रोकिएन विभागमा म्यानपावर र कर्मचारीको सेटिङ धन्दा

राजनीति समाचार

काठमाडौं । बालेन सरकार बनेपछि वैदेशिक रोजगार व्यवसायीसंघमा भुइँचालो गएको छ । वैदेशिक रोजगार व्यवसायी महासंघको निर्वाचन भएको वर्षदिनमा विषेश महाधिवेशनको रटान दिएर पुरानो कार्यसमितिलाई बिघटन गरी गत जेठ २२ गते नयाँ कार्यसमिति चयन गरिएको छ । निवर्तमान अध्यक्ष भुवन गुरुङले व्यवसायीको हकहितको लागि पारदर्शी सक्षम बनाउने नारा लिएर अगाडि बढिरहँदा उनलाई अक्षमको आरोप लगाएर हटाइएको छ । गुरुङलाई हटाएपछि नयाँ कार्यसमितिको अध्यक्षमा डिक बहादुर कार्कीलाई ल्याइएको छ भने प्रथम उपाध्यक्षमा महेश बस्नेत चयन भएका छन् । त्यसैगरी महासचिवमा हरि डाँगी निर्वाचित भएका छन् । त्यसले गर्दा वैदेशिक रोजगार व्यवसायी संघमा विवाद चुलिएको छ ।

नयाँ आएको कार्यसमितिले सिन्डिकेट लादेर सोझासिधा नेपालीहरुलाई अत्याधिक शुल्क लिएर विदेश पठाउने गरेका छन् । व्यवसायीहरुले विदेश जाने कामदारहरुसँग अत्याधिक महंगो शुल्क असुल्ने र त्यसको बचाउँ महासंघको नयाँ कार्यसमितिले गर्ने गरेको आरोप छ । त्यसले गर्दा वैदेशिक रोजगार व्यवसायीभित्र पनि पहुँचवाला र धनीमानीको हालीमुहाली चल्ने निमुखा र सोझासिधा व्यवसायीहरु धरापमा परेको पीडितले बताएका छन् । तत्कालीन अध्यक्ष भुवन गुरुङले व्यवसायीहरुले मनलाग्दी व्यवसाय चलाएको, कामदारहरुसँग महंगो शुल्क लिएको, श्रम स्वीकृतिबिना भिजिट भिसामा नेपालीलाई विदेश पठाएर अलपत्र बनाएको भन्दै विरोध जनाएपछि उनलाई व्यवसायीहरुले पदबाट हटाएको बताइन्छ । गुरुङलाई हटाएपछि आएको नयाँ कार्यसमितिले सेटिङ गरी अवैध ढंगबाट नेपाली कामदारलाई विदेश पढाउने धन्दा फस्टाउन थालेको बताइन्छ ।

महासंघमा कार्की नेतृत्वको नयाँ कार्यसमिति आएपछि एकातिर म्यानपावर कम्पनी र महासंघका पदाधिकारीहरुको सेटिङ धन्दा फस्टाएको छ भने अर्कोतिर वैदेशिक रोजगार विभागमा पनि सेटिङ धन्दा फस्टाएको छ । संस्थागत श्रम स्वीकृति शाखामा कार्यरत कम्प्युटर अपरेटर शाहजिया खातुन, रविन्द सिंह र नासु तेजप्रसाद शर्माको सेटिङ चलेको छ । त्यस्तै वैदेशिक रोजगार विभागका विभिन्न शाखामा कार्यरत सुशिल कुमार दास, रिङ्कु गुप्ता, मान बहादुर बुढा, राजेन्द्र श्रेष्ठलगायतको हालीमुहाली चलेको छ भने शाखा प्रमुखहरुले चाँही पैसा नआएको खण्डमा काममा ढिलासुस्ती गर्ने र बार्गेनिङ गर्ने गर्दै आएका छन् ।

खास गरी वैदेशिक रोजगार विभागको श्रम स्वीकृति शाखा, इण्डिभिजिअल शाखा, अनुगमन शाखा र व्यक्तिगत श्रम स्वीकृति शाखामा बस्ने कर्मचारीहरुको असुली धन्दा फस्टाएको छ । जुनसुकै सरकार आए तापनि वैदेशिक रोजगार विभाग र म्यानपावर व्यवसायीसंघको सेटिङ धन्दा तोड्न सकेको छैन । बालेन सरकारले पनि वैदेशिक रोजगार विभागका कर्मचारी र म्यानपावर कम्पनी सञ्चालकहरुको सेटिङ तोड्न सकेको छैन । त्यसले गर्दा वैदेशिक रोजगार विभागमा ठगीका मुद्दाहरु दिनप्रतिदिन बढिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *