर रहेको विवरण भेटिएको छ । हिमालयन रि इन्स्योरेन्स उनै विचौलिया दिपक भट्टको कम्पनी हो । पाण्डेले आर्जन गरेको अकुत रकम हिमालयन रि–इन्स्योरेन्स लगायतका विभिन्न कम्पनीहरूमा आफ्नी छोरीको नाममा सेयर खरिद गरेको भेटिएको छ । धितोपत्र बोर्डको छानबिन समितिले हिमालयन रि–इन्स्योरेन्समा दिपक भट्ट र शेखर गोल्छासहितको समूहले सेटिङमा ‘उधारो सेयर’ कारोबार गरेको, सम्पत्ति शुद्धीकरण विभागले प्रमाणित गरेको छ । प्रचलित कानुनको उल्लंघन गरेको प्रतिवेदन तयार पारेको थियो । सोही विवादित कम्पनीमा ‘क’ वर्गको वाणिज्य बैंकका सीईओले छोरीको नाममा लगानी गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यति मात्र नभई, न्यून आय भएका नागरिकको पहुँचका लागि स्थापित लघु बीमा कम्पनीहरूमा समेत पाण्डेले छोरीको नाममा सेयर राखेको पाइएको छ । पाण्डेकी पत्नी कृषि मन्त्रालयबाट सचिवबाट अवकाश पाएकी हुन । उनको समेत विभिन्न माइक्रो इन्स्योरेन्सहरुमा लगानी रहेको भेटिन्छ । पाण्डे पत्नी माइक्रो इन्स्योरेन्सहरुको वोर्डमै कार्यरत छिन् । उनको पत्नी निरु दाहाल पाण्डे प्रोटेटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनीको वोर्डमा कार्यरत रहेको र दिपक भट्ट प्रकरण पछि वोर्डबाट हटेको पाइएको छ । सो माइक्रो इन्स्योरेन्सले गैरकानुनी रुपमा लाइसेन्स हात पारेको खुलेको छ ।

फर्जी र झुठा कागजात पेश गरेर प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमाको लाइसेन्स लिएको भेटिएको हो । कम्पनीले घुस सेटिङ्गमा प्रकृया पूरा नगरी फर्जी कागजात पेश गरी गैरकानुनी रुपमा लाइसेन्स लिएको पाइएको हो । कम्पनीले बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सूर्य प्रसाद सिलवालसँग घुस सेटिङका आधारमा गैरकानुनी रुपमा लाइसेन्स लिएको पाइएको छ । स्रोतहरुका अनुसा साल साउन ११ गते प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई तत्कालिन अध्यक्ष सूर्य प्रसाद सिलवालले फर्जी कागजातको बिषयमा बाहिर सन्देश जाने डरले हतारमा एउटा बीमा योजना जारी गर्दै औपचारिक रुपमा शुभारम्भ गर्न अनुमति दिएको थियो । सो माइक्रोकोे अध्यक्षमा दिनेश सरही र निर्देशकमा नितेश मालपानी रहेका छन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेश कुमार रोक्का रहेका छन् ।

जहाँ मेट्रो क्यापिटल प्राइभेट क्यापिटलको ११ लाख १४ हजार ५०० कित्ता शेयर रहेको छ । मेट्रोमा मृदुला सरिया संचालक देखिन्छ । त्यस्तै रुद्र फिनक्रपको ११ लाख कित्ता, केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुदकुमार दुगडको ३ लाख ५० हजार कित्ता, केआरएस इन्भेष्टमेन्टको ३ लाख ५० हजार कित्ता, श्रद्धा अग्रवालको २ लाख ३७ हजार ५०० कित्ता, संगीतादेवी मोरको २ लाख ८ हजार ५०० कित्ता संस्थापक शेयर छ । यस्तै, कम्पनीमा अनुपम राठीको संस्थापक शेयर १ लाख ७५ हजार, कल्याणी इन्भेष्टमेन्ट प्रालिको १ लाख ६८ हजार, सुमन मोर र बिना मोरको १ लाख ५२ हजार कित्ता संस्थापक सेयर छ । यस्तै राजेश हार्डवेयर, एक्सपर्ट हाउजिङ, अम्बे समूहका अध्यक्ष शोभाकर न्यौपाने र आरएमसी कन्ट्रक्सनको शेयर स्वामित्व १–१ लाख कित्ता छ ।

