आमजनताको बलिदानी के का लागि ?

प्रमुख लेख समाचार

नेपाल राज्यको स्थापना पृथ्वीनारायण शाहले गरेका हुन् भन्ने कुरा नेपालको इतिहासमा लेखिएको छ । त्यसैको बदलामा उनका सन्तानले नेपालमा २४० वर्षसम्म शासन चलाएका थिए । हाल बाघको छालामा स्यालको दाँइ भनेझैँ विभिन्न राजनीतिक दलका नेताहरूको दाँइ चलेको छ । नेपालको इतिहासअनुसार नेपाल राज्यको स्थापना गर्दा पनि धेरै नेपालीको ज्यान गएको थियो भन्ने लेखिएको छ । शाह वंशीय राजाहरूले शासन गरेको २४० वर्षको लामो कालभित्रै पछिल्लो १०४ वर्षको अवधिमा नेपालमा राणावंशले जहानियाँ शासन चलाएका थिए । उक्त १०४ वर्षको अवधिमा सत्ता परिवर्तनका लागि अनेकौँ रक्तरञ्जित काण्डहरू भएका थिए र उक्त काण्डहरूमा धेरै आमनेपाली जनताको बलिदान चढेको कुरा इतिहासमा उल्लेख गरिएको छ । १०४ वर्षसम्म नेपालमा चलेको राणा शासनलाई फाल्नका निमित्त नेपाली कांग्रेसको नेतृत्वमा ०७ सालमा क्रान्ति भएको थियो । यो क्रान्तिमा राजा र जनता मिलेर राणावंशीय शासनलाई फाल्ने काम सफलतापूर्वक सम्पन्न गरिएको थियो । यो क्रान्तिमा पनि धेरै आमनेपाली जनताले अत्याचारी शासक वर्गको विरोधमा हतियारै उठाएर आक्रमणमा उत्रेका थिए । फलस्वरूप यो कान्तिको अभियानमा पनि धेरै आमनेपाली जनताले बलिदान दिएका छन् । कति सहिद भए एकीन तथ्यांक छैन तैपनि ठूलो संख्यामा आमनेपाली जनताले राष्ट्रका लागि हाँसी खुसीको साथ बलिदान दिएको कुरा नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ । त्यसपछि पनि आमनेपाली जनताको बलिदानी दिने क्रम रोकिएको छैन । झापा आन्दोलनमा के कति आमनेपाली जनताहरू बलिदान भए ठोस जानकारी वा अभिलेख छैन तर ०४६ साल र त्यसपछिको जनआन्दोलनहरूमा भने धेरै आमनेपाली जनताको बलिदान मातृभूमि नेपालको मुक्तिका लागि चढिसकेको छ । माओवादी जनयुद्धको दौरान १७ हाजर आमनेपाली जनता मारिको कुरा सर्वविदित नै छ । ०७ साल ताका राणा शासन फाल्नका लागि एक भएको नेपालको राजनीतिक दलहरू र राजाका बीच सत्ताका लागि चलेको संघर्षमा फाटफुट आमनेपाली जनताको बलिदान चढ्ने क्रम जारी नै भइरह्यो । राजा र राजनीतिक दलहरूका बीच चलेको सत्ता संघर्षले गर्दा कहिले राजतन्त्र भारी र कहिले बहुदल भारी हुँदै ०५९ साल जेठ १९ गते राजा वीरेन्द्रको वंश नै नासिने गरी हत्या भयो र स्वर्गीय राजाका भाइ ज्ञानेन्द्र नेपालका नयाँ राजा बन्न सफल भए । उनको शासनकाल ०६२ सालसम्म चल्यो र त्यसपछि राजनीतिक दलहरूको दबाबमा उनलाई नेपालको राजकीय सत्ता त्याग्न बाध्य पारियो । यसरी नेपाल राजतन्त्र, बहुदल, संसदीय व्यवस्था हुँदै संघीय राजनीतिक व्यवस्थामा हाल प्रवेश गरिसकेको छ । ०१७ सालदेखि ०४६ सालसम्मको अवधिमा नेपालमा प्रत्यक्ष र सक्रिय राजतन्त्र चलेको थियो । राजाले आमनेपाली जनतालाई रिझाएर आफ्नो पक्षमा पार्नका लागि पञ्चायती प्रजातन्त्र ०१७ सालदेखि ०४६ सालसम्म चलाएका थिए भने ०४६ सालदेखि ०६२ सालसम्म संवैधानिक राजतन्त्र नेपालमा चलाएका थिए । यो अवधिमा कति आमनेपाली जनता राजनीतिक आस्थाको आधारमा बलिदान भए भन्ने ठोस तथ्यांक छैन । राजतन्त्रमा राजनीतिक बन्दीबाहेकका विरोधी राजनीतिमा लागेका आमजनतालाई बिनान्यायिक जाँचबुझ गोप्य रूपले मार्ने चलन थियो र अनपढ औँठाछाप अञ्चलाधीशहरूले नै यस्तो सजाय तोक्ने र दिने गरेका थिए । त्यसैले ०४६ सालपछाडि नेपालको प्रधानमन्त्री बनेका स्वर्गीय कृष्णप्रासद भट्टराईले सरकारको पहिलो निर्णयबाटै अञ्चलाधीशको पद खारेज गरेका थिए भने माओवादीबाट प्रधानमन्त्री बनेका नेताहरूले राष्ट्रिय पोसाक दौरासुरुवाल नै अहिलेसम्म लगाएका छैनन् । त्यतिबेलाका अञ्चलाधिशहरूको क्रूरतासित जोडिएका राष्ट्रिय पोसाक दौरासुरुवाल अहिलेसम्म पनि माओवादी नेताहरूले स्वीकार नगर्नुबाट उनीहरू कति क्रूर थिए भन्ने कुरा सबैले बुझ्न सक्छन् । नेपालमा त्यतिबेला जंगली राज नै चलेको थियो र मानवतावादको कुनै महत्व थिएन । नेपालमा यति ठूलो राजनीतिक परिवर्तन ल्याउनमा आमजनताको योगदान धेरै छ । उनीहरूले आफ्नो बलिदान दिएर नेताहरूको राजनीतिलाई नेपालमा सफल तुल्याएका छन् । यसो त नेताहरू पनि बलिदान हुनेसम्मको लक्ष्यका साथ राजनीतिमा लागेको हुन्, तर ०७ सालअगाडि राणाहरूले मात्रै नेताहरूलाई फाँसी दिएका थिए भने त्यसपछिका राजनीतिक आन्दोलनहरूमा धेरै जनता मारिएका छन् भने नेताहरू चुनेरै मार्ने काम भएको छैन । राजनीतिक नेतृत्वलाई बचाउनकै लागि आमजनताले आफ्नो प्राणको बाजी लगाएको दृष्टान्तहरू धेरै देखिएका छन् । अहिले पनि आमनेपाली जनताले नेपालमा राजनीतिक परिवर्तन ल्याउनका लागि दिने बलिदानको क्रम रोकिएको छैन । नेकपा विप्लवले हाल चालेको संघीय राजनीतिक व्यवस्थामाथि असन्तुष्टी जनाउँदै आफ्नो राजनीतिक आन्दोलनलाई तीव्र बनाएका छन् भने नेकपा सरकार उनको राजनीतिक अभियानलाई प्रतिबन्ध लगाएर दबाउनका लगि बल प्रयोग गर्दै छन् । तत्कालिन एमाले र नेकपा माओवादी एक आपसमा विलय भएर शक्तिशाली बनेको र आमनेपाली जनताले पनि उनीहरूको आपसी विलयलाई चुनावमा दुईतिहाई बहुमत दिएर स्वीकृत गरेको कुरा सर्वविदितै छ । यो नौलो राजनीतिक परिवर्तनलाई नेकपा विप्लवले अस्विकार गरेको छ भने नेकपा क्रान्तिकारीले नेकपालाई गैरकम्युनिस्ट राजनीतिक दल भनेका छन् । एक्लै भए पनि सत्यको बाटो कहिले नत्याग्नू र सित्तैमा आम जनताको सियो पनि नलिनू भन्ने कठोर माओवादी सिद्धान्तमा अडिग नेकपा क्रान्तिकारी नै नेपाली कम्युनिस्टहरूको भविष्यको केन्द्रबिन्दु भएको मानिन्छ । नेकपा विप्लव अहिले एक्सनमा उत्रेर पुँजीवादका पिछलग्गु र कठपुतलीहरूका विरुद्ध सक्रिय अभियान चलाएका छन् । नेकपा सरकारलाई विप्लव माओवादीको सो काम अपच भएकाले प्रतिबन्ध लगाउनेसम्मका प्रतिक्रियावादी षड्यन्त्रका विधिविधान अपनाउन पुगेका छन् तर उनीहरूले सच्चा कम्युनिस्टलाई कहिले हराउन नसक्ने ठोकुवा नै गर्न सकिन्छ । राज्य सत्ताको भोगबिलासमा लागेका पूर्वमाओवादीहरू यति बेला निजी सम्पत्ति