टानमा सवल र युवा समूहको नेतृत्व आउँछ

अन्तरवार्ता अर्थ/वाणिज्य कर्पोरेट पर्यटन प्रमुख

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन नजिकिएसँगै कांग्रेसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट) अर्थात लोकतान्त्रिक समूहबाट खुमबहादुर सुवेदीले अध्यक्षको उम्मेदारी घोषणा गर्नु भएको छ । ०४९ सालमा टेकिङ गाइड हुँदै पर्वतीय पर्यटनमा प्रवेश गरेका सुवेदी अब्बल पर्यटन व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । युनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडोज र ट्रिपल ए ट्रान्सपोर्टका कम्पनी प्रबन्धक निर्देशक सुवेदीले नियात्राकारसमेत हुनुहुनुहुन्छ । उहाँले ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ नामक दुईवटा कृति बजारमा ल्याइसक्नु भएको छ । पर्यटन व्यावसायको प्रबद्र्धन, प्रचारप्रसार र अनुभव तथा अनुगमनका हिसाबले उहाँले ४० भन्दा बढी देशको भ्रमण गरिसक्नु भएको छ । चुनावी एजेन्डा र टानको भावी भविष्य कस्तो हुन्छ ? भन्ने विषयमा आधारित भई तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्वकर्माले टानका पूर्वउपाध्यक्ष एवं प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका प्रत्यासी खुमबहादुर सुवेदीसँग गरेको कुराकानीको सम्पादित अंशः

टानको अध्यक्षमा तपाईकोउम्मेदवारी किन ?
पहिलो कुरा म पर्यटन व्यावसायी हुँ । यसैगरि म टानको नेतृत्व गर्न सक्छु । टानमा आबद्ध व्यावसायीका समस्या व्यावसायिक वस्तु स्थितिबारे जानकार छु । उहाँहरुको हकहितका लागि मैले काम गर्न सक्छु । पछिल्लो समय ट्रेकिङ कम्पनी र व्यावसायीहरुमा छाडातन्त्र मौलाएको छ । अधिकांश ट्रेकिङ कम्पनीहरु राम्र्रा छन् । तर, त्यहाँभित्रका केही कम्पनीका कारण अहिले सिंगो टानको बेइज्जत भइरहेको छ । सरकारले तिनै कम्पनीका गल्तीहरुलाई देखाउँदै हामीमाथि औँला उठाइरहेको छ । मैले यी समस्यालाई व्यावसायीदेखि लिएर उच्च तहसँग लबिङ गरेर हटाउने योजना बनाएको छु । टानका सदस्य व्यावसायीहरुलाई व्यवस्थापन तथा बजारीकरण गर्नेछु । करको मारबाट व्यावसायमा असर नपरोस् भनेर तीनवटै सरकारलाई कर एकीकरण गर्न पर्यटन विभागको तर्फबाट आह्वान गर्नेछु । सबैखाले करहरुलाई एकद्वार गर्न पहल गर्ने छु । आरोहण र पदयात्रामा जाने कामदारको सामूहिक बिमाको व्यवस्थापन गर्नेछु । मेरो सबैभन्दा पहिलो र ठूलो काम नेपालमै एडभेन्चर ट्राभल मार्ट आयोजना गर्ने हो । विदेशमा मात्र आयोजना हुने ट्राभलमार्ट हालसम्म पनि नेपालमा सञ्चालनमा ल्याउन सकिएको छैन । नेपाली पर्यटन व्यावसायीहहरुले उतै गएर भाग लिन बाध्य छन् । नेपालमा ट्रेकिङमा जाने अधिकांश पर्यटक विदेशी हुन् । उनीहरु धेरैजसो विदेशी ट्रेकिङ कम्पनीको प्याकेजमा आउने र नेपाल आइसकेपछि पनि आफैँ पदयात्रामा जाने गरेका छन् । यसले पदयात्रा व्यावसायमा जोडिएका व्यावसायी धरासायी हुने स्थिति सिर्जना भएको छ । साथै सरकारको राजस्व पनि गुमिरहेको छ । यस्तै कारणले विभिन्न समयमा भएका दुर्घटनाले नेपालको पदमार्ग सम्बन्धमा गलत तथ्य टिप्पणी हुने गरेको छ । यसलाई चिर्न ‘नो ट्रेकिङ विथाउट गाइड एन्ड पोर्टर’ लाई कार्यान्वायनमा ल्याउने छु । पर्यटक सुरक्षाका दृष्टिले पनि राम्रो छ भन्ने पर्यटकहरुलाई जानकारी गराउने छु । ट्रेकिङ परमिट लागू गरी त्यसमार्फत पर्यटकको सुरक्षा, राजस्व र नियमन गर्न सकिन्छ । हामीले तिर्नुपर्ने कर एउटै रकमलाई दोहोरो आम्दानीका रुपमा बुझेर भ्याट थोपरिएको छ । हामीले ट्रेकिङ प्याकेज पर्यटकको प्रतिस्पर्धाका आधारमा बेचिरहेका छौँ । यस विषयमा सरकार जानकार छ । तर, विभिन्न बाहनामा दोहोरो कर उठाइरहेको छ । यस विषयमा धेरैपटक बहस भयो । भ्याटलाई लिएर ०५१÷५२ देखि ०७१÷७२ सम्म यस्तो स्थिति थिएन् । सहज थियो । ०७२ पछि यस्तो स्थिति सिर्जना भयो । अहिले व्यावसायीलाई नै धरासायी बनाउने हिसाबले तीनवटै सरकारले करको दायरा वृद्धि गर्ने दाउमा हामीमाथि आर्थिक बोझ लादिरहेका छन् । यही कारणले व्यावसायीहरु बाध्य भएर प्याकेज महँगो बनाउँदै गएका छन् ।

एकद्वार भन्नुभयो, कुन–कुन क्षेत्रलाई एकद्वार गर्न आवश्यक छ ?
करको दायरा एकद्वार गर्न आवश्यक छँदै छ । विगतदेखि नै एक ठूलो समस्याको रुपमा रहेको रुट पर्मिटको समस्या छ । यसलाई मैले नियमन गराउने प्रतिबद्धता गरेको छु । अहिले पुरातत्व बिभाग, पर्यटन विभागलगायत धेरै ठाँउबाट परमिट लिने र दिने गरिँदै आएको छ । यसलाई अब एकै स्थानबाट गर्ने व्यवस्था मिलाउने गरी कानुनमै व्यवस्था गर्न वा व्यावसायीले नै कानुनसम्मत ट्रेकिङ बेच्ने वा त्यसको निरीक्षण गर्ने व्यवस्था गर्न व्यावसायी र सरकारसँग लबिङ गर्नेछु । यसले अवैधानिक व्यावसायी तथा गाइड, पोर्टरहरु स्वतः समाप्त भएर ट्रेकिङ व्यावसायलाइ एकत्रित गर्ने छ । अहिले धेरै स्थानमा गाइडबिनै पर्यटकहरु घुम्न पाउने व्यवस्था छ । अब ३ हजार मिटरभन्दा अग्ला हिमालमा जाँदा अनिवार्य गाइडको व्यवस्था गर्नुपर्ने व्यवस्था गरिने छ । यसले व्यावसायीहरुको आम्दानी र सुरक्षा हिसाबले पनि राम्रो हुनेछ । धेरै कानुनहरु हामीलाई अलमल पार्ने खालका छन् । यसलाई कानुन बनाएर निर्देशिका जारी गर्न सम्बन्धित मन्त्रालयसँग माग राख्ने र जारी गर्न दबाब सिर्जना गरिने छ । विश्वस्तरमा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका लागि सिएनएन, बिबिसी, नेपाली पत्रपत्रिका, रेडियो टेलिभिजन, सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र याहुको अत्याधिक प्रयोग गरेर पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन सकिने छ । उपल्लो मुस्ताङ, डोल्पालगायत क्षेत्रमा ट्रेकिङमा कडाइ गरिएको छ, २ जना अनिवार्य हुनुपर्ने व्यवस्था हटाएर एक्लै पनि जान सकिने स्थिति निर्माण गर्न पहल गर्नेछु । टान र पर्यटन बोर्डको आन्तरिक झगडाका कारण बेरुजु रकम देखाएर टानलाई दुःख दिने काम भएको छ, यसलाई बेरुजुका नाममा देखाइएका अवरोधहरुलाई केलाएर २ महनाभित्रै समाधान गर्नेछु ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *