मस्जिदमा नअटेपछि सडकमै नमाज

जीवन दर्शन समाचार

मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद आज विश्वभर मनाइँदैछ ।

इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।

मुस्लिम धर्मावलम्बीको ठूलो चाडमध्येको बकर इदमा सोमबार नेपालगञ्जको वीपीचोकस्थित मस्जिदमा सामूहिक नमाज पढिएको छ । वीपीचोकमा सामूहिक नमाज पढ्न नगरका विभिन्न ठाउँबाट मानिसहरु जम्मा भएका थिए ।

वीपीचोकस्थित मस्जिद नअटेपछि सडकमै बसेर नमाज पढिएको थियो । घरबाट ल्याएका तन्ना ओछ्याएर ठूलो संख्या बाटोमै बसेको थियो । नेपालगञ्ज निवासी शहरी विकास मन्त्री मो। इस्तियाक राईले पनि वीपीचोकमै आएर नमाज पढेका छन् ।

मन्त्री राईले सबै धार्मिक समुदायका मानिसहरु एक आपसमा मिलेर बसेकाले नेपालगञ्जको विशेष महत्व रहेको बताए । ‘हामी नेपालगञ्जवासी एक अर्काको पर्वमा रमाउँछौं, यही नै यहाँको विशेषता हो, मन्त्री राईले भने, बकर इदमा आपसी भाइचारा, शान्ति, सद्भाव कायम रहोस् ।’

सामूहिक नमाज सकिएपछि आपसमा शुभकामना साटासाट गर्न हिन्दु समुदायका व्यक्तित्वहरु वीपीचोकमा पुगेका थिए । नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, राप्रपाका युवा नेता ऋषिराज देवकोटा, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठलगायतले वीपीचोकमा पुगेर एक अर्कामा ‘गले मिलेर’ शुभकामना साटासाट गरेका थिए ।

बदर इदमा कुर्बानी दिने गरिन्छ । त्यस्तो कुर्बानी दिएको मासुलाई तीन भाग लगाउने गरिन्छ । पहिलो भाग आफूले खाने, दोस्रो भाग आफन्तीलाई र तेस्रो भाग गरीवलाई दिने गरिन्छ । त्यही भएर बकर इदलाई त्याग अर्थात कुर्बानी गर्ने दिनको रुपमा मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *