एसपी चन्द जागिर खादै व्यापारमा लगानी गर्दै

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) डा. शेरजंग चन्द देशको नियम कानुनको बर्खिलाफ गदैै विभिन्न व्यापार व्यवसायमा सक्रिय रहेको भेटिएको छ । नेपालमा सरकारी जागिर खाने र जागिरसँगै समूहका कर्मचारीले व्यक्तिगत आयमूलक कार्य गर्न नपाइने व्यवस्था छ । त्यस्तो कार्य गरेका कर्मचारीहरु विगतमा कारवाही परेका प्रशस्तै उदाहरण छन् । कतिपय सेवाबाटै बर्खास्तसमेत भएका छन् । एसपी चन्दचाहिँ सरकारका उच्चपदस्थदेखि मिडियासम्मलाई आर्थिक रुपले प्रभावित पार्दै आफ्नो खुशीले व्यापारिक काममा लागेका छन् ।

नियम कानुन अनुसार कुनै सरकारी कर्मचारीलाई व्यापार व्यवसाय गर्ने बन्देज लगाएको भएता पनि श्रीमतीलाई अगाडि सारेर डा चन्द व्यापार व्यवसायमा केन्द्रित रहेको उनका सहकर्मीहरु बताउँछन् । यो प्रकरण उजुरी अदालतसम्म पुगेको छ । प्रधानमन्त्रीलाई गुप्त सूचना दिएर सुरक्षा नीति बनाउनुपर्ने राष्ट्रिय सुरक्षा परिषद्मा दरबन्दी रहेको व्यक्ति नियम विपरित व्यापार तथा व्यवसायमा सक्रिय रहेको पाइएको छ । फितलो गुप्तचरको संयन्त्रका कारण पटक पटक देशमा सुरक्षा चुनौती आइरहेको अवस्थामा गुप्तचरका हाकिमचाहिँ जागिरको मतलब नगरी व्यापारमा सक्रिय हुँदा समेत उनीमाथि कुनै सोधखोज र कारवाही नभएको बिषयमा गुप्तचर निकायमा कार्यरत कर्मचारीहरुले नै प्रश्न उठाउन थालेका छन् । यसअघि गुप्तचरको सूचना चुहावट गरेर विभागको स्पष्टीकरण खेपिसकेका एसपी चन्दले तत्कालीन शक्तिकेन्द्र मिलाएर आफू कारवाही हुनबाट बचेका थिए ।

व्यापारिक फर्मका पार्टनरसँग कुरा नमिलेपछि एसपी चन्द अहिले काठमाडौं जिल्ला अदालत धाइरहेका छन्, त्यहाँ मुद्दा खेपिरहेका छन् । उनकी पत्नी मोतिना चन्दलाई कागजमा देखाउने, कामचाहिँ उनी आफैँ गर्ने गर्दछन् । एसपी चन्द मुख्य सञ्चालक रहेको बिटुमिन सप्लायर्सबाट व्यापारिक पार्टनर हिरा राणाले लगानी रकमको साबा व्याज फिर्ता माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । उक्त मुद्दा दायर भएपछि जिल्ला अदालतले २०८० असार २७ गते जग्गा रोक्का राख्न भूमि प्रशासन (मालपोत कार्यालय) लाई आदेश दिएको छ ।

जग्गा रोक्का हुनेमा एसपी चन्द, उनकी पत्नीसहित पार्टनर लक्ष्मण अर्याल पनि छन् । बिटुमिन सप्लायर्समा चन्दपत्नी मोतिनाको नाममा ४० हजार कित्ता शेयर रहेको बताइन्छ । जिल्ला अदालतमा मुद्दा हालेकी राणाको एक लाख प्रतिशत कित्ता र अर्का पार्टनर अर्यालको एक लाख ६० हजार कित्ता शेयर देखिन्छ । त्यस्तो अभिलेख जिल्ला अदालतबाट प्राप्त भएको हो । जग्गा रोक्का हुनेमध्ये पार्टनर अर्यालको चितवनको साविक नारायण गाविस–८ मा रहेको चारवटा कित्ता र साविक मंगलपुर ३ को एउटा कित्ता जग्गा रोक्का रहेको छ । एसपी चन्दका नामका जग्गा रोक्का हुनुबाट पनि उनी व्यापारमा प्रत्यक्ष सहभागी भएको पुष्टि हुन्छ । उनको नाममा स्याङ्जा, साविक राम्जाकोट–४ का तीनवटा कित्ता र धनुषा नगरपालिका १ को एउटा कित्ता जग्गा रोक्का राखिएको छ ।

एसपी चन्दकी पत्नी मोतिनाको नाममा काठमाडौं महानगरपालिका १० मा रहेको एउटा कित्ता जग्गा रोक्का छ । जग्गा रोक्काबाट पीडित भएका पार्टनर लक्ष्मण अर्याल एसपी चन्दको तर्फबाट विभिन्न झमेलामा पनि परेका छन् । चन्दले दुःख दिएपछि अर्यालले ब्ल्याक बुल मल्टिप्रपोजमा रहेको आफ्नो सम्पूर्ण शेयर उनैलाई नै छाडिदिए । उक्त कम्पनीमा एसपी चन्दको ८० हजार कित्ता र अर्यालको एक लाख २० हजार कित्ता शेयर थियो । त्यही कम्पनीले ब्ल्याक बुल गार्मेन्ट ट्रेडिङ प्रालिका नाममा साडीको व्यापार गर्छ । उक्त व्यापारिक स्थल नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्स रहेको छ ।

ललितपुरको बालकुमारीमा जेभी अटो मोबाइल्स सञ्चालनका सञ्चालक पनि एसपी चन्द नै हुन् । त्यसमा उनकी पत्नी मोतिनाको नाममा ९० हजार कित्ता शेयर छ । सो कम्पनीले टाटा मोटर्सका गाडीको व्यापार गर्छ । पहिला चन्दले लक्ष्मण अर्याल, अञ्जु पन्थीसहितका व्यासायिक पार्टनरका विरुद्ध काठमाडौं जिल्ला अदालतमा कीर्ते मुद्दा हालेका थिए । त्यसअघि अञ्जु पन्थीलगायतका पार्टनरले जिल्ला अदालत बारामा चन्दका विरुद्ध कीर्ते, ठगी र बैंकिङ कसुर मुद्दा हालेका थिए । उनले बिटुमिन कम्पनीको खाता सञ्चालन एकलौटी बनाउने क्रममा कीर्ते गरेको आरोप पार्टनरहरुले लगाएका थिए । उनले बठ्याइँ गर्दै बारा जिल्ला अदालतको मुद्दा चितवनमा सारे । त्यहाँबाट ‘दावी नपुग्ने’ आदेश गराए । तर, अझैसम्म पूर्णपाठ आएको छैन ।

व्यापारिक गतिविधिमा एसपी चन्दको प्रत्यक्ष संलग्नतालाई अदालत र कम्पनी रजिष्ट्रार कार्यालयका विभिन्न कागजातले पुष्टि गर्दछ । त्यसमध्ये बिटुमिन प्रालि, सञ्चालक समिति बैठकको निर्णय पुस्तिका (माइन्युट) मा उनी आफैँ सहभागी भएर हस्ताक्षर गरेको देखिन्छ । सो माइन्युटमा २०८० जेठ १ गतेदेखि लागु हुने गरी प्रवन्ध निर्देशक शंकर घिमिरे र बित्त प्रमुख चन्द्रलाल श्रेष्ठलाई सो भूमिकाबाट हटाउने र एसपी चन्द पत्नी मोतिना र लक्ष्मण अर्याललाई ती जिम्मेवारी दिने उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *