काठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि लक्षित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ।राइड सेयरिङ कम्पनीहरूको संख्या बढ्दै गए पनि राइडरलाई आफ्नै सवारीसाधनको मालिक बनाउने गरीको योजना पर्याप्त रूपमा अघि नबढेको भन्दै तपाईंको बजारले नयाँ स्वरोजगार योजना ल्याएको जनाएको छ। कम्पनीका अनुसार योजनामार्फत राइडरले शून्य डाउनपेमेन्टमा इलेक्ट्रिक स्कुटर प्राप्त गरी दैनिक आम्दानीबाट किस्ता तिर्दै क्रमशः सवारीसाधनको स्वामित्व हासिल गर्न सक्नेछन्।
हाल नेपालमा विभिन्न कम्पनीले राइड सेयरिङका लागि बाइक तथा स्कुटर दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्म भाडामा उपलब्ध गराउँदै आएका छन्। तपाईंको बजारले पनि करिब सोही हाराहारीको रकममा राइडरलाई भाडामा मात्र नभई स्कुटरको मालिक बन्न सक्ने अवसर प्रदान गर्ने जनाएको छ।योजनामा सहभागी हुन राइडरले राष्ट्रिय परिचयपत्र, स्थायी लेखा नम्बर (प्यान) कार्ड, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र फोटो पेस गर्नुपर्नेछ।
तपाईंको बजारकी प्रमुख कार्यकारी अधिकृत माया लामाले ५ हजार जनालाई नयाँ स्वरोजगार योजनामा जोड्ने लक्ष्यसहितको काम दुई वर्षअघि नै सुरु गरिएको बताइन्। विभिन्न बाधा तथा अवरोधका कारण योजना अघि बढाउन नसकिएको भए पनि अहिले बेस्ट फाइनान्स र याङ्गोसँगको सहकार्यमा कार्यक्रम सुरु गर्न सफल भएको उनको भनाइ छ।उनका अनुसार राइड सेयरिङ क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग बढाउँदै छुट्टै विद्युतीय राइडिङ इकोसिस्टम विकास गर्ने कम्पनीको योजना छ। कम्पनीले नेपालभर अधिकृत डिलर नियुक्तिका लागि आवेदनसमेत खुला गरेको जनाएको छ।
तपाईंको बजार र भेट्रा मोटर्सको सहकार्यमा सार्वजनिक गरिएको ‘भेट्रा एरोन’ को मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार स्कुटरले एकपटक पूर्ण चार्ज गर्दा २५० किलोमिटरभन्दा बढी रेन्ज दिनेछ।नेपाली सडक र भूगोललाई लक्षित गरी तयार गरिएको स्कुटरमा १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ हजार वाट क्षमताको मोटर तथा १२० एम्पियर क्षमताको एलएफपी ब्याट्री रहेको कम्पनीले जनाएको छ। विशेषगरी राइड सेयरिङ तथा राइड–हेलिङ व्यवसायका लागि स्कुटर उपयुक्त हुने कम्पनीको दाबी छ।
भेट्रामोटर्सका निर्देशक मनिष श्रेष्ठले नेपाली सडकका उकाली–ओरालीलाई समेत ध्यानमा राखेर स्कुटर तयार गरिएको बताए।राइडरलाई सहज रूपमा विद्युतीय स्कुटर उपलब्ध गराउने उद्देश्यले तपाईंको बजारको पानीपोखरीस्थित कार्यालयमार्फत शून्य प्रतिशत डाउनपेमेन्टमा स्कुटर उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसका लागि बेस्ट फाइनान्ससँग सहकार्य गरिएको हो। राइडरलाई लक्षित वित्तीय सुविधा उपलब्ध गराउने विषयमा बेस्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत र तपाईंको बजारबीच सहकार्य भएको जनाइएको छ।
तपाईंको बजारका प्रबन्ध निर्देशक सुशिल सङ्ग्रौलाका अनुसार कम्पनीले हाल नेपालभर इलेक्ट्रिक भ्यान तथा इलेक्ट्रिक बसमा सहज वित्तीय सुविधा र बिक्री–वितरण गर्दै आएको छ। सोही व्यवसायको अर्को आयामका रूपमा नयाँ स्वरोजगार योजनालाई अघि बढाइएको उनले बताए।कम्पनीका अनुसार योजनामार्फत विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्नुका साथै राइड सेयरिङ क्षेत्रमा नयाँ रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। यो सुविधा तपाईंको बजारका पानीपोखरी, बुटवल र बिर्तामोडस्थित शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ।