त्यसैगरी इक्विटी हाउजिङ एण्ड इन्भेष्टमेन्टको ६२ हजार ५०० कित्ता, शिवम् सिमेन्टका संस्थापक अध्यक्ष विश्वनाथ गोयल, बालाजी मार्बल, महेशकुमार अग्रवाल, आशिषकुमार गोयल, ग्रीन अर्थ इन्भेष्टमेन्ट, गौरव गोयल, मिनोल्टा इन्भेष्टमेन्ट, विजयसिंह वैद्य र जीवनकुमार अग्रवालको ५०÷५० हजार कित्ता संस्थापक शेयर यो कम्पनीमा छ । सोही कम्पनीमा केही समय सिइओ पाण्डेको पत्नी कार्यरत थिइन । उता शंकर समूहको मुख्य लगानी रहेको क्रेस्ट माइक्रो इन्स्योरेन्समा एकताको नाममा १५ हजार कित्ता र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा पनि १५ हजार कित्ता सेयर रहेको खुलेको छ ।

यता, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) अनुसार कुनै ऋणी कम्पनी बन्द भएको, टाट पल्टिएको, वा लामो समयदेखि सञ्चालनमा नरहेको अवस्थामा त्यसको नाममा रहेको कर्जालाई ‘खराब कर्जा’ मानी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान भए पनि स्मार्ट टेलिकमले राज्यलाई कर, रोयल्टी र नवीकरण दस्तुरबापत करिब ३० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ ।

नवीकरण दस्तुर, फ्रिक्वेन्सी शुल्क र रोयल्टी गरी राज्यलाई बुझाउनुपर्ने रकम नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको दूरसञ्चार सेवा सञ्चालन अनुमति (लाइसेन्स) खारेज गरेको थियो । त्यसलगत्तै प्राधिकरणले कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व आफ्नो नियन्त्रणमा लिने प्रक्रिया अघि बढाउँदै बैंक तथा वित्तीय संस्थामा रहेका स्मार्ट टेलिकमका खाताहरू रोक्का राख्न निर्देशन दिएको थियो ।

बैंकले खराब कर्जाको रुपमा रुपान्तरण गरी शत प्रतिशत कर्जा नोक्सानी गर्नुपर्ने र बैंक खाता रोक्का गर्नुपर्नेमा उल्टै टेलिकमको सम्पत्ति लिलामी गरेको हो । नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीले अनियमिततामार्फत कमाएको रकम सोही बैंक र बैंकका कर्मचारी मार्फत परिचालन गर्ने गरेको तथ्य समेत बाहिरिएपछि सीआईबीले बैंकमाथि अनुसन्धान तीव्र पारेको छ । उता नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे समेत सम्पत्ति शुद्धीकरणको राडारमा तानिएका छन् । उनी चर्चित र विवादित ठेकेदार विक्रम पाण्डेका छोरा हुन ।

जो हालैमात्र निर्माण व्यवसायी महासंघका अध्यक्ष भएका हुन । विक्रमले इविडिङ्गको ठेक्का लिँदा प्रणालीमा छिरेर ह्याक गरेर ठूला ठेक्का हात पार्दै आएको बिषय प्रकाशमा आएसँगै उनी अहिले प्रहरी हिरासतमा छन् । सिआइबीले गहन अनुसन्धान गरेर अगाडि बढाएको मुद्धा विचौलियाहरुको दवावमा सरकारी वकिलले कमजोर बनाएर अदालतमा लगेको खुलेको छ ।
००
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *