महिलाहरूका लागि उत्सवको रूपमा हेरिने तिज ०७६ सालको पनि बिदा भइसक्यो । सामाजिक र सांस्कृतिक रूपमा अर्थपूर्ण हुने गरेको तिज पछिल्लो वर्षहरूमा आर्थिक रूपमा समेत अर्थपूर्ण भइरहेको छ । अन्य चाडभन्दा धेरै खर्च हुन्छ की भन्ने भइरहेको छ । आजभन्दा ३० वर्षअघिको तिज र अहिलेको तिजमा आकाश जमिनको फरक भइसकेको छ । पहिलाको तिजमा अहिलेको जस्तो सुविधाहरू थिएनन् । चेलिवेटीलाई लिन जान धेरै दिनको हिँडाइ आवश्यक पथ्र्यो । अहिले फोनबाट नै खबर भइहाल्छ । पहिला चेलीवेटीको घरमा लिन नगए पठाउँदैनथे । अहिले त्यस्तो छैन । सासुको नियन्त्रणमा रहने भन्ने शव्दावली नै हराएजस्तो भइसक्यो ।
३० वर्षअघि तिजभन्दा पनि दरखाने भन्ने विषयले केटाकेटी मात्रलाई होइन ठूलालाई पनि आकर्षित गर्दथ्यो । सधैँभरी टन्न खान पनि मुस्किल पर्ने अवस्थामा दर खाने दिनमा चामलको भात, तरकारी, अचारसहित व्यवस्था हुने । त्यत्ति मात्र होइन खारेको घिउ आकर्षकको खाना हुन्थ्यो । घिउ भएन भने दर होइन भनेझैँ हुन्थ्यो । दरखाने दिनको साँझमा टन्न खाएर राति पनि उठेर खानुको मजा नै बेग्लै हुन्थ्यो । तिजको दिन विभिन्न मन्दिर जाने, चरिकोट बजार घुम्ने साथीभाइसँग रमाइलो हेर्ने आसमा एक महिना अघिदेखि नै मन हँसिलो हुन्थ्यो ।
अहिलेको तिज एक महिना अघिदेखि नाचगान तथा खानपिन सुरु हुन्छ । सधैँ मिठो मसिनो खाने भने पछि त्यसको कुनै वास्ता हुने नै भएन । दरखाने दिन त के एक हप्ता अघिदेखि नै मासु खानु हुन्न भनिन्थ्यो तर अहिले त दरमा मासु नभई रमाइलो नै हुन्न रे । कतै कतै त दारुको चलन पनि चलिसक्यो । तिज भन्नासाथ लुगा गहनाको प्रदर्शन हो कि भन्ने भान परिरहेको छ । एक महिनाअघिको दर भन्ने गरेको भोजमा पनि गहना प्रदर्शन हुने गरेको नै छ । यसरी दर खाने चलन नभएको भए सहरका पार्टी प्यालेसहरू चल्ने थिएनन् की भन्ने परिरहेको छ । तथापि यो वर्षको चाहिँ पार्टी प्यालेसमा गएर एक महिना अघिदेखि नै दर खाने क्रम केही घटेको हो की भन्ने लागिरहेको छ । पहिला तिजको दिनमा घुम्न गइन्थ्यो । अहिले कोठामा नै थुप्रिएर बस्ने चलन चलेको छ । अरु दिन घुम्ने वरु तिजको दिनमा घरमा बस्ने गरेको पाइन्छ । तथापि केही दिदीबहिनीहरू भने मन्दिरतिर गएको पनि पाइन्छ । पहिला दर भन्नासाथ महिलाले मात्र खानेजस्तो मानिन्थ्यो । पुरुषले त जनै पूर्णिमाको अघिल्लो दिन दर खाने भनिन्थ्यो । अहिलेको दर खाने कार्यक्रममा पुरुषको बाक्लो मात्र होइन महिलाभन्दा धेर संख्यासमेत देख्न पाइन्छ ।
प्रविधिको बदलिँदो अवस्थाअनुसार नाचगानको रूपसमेत फेरिएको छ । पहिला मादल ठोक्दै बच्छे बाजा बजाउँदै मारुनी नाचसमेत देख्न पाइन्थ्यो । गीत गाउने दिदीबहिनीहरू एकातिर मिलेर बसेका हुन्थे, अनि नाच्नका लागि जागरुक हुन्थे । अरु कहिल्यै ननाचेकोहरू पनि तिजमा छम्छमी नाचेको देख्दा हामी सबैलाई अचम्म लाग्थ्यो । फलानो काकी पनि नाच्नु हुँदो रहेछ भनेर हामीबीच चर्चा हुने गर्दथ्यो । ती पहिलाको मादल, बच्छे बाजा कता गए होलान् रु मादल चाहिँ कहिले काहीँ देखिन्छ तर मुखमा घोटेर बजाउने बच्छे बाजा कता गए होलान् ? कुनै बेला यो बाजाको जगजगी थियो । काठमाडौंवाट गएका अलि ठिटासँग यो बाजा हुन्थ्यो नै । हामी टोलाएर हेर्दथ्यौँ, कहिले ठूलो हौला र किनौला भनेर । त्यो रहर त्यतिकै हराएर गयो ।
अहिलेको तिज प्रविधियुक्त भइरहेको छ । मौलिक गीतहरू हुन छाडे । युट्युब र मोबाइलबाट उफरमा बज्न थाले । गीत गाउने व्यवसायिक मात्रले हो भन्ने भइरहेको छ । पहिलाजस्तो ४÷५ जना महिला जम्मा हुने, गीत गाउन थालिहाल्ने चलन छैन । मान्छे त जम्मा हुने हो तर साथमा मोबाइल र उफर पनि राख्ने हो । ग्रामीण गीतका लय हराए भन्दा फरक पर्दैन । नयाँ पुस्ताले त्यसलाई लिने कोसिस गरेन, वातावरण पनि भएन । हामी आफूले गर्ने भनेको नाच्ने मात्र भइरहेको छ । अलि थपडी बजाउने हो । तिजको सांस्कृति महत्व थाहा पाउन टिभी वा युट्युब नै हेर्नु पर्छ । तथापि जमघटको मेसो भने तिजको नाममा भइरहेको छ । काठमाडौं भए पनि चेलिवेटी बोलाउने, एक छाक खान दिने, चुरा पोते बाँड्ने काम अहिले पनि भइरहेको छ ।
तिजजस्ता चाड परम्परादेखि चलेका हुन् । यसका सांस्कृतिक, धार्मिक र सामाजिक महत्व छ । सो कुरा पुस्ता हस्तान्तरण हुन सकेको छैन । तिज मान्नु पर्छ, दर खानु पर्छ भन्ने मात्र भएको छ । यसका विविध पक्षलाई केलाएर विश्लेषण गर्नु आवश्यक छ । ३० वर्षअघि कै हुबहु गर्नु पर्छ भन्ने छैन तर यो चाड मौलिक चाड पनि हो । यसका सारभूत विशेषता मार्न पनि दिनु भएन । ३० वर्षअघिका कुरा पछिल्ला पुस्तालाई लोक कथाजस्तो हुन थालिसक्यो । त्यसको अभिलेखीकरण कस्ले गर्ने होला ? त्यो बेलाका विसंगती पो हटाउने त । जस्तै श्रीमान्को गोडाको पानी खाने, सो हटाउन जरुरी छ । हुन त यस्ता खालका काम यो वर्ष पनि भएर तर सामाजिक सञ्जालमा व्यापक प्रचार भई त्यस्ता काम गर्ने गराउनेको सातो लिने काम भइसकेको छ । अर्को वर्ष झुक्किएर पनि त्यस्तो नगर्लान् ।
तिजको मौलिकतालाई ख्याल गर्दै अहिलेको प्रविधिलाई समेत आत्मसात् गर्दै सहज र पूmर्तिलो चाडबाड मनाउनु आजको आवश्यकता हो । धनको चुरीफुरीलाई निरुत्साहित गर्नु आवश्यक भइसकेको छ । चाडवाड भनेको सम्पत्ति प्रदर्शन गर्ने होइन । सांस्कृतिक पक्षको जगेर्ना गर्ने हो । सामूहिक भावनाको विकास गर्ने हो । आफन्तबीचको नियमित संवादको बाहक हो । कस्ले को पाउनलाई कति व्रत गरे त्यो चासोको विषय होइन तर सामाजिक सद्भाव विकास गर्न, नैतिकवान् समाज बनाउन हामीले के गर्नु पर्छ त्यो हाम्रो चासो हुनु पर्छ ।