नेता र कर्मचारीकै कारण देश भड्खालोमा पर्दै

राजनीति समाचार

काठमाडौं । राजनीतिक दल र कर्मचारी तन्त्रको कारण नेपालमा अर्थतन्त्र चलायमान बन्न सकेको छैन । वर्षैपिच्छे सरकार फेरबदलको कारण र कर्मचारीभित्रको भ्रष्टाचारले गर्दा दिनप्रतिदिन समस्या बढ्दै गएको छ । देशमा यस्तो समस्या हुँदा पनि यस बारे न त राजनीतिक दलहरुले समाधानको उपाय खोज्छन् न त कर्मचारीहरुले नै । राजनीतिक दलका नेताहरुले कार्यकर्ता पाल्ने र थन्क्याउने थलो बनाएका छन् । कर्मचारीहरु जागिरबाट अबकास पाएपछि राजनीतिक नियुक्ति खाने गर्दै आएका छन् ।

बहालवाला कर्मचारीहरु भने राजनीतिक शक्तिको आडमा मालदार ठाउँमा सरुवा हुने, भ्रष्टाचार गर्ने र राजदूत बन्नेहरुको भीडले गर्दा नै यो देश दिनप्रतिदिन टाट पल्टिँदै गएको छ । राजनीतिक दलका नेताहरुले संसद्मा बसेर भत्ता खान्छन् । उता कर्मचारीहरु राज्यको सम्पत्तिमा देश, विदेश भ्रमण गर्नेदेखि सेवासुविधामा लिप्त हुने गर्दछन् । सरकारको कुरा न कर्मचारीले सुन्छन् न त कर्मचारीका कुरा मन्त्री र नेताहरुले सुन्छन् । दुवै पक्षको अकर्मण्येताका कारण देश अधोगतितिर धकेलिँदै गएको छ ।

पछिल्लो समय राजनीतिक दलहरुलाई छाडेर नेपाली जनताहरु स्वतन्त्रतिर भौतारिन थालेका छन् । अब यो देशमा स्वतन्त्रको राज्य चल्छ कि राजनीतिक दलहरुले राज्य सञ्चालन गर्छन् त्यो भने हेर्न बाँकी नै छ । दलहरुलाई चुनौती दिँदै स्थानीय तहदेखि प्रदेश र संघमा समेत स्वतन्त्र जनप्रतिनिधिहरु जन्मिएका छन् । राजनीतिक दललाई चुनौती दिँदै स्वतन्त्रहरुले डेरा जमाउँदै गएका छन् । त्यसरी डेरा जमाउनेमा रवि लामिछाने, हर्क साङपाङ, बालेन शाहहुँदै अहिले दूर्गा प्रसाईंले सडक तताउन थालेका छन् । त्यसले गर्दा पनि आगामी २०८४ को निर्वाचनमा संघदेखि प्रदेश र स्थानीय तहमा कसको पल्लाभारी हुने हो त्यो भने एकिन छैन ।

राजनीतिक दलहरुको यस्तै रवैया रहिरहने हो भने २०८४ निर्वाचनमा दलहरुको सिला खोज्नुपर्ने अवस्था हुने देखिन्छ । दलका नेताहरुले परिवारवादबाट माथि उठेर देश र जनताको आवश्यकता अनुसार काम गर्न जरुरी देखिन्छ । यदि नेताहरुले पहिलाकै जस्तो परिवारवाद, नातावाद, क्रिपावाद र कार्यकर्तामुखी भएर अगाडि बढिरहने हो भने सर्वसाधारण जनताले दिएको साथ छोड्दै जाने देखिन्छ । राजनीतिक दलका नेताहरु परिवार र सासेपासेमुखी भएकै कारण जनताले बिस्तारै स्वतन्त्रहरुको साथ लिन थालेका हुन् ।

हिजोका दिनमा नेताहरुले सर्वसाधारणको विषय उठाउँदा साथ दिएका थिए । राजनीतिक दलहरु शक्तिमा पुगेपछि ती नेताहरुले देश र जनताको आवश्यकता भन्दा पनि आफू र आफ्ना तानागोता, सामेपासेको जीवन गुजारा चलाउने धनसम्पत्ति जोड्ने होडवाजी गरेपछि जनताले साथ दिन छाड्दै गएका छन् । अबका दिनमा राजनीतिक दलका नेताहरु व्यक्तिगत गालीगलौज भन्दा पनि जनता र देशप्रति संयम भएर अगाडि बढ्नुपर्ने देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *