रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित खेतमा घाँस काटेको आरोपमा अधबैँसे मोगलपानी खातुनलाई निर्घातरूपमा कुटपिट भएको छ। खेतमा प्रवेश गरी घाँस काटेको भन्दै फतुवा बिजयपुर वडा ८ बजारटोलका रामप्रवेस साहले बडहरवाटोलका फिदाहुसेनको श्रीमतीलाई निर्घात कुटपिट गरेका हुन् ।
साहले हात तथा उखुको लौरो बनाएर आफ्नो दुवै हात, तिघ्रा र संवेदनशील अङ्गहरुमा समेत प्रहार गरेको पीडितले बताएकी छिन् । ४ दिन अघि अरुकै खेतमा घाँस काटेर आउने क्रममा रामप्रवेस साहले जबरजस्ती मेरो खेतमा किन गइस् भन्दै भुइँमा लडाएर कुटपिट गरेको उनले बताइन् ।
घटनाबारे ईलाका प्रहरी कार्यालय विजयपुरमा उजुरी दिँदा पीडकबाट सामान्य उपचार मात्र गर्न लगाएर उन्मुक्ति दिइएको पीडितको आरोप छ । यता, प्रहरी निरीक्षक चन्द्रकिशोर साहले घटनाबारे आवश्यक अनुसन्धान भैइरहेको बताएका छन ।