चार विश्वविद्यालयका कामु उपकुलपति तोकिए, त्रिविमा त्रिपाठी

Uncategorized

सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो ।

चारवटै विश्वविद्यालयका उपकुलपतिहरुको म्याद सकिएकाले कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले सम्बन्धित विश्वविद्यालयको पदाधिकारीमध्येबाट कामु उपकुलपतिको जिम्मेवारी दिएको हो ।

त्रिविमा त्रिपाठीसँगै सरकारले संस्कृत विश्वविद्यालयमा रेक्टर प्रो.रमेश ढकाल, पूर्वाञ्चलमा सिनियर डिन प्रा.डा. बिजुकुमार थपलिया र कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन डा. शारदा थपलियालाई दिइको छ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुलपतिका लागि कामु उपकुलपतिको जिम्मेवारी तोक्दै पत्र पठाउनुभएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

त्रिवि ऐन–२०४९ को दफा २१ को (ख) अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा यो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्थाअनुसार उनीहरूलाई कामु उपकुलपति तोकिएको हो ।

त्रिविको उपकुलपतिसहित पदाधिकारीको नाम सिफारिस गर्न गठित शिक्षामन्त्री पोखरेलको संयोजत्वमा गठित सर्च कमिटीले नाम सिफारिस गर्न नसकेपछि त्रिवि ऐनअनुसार शिक्षाध्यक्ष डा. त्रिपाठीलाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री उपचारका क्रममा बिहीबार सिङ्गापुर जानु भएकाले फर्कन केही समय लाग्ने भएकाले पनि अहिले कामु उपकुलपतिको व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *