काठमाडौं । झापाबाट चुनाव लड्न निस्कदा वालेन शाहलाई ८ करोड रुपैयाँको डिफेन्डर गाडीको व्यवस्थापन गर्ने व्यक्ति हुन विवादास्पद ब्यापारी करेन्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्स र गुट्खा उत्पादक श्रीराम टोबाको कम्पनीका संचालक कमलकिशोर मालपानी । सोही कम्पनीमा कार्यरत व्यक्ति हुन पूर्व नासु रघुनाथ घिमिरे । उनै मालपानी र पूर्व नासुका स्वार्थ अनुसार चल्ने केही कर्मचारी अहिले पनि सामान्य प्रशासन मन्त्रालयमा हर्ताकर्ता रहेको पाइएको छ । नागरिकतादेखि राजश्व छलीका दर्जनौं मुद्धा खेपिरहेका रूपन्देहीका नव धनाढ्य उद्योगपति कमलकिशोर मालपानी सत्तासँग जोडिएका कारण उनी पनि अख्तियारदेखि अदालतसम्मले छुन सकेको छैन ।
उनै मालपानीका सल्लाहकार छन्,पूर्व नासु रघुनाथ घिमिरे । घिमिरे तिनै पात्र हुन, जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यराती मन्त्रालयमा छिरेर बजेटमा करका दर हेरफेर गरेका थिए । यही व्यापारिक समूहकै जोडबलमा सो जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि राजश्वका प्रमुख मात्र होइन कि वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशकसम्म भकुण्डो बन्ने गरेको उदाहरण प्रशष्त भेटिन्थ्यो निजामती प्रशासनमा । त्यसका उदाहरण सहसचिव कुमार दाहाल हुन । कुमार दाहालले मालपानीको कम्पनीमा छापा मारेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएसँगै अवकाशको मुखमा रहेका सहसचिवको सरुवा गरेर त्यहाँ राजेश्वर ज्ञवालीका भतिज रोशन ज्ञवालीलाई लगिएको थियो । नयाँ सरकार बनेसँगै रोशन सरुवा भइरहेका छन् । सेटिङ्ग मिलाएर राज्यलाई कंगाल तथा सीमित ब्यवसायीलाई मालामाल बनाउन सक्ने हैसियत भएका अर्घाखाँचीका घिमिरे एक वर्षभन्दा बढी समयदेखि कमलकिशोर मालपानीका उद्योगहरू यशोदा फुड्स प्रा।लि।, श्रीराम टोबाको उद्योगलयायतमा जोडिएका छन् ।
उद्योगको बजारीकरणभन्दा पनि कर, अन्तशुल्कका अधिकारीहरू मिलाउन तथा नीतिगत भ्रष्टाचार गरी उद्योगी पोस्नमा पोख्त घिमिरे अख्तियारका अभियुक्त हुन् । वि.सं. २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका घिमिरे भन्सार विभागमा कार्यरत थिए । पेन्सन नपाक्दै २०७५ फागुन १ मा राजीनामा दिए । सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रूपैयाँ ६७ पैसा खर्च गरेको र यो अवधिमा आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रूपैयाँ ४४ पैसा भेटिएकाले अख्तियारले आम्दानीभन्दा खर्च बढी देखिएको अंकलाई आधार मानी मुद्दा दायर गरेको हो । २ करोड १४ लाख ४६ हजार ६५७ रूपैयाँ २४ पैसा बिगो, त्यति नै जरिवाना र गैरकानुनी सम्पत्तिबाट बढे÷बढाइएको चल÷अचल सम्पत्ति जफत गर्न अख्तियारको मागदाबी छ । अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिवाना असुलका लागि उनकी श्रीमती शारदा गौतमलाई पनि प्रतिवादी बनाएको छ । कलंकीमा बस्दै आएका घिमिरेले श्रीमती शारदाको नाममा भन्सार एजेन्टको लाइसेन्ससमेत निकालेका छन् । तिनै मालपानीको जोडबलमा बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो ल्याण्ड रोभर डिफेण्डर गाडी बालेन साहले चढेका थिए । उनै घिमिरेसँग जोडिएका एक उपसचिव अहिले पनि संघीय मामिला तथा सामान्य प्रशासनमा जरा गाढेर बसेका छन् ।
विगतमा राजश्व अनुसन्धान विभाग,राजश्वको हाकिम बनाएर लैजाने तिनै घिमिरे हुन । अहिले सामान्यमा पूर्व एमाले निकट कर्मचारीहरुकै बोलबोला रहेको पाइन्छ । यस अघि चन्द्रकला पौडेल,पार्वती शर्माहरुलाई एमाले निकट भन्दै लखेट्ने प्रतिभा रावलले सोही मन्त्रालयमा रहेका विवेक घिमिरेहरुलाई भने आकर्षक जिम्मेवारी दिइरहेको पाइएको छ । विगतमा केपी शर्मा ओलीको सचिवालयमा बसेका,बीचमा एमालेकै उद्योग मन्त्रीको सचिवालयमा काम गरेका घिमिरे अहिले सो मन्त्रालयका हर्ताकर्ता कर्मचारीको रुपमा कार्यरत रहेको पाइएको छ । यस्तै ओली प्रधानमन्त्री हुँदा २०७७ मा मलेसियाको श्रम सहचारी भएका अर्का उपसचिव दिपक ढकाल कल्याण महाशाखा प्रमुख छन् । लेखामा हुँदादेखि निजामती प्रशासनमा शक्तिको आडमा राम्रो ठाउँ पाउँदैआएका उपसचिव तुलसी भट्टराई सामान्य प्रशासन मन्त्रालयको सङ्गठन विकास शाखाका प्रमुख छन् । कर्मचारी संगठनका आडमा लुट मच्चाएको भन्दै २० जना सुव्वाहरुलाई दुगर्ममा खेदेको सरकारले एमाले सत्तामा हुँदा प्रचुर लाभ उठाएका कर्मचारीहरुलाई वरपर राखेको पाइएको छ । तामाकोशीले यस अघि नै प्रधानमन्त्रीको कार्यालय तथा सचिवालयमा समेत ओली प्रधानमन्त्री हुँदा उनका नजिक बसेर काम गरेका कर्मचारीहरु नै वालेन सरकारको सहयोगीको रुपमा काम गरिरहेको विस्तृत विवरण प्रकाशन गरिसकेको छ ।
०००