जोड्ने अभियानमा तँछाड मछाड गरेर लगेका छन् । पहिले भ्रष्टाचार र अपराधका विरोध गर्नेहरूले अहिले भ्रष्टाचार र अपराधकै उपयोग गरी अकुत निजी सम्पत्ति जोड्ने अभियानलाई तीव्रता दिएका छन् । पुँजीवादका विरोध गर्नेहरू अहिले आफैँ पुँजीबादको सिकार भएका छन् र जनविरोधी काम बिनालाज सरम खुल्लमखुला गर्दै हिँडेका छन् । अहिले हग्नेलाई भन्दा देख्नेलाई लाज लाग्ने अवस्थामा नेपालको कम्युनिस्ट राजनीति पुगेको छ । एक दक्षिणपंथी राजनीतिक पार्टी र हाल सत्तामा कायम रहेको कम्युनिस्टपन्थी पार्टीमा नीतिगत र कार्यगत भेद केही देखिएको छैन । आम जनताले तिनीहरू बीचका नीतिगत फरकलाई हरेर नै भोट हालेका हुन् तर सत्तामा पुगेपछि उनीहरूले फरक देखाउने किसिमले काम गर्न सकेनन् भने काले काले मिलेर भाले खाने नीति लिएर अगाडि निरन्तर बढिरहेका छन् । नेपालमा फेरि राजनीतिक अस्थिरता र अशान्तिको बादल मडारिन थालेको छ । सबै कम्युनिस्ट एक ठाम छैन भने एकले अर्काको सक्रिय विरोध गर्न थालेका छन् र सोहि मुताबिक सक्रिय राजनीतिक अभियान पनि चलाएका छन् । तितो सत्य के छ भने जनताको साथ र हातबिना कुनै पनि राजनीतिक अभियान सफल हुन सक्तैन । आमजनताले अस्थिर राजनीति र अस्थिर सरकार नचाहेको हुनाले सबै कम्युनिस्टलाई एक ठाउँमा ल्याउने हिसाबले मतदान गरी दुईतिहाई बहुमत दिएका थिए । अहिले स्थिर सरकार बने पनि नेपालको राजनीति भने स्थिर बन्न सकेन किनकि कम्युनिस्ट राजनीतिका केही महत्वपूर्ण घटकहरू बूढीऔँलाझैँ हट्टपापी छुट्टै बसुँला भन्दै सरकारी माओवादी बन्न छाडेर अलग बसेका छन् । अर्को तितो सत्य के हो भने आमनेपाली जनताले भ्रष्टाचार र अपराधलाई पनि मन पराएको छैन । जनताको त्यस्तो राजनीतिक आकांक्षाविपरीत सत्तामा बसेकाकाहरूलाई भने भ्रष्टाचार र अपराध खानाको साथमा मिठो अचारजस्तै लाग्न थालेको छ । नेकपा सरकारको त्यस्तो कारनामालाई देखेपछि सत्ताबाट अलग भएका क्रान्तिकारी र विप्लवको पक्षमा अहिले जनसमर्थन ह्वात्तै बढेको छ । एक्लै भए पनि सत्यको बाटो नत्याग्ने र सित्तैमा जनताको सियो पनि नलिने प्रण गरेका सच्चा माओवादीहरू अहिले क्रान्तिकारी र विप्लवकै पक्षमा स्वतः सफूर्त रूपमा नै लागेका छन् । भ्रष्टाचार र अपराधको बाटो अपनाएर अकुत सम्पत्ति कमाउने र सार्वजनिक सम्पत्ति लुट्नेहरू सच्चा कम्युनिस्ट कहिले हुन नसक्ने उनीहरूले बुझेकाले माओवादी सिद्धान्तअनुसार नै सत्य र त्यागको बाटोमा नै लागेका छन् । आम जनताको बलिदान खास व्यक्ति वा उनका परिवार वा नातेदारलाई सत्ता प्राप्तिका लागि होइन । यस्तो बलिदान राष्ट्रका लागि हुन्छ र समाजको लागि हुन्छ । बलिदान गर्ने जनताले कहिले पनि आफ्नो निजी स्वार्थ पूरा गर्ने हिसाबले सोचेको हुँदैन । तर नेपालका नेताहरूले आमजनताको बलिदानको अहिलेसम्म उचित कदर गर्न सकेन त्यसैले उ आफैँ भ्रष्टाचार र अपराधको जालोमा माकुरीको सिकारझैँ फँस्दै गएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *