डिजिटल प्रविधियुक्त व्यावसायी र समृद्ध टान अहिलेको आवश्यकता हो

पर्यटन प्रमुख

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले भर्खरै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति पाएको छ । सोही समूहमा नेतृत्वका थुप्रै आकांक्षीहरूलाइ पछि पार्दै व्यावसायीहरूको मन जितेर नयाँ समूहले टानमा कब्जा जमाएको छ । फरक मत र फरक कार्यशैली कै कारण निर्वाचित समूहले टानमा स्थान पाएको हो । उक्त समूहबाट सचिवमा निर्वाचित हुनु भएका मिसन नेपाल होलिडेजका सञ्चालक दामोदर ढकालसँग टानको अबको कार्ययोजनाबारे तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः
समृद्ध टानका लागि नयाँ एजेण्डा के के ल्याउनु भएको छ ?
अहिले टानको अवस्था अस्तव्यस्त छ । व्यावसायीहरू मर्कामा छन् । उनीहरूका समस्या समस्या ज्यूँ का त्यूँ छन् । सुधार हुन सकेको अवस्था छैन । विभिन्न समयमा टानको निर्वाचनबाट आउने पदादिकारीहरूले एजेण्डा मात्र उत्कृष्ट ल्याउने तर, काम नगर्ने प्रवृत्ति टानमा हाबी छ । हामीले अब यसलाई सुधार गर्नुपर्छ । बाहिरी रूपबाट टान भन्ने एउटा संगठन छ, जुन ट्रेकिङ व्यावसायीहरू आबद्ध संस्था हो भन्नेबाहेक सुधार हुन सकेको छैन । ट्रेकिङ व्यवसाय आफैँमा पनि मौलिक व्यावयास हो । यस्तो व्यावसायको संगठन लथालिंग हुँदा चाहेका कुराहरू नपाउने, विदेशी आफैँ आएर ट्रेकिङ जाने अवस्था छन् । जसका कारण यो व्यावसाय नै संकटमा पर्दै गएको छ । धेरै विदेशी ट्रेकिङ एजेन्सीहरूले समेत नेपालमा पर्यटक पठाउँछन् । उनीहरूले आफू चर्को मूल्य लिएर नेपाली गाइडको भरमा विदेशी पर्यटकलाई सेटिङमा पठाउने गरेका छन् । यसरी पर्यटक पठाउँदा विभिन्न प्याकेजहरू दिइएका हुन्छन् । विदेशीले ती प्याकेजको नाममा चाहिनेभन्दा बढी रकम असुल्नेसमेत गरेका धेरै उदाहरणहरू छन् । त्यसलाई कसरी नियन्त्रण गरेर व्यावसायलाई विस्तार र दीर्घकालिन कसरी बनाउने भन्ने लागिरहेको छ । ठूला एजेन्डा हामीसँग छैन । एउटा उखान नै छ, ‘घाँटी हेरी हाड निल्नु’ यो उखानलाई हामीले आत्मसाथ गरेका छौँ । चाहना त ठूलै काम गर्ने हो । यसलाई पहिले नै भनिहालेमा पछि काम गर्न सकिएला नसकिएला के थाहा त्यसबेलामा समस्या सिर्जना हुन जान्छ । यसैले हामी आफूले गर्न सक्ने र सहज एजेन्डलाई मात्र चुनावी नारा बनाएका छौँ । यसलाई व्यावसायी साथीहरूले विश्वास गरिदिनु भएको छ । हामीले उहाँहरूको यो साथ र विश्वासमा घात गर्दैनौँ भन्ने हाम्रो धारणा छ ।
कस्तो छ, टानको भविष्य ?
टानमा नयाँ कुरा चाहिएको छ । नयाँ अभ्यास, नयाँ परिपाटी पुराना विचारलाई परिवर्तन गरेर बाह्य एवं आन्तरिक पर्यटन बढाउनु अहिलेको मुल लक्ष्य हुन् । यसकारण नयाँ पर्यटन र ट्रेकिङ व्यावसायतर्फका अभ्यासहरू अहिले आवश्यकता परेका छन् । ती सबै अभ्यासहरू पर्यटकमैत्री भने हुनैपर्छ । यसमा पर्यटनको आगमनमा वृद्धि मात्र नभई पर्यटकको बसाई अवधि लम्ब्याउन र आर्थिक समृद्धिको कल्पनालाई बढावा दिनु अहिलेको आवश्यकता पनि हो । यसैले अबको टानको भविष्य उज्ज्वल हुनेछ । हामीले पर्खिएको बिहानी अवश्य उदाउनेछ । यसकारण हामीले यो वा त्यो भन्दा पनि पर्यटनसँग जोडिएका प्रत्यक्ष सवाल राख्ने हरेक कुराहरूलाई आत्मसात् गरेका छौँ । यसबाट हामी विमुख भएर रहने कुरा भएन रु यसैले संसारमा घुम्ने पर्यटकलाई आफूसँग जे छ, त्यही देखाउने हो । तर, उस्तैउस्तै देखिने चिजहरू परिवर्तनका साथ देखाउनु पर्छ । हामी नयाँ प्रोडक्टका कुराहरू गर्छौँ, अब नयाँ प्रोडक्ट होइन, हामीसँगै भएका उत्पादित प्रोडक्टलाई नयाँ तरिकाले पस्किन जरुरी छ । यदि हामीले पुरानो प्रोडक्टलाई नयाँ परिकारअनुसार पर्यटकहरूलाई दिन सकियो भने अवश्य पनि पर्यटन बजार समृद्ध बन्न सक्छ । अर्कोतर्फ नेपालमा हिमालयहरूको प्रचुर खानी भएको कारणले पनि हिमालको चिसो हावामा बसेर यहाँ धेरै खाले स्वास्थ्य उपचारका कामहरू पनि गर्न सकिन्छ ।
नयाँ नेतृत्वले पहिलो चरणमा के के काम गर्छ ?
बुझ्नै पर्ने कुरा त के हो भने ट्रेकिङ क्षेत्रमा काम गरिरहेका हामी सबै ट्रेकिङ व्यावसायी हौँ । यसैले व्यावसायीको हितमा काम गर्छौँ । यस्तै सुशासनका कुराहरू छन्, छाडातन्त्र मौलाएको छ । यसलाई हामीले नियन्त्रण गर्छौँ । सरकारको कर छलेर भ्रमण गर्ने पर्यटक पनि उत्तिकै छन् । यसका लागि कानुनमा व्यवस्था गराउन हामी लबिङ गर्नेछौँ । ट्रेकिङको समयमा हुने दुर्घटनाका कारण नेपालको पदमार्ग सम्बन्धी गलत तथ्य बाहिर गइरहेका छन् । जुन पर्यटक सुरक्षाका दृष्टिले पनि राम्रो होइन । भ्याट ट्याक्सको सन्दर्भ अहिले दोहोरो ट्याक्स लगाइएको छ । एउटै रकमलाई दोहोरो आम्दानीका रूपमा बुझेर भ्याट थोपरिएको छ । डाइरेक्ट उनीहरूको खातामा रकम हालिदिएर ट्याक्स भ्याट हटाउनुपर्छ भनेका छौँ, यो जरुरी पनि छ । भ्याट ट्याक्सकै कारणले पदयात्रा प्याकेज महँगो पर्न जान्छ, यस्तोमा मुलुकभित्रको पर्यटनमा ह्रास आउँछ । पर्यटकलाई लिइने शुल्क पनि महँगो भएको छ । त्यसलाई पनि परिमार्जन गर्न जरुरी छ । एकद्वार प्रणालीबाट ट्रेकिङ परमिटको लागू गरिनुपर्छ । अहिले पुरातत्व विभाग, पर्यटन विभागलगायत धेरै ठाँउबाट परमिट लिने र दिने गरिएको छ, त्यसलाई कानुनसम्मत स्थापित व्यावसायीहरूले नै ट्रेकिङ बेच्ने र त्यसको निरीक्षण चाहिँ व्यावसायी र सरकार मिलेर गर्नुपर्ने माग हामीले अघि सारेका छाँै । ३ हजार मिटरभन्दा अग्ला हिमालमा जाँदा अनिवार्य गाइडको व्यावस्था गर्नैपर्ने छ, यसले आम्दानी त बढाउँछ नै सुरक्षाका लागि पनि अत्यावश्यक छ, कानुन नै बनाएर निर्देशिका जारी हुनुपर्छ । विश्वका दर्जनौँ मुलुकको भ्रमण गरिसक्दा नेपालबाट आएकोभन्दा कहाँ छ, त्यो भनेर विदेशीले सोध्ने गर्छन्, हामीमध्ये अधिकांशले चिनाउने ‘द कन्ट्री अफ हिमालय, माउन्ट एभरेष्ट’ भनेर नै हो । तर त्यतिले सबैले नचिन्दा रहेछन्, बाध्य भएर ‘वी सेयर द बोर्डर चाइना एन्ड इन्डिया’ भनेपछि ए भन्ने प्रतिक्रिया दिन्छन् । यसो हुनुका पछाडि हाम्रो मुलुकको प्रचार हुनु जरुरी छ । पर्यटकबाट उठ्ने रकम छुट्टयाएर ‘एडभरटाईजिङ फन्ड’ बनाउन सकिन्छ । यसैबाट विश्वस्तरका सिएनएन, बिबिसी, सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, याहुलगायत सामाजिक सञ्जालमा नेपाल र यसभित्रका पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिन सकिन्छ । यसैगरी, पर्यटकहरूको इन्सुरेन्स नेपाली कम्पनीबाट नै हुनुपर्छ । उपल्लो मुस्ताङ, डोल्पालगायत क्षेत्रमा ट्रेकिङमा कडाइ गरिएको छ । २ जना अनिवार्य हुनुपर्ने व्यवस्था हटाएर एक्लै पनि जान सकिने स्थिति निर्माण हुनुपर्छ । टान र टुरिजम बोर्डको लफडा जुन बेरुजु रकम देखाइएर टानलाई दुःख दिने काम भएको छ, म आफैँ पनि प्रोफेसनल अडिटर्स हुँ, यसअर्थमा बेरुजुका नाममा देखाइएका अवरोधहरूलाई एकएक गरी केलाएर ३ महिनाभित्र टानको खातामा ल्याउने मेरो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । हामी टानमा हुँदा टानलाई नयाँ मार्गमा हिँडाउने प्रयत्न भएकै थियो, अब पनि हुनेछ, अरु थुप्रै एजेन्डाहरू रहेका छन, सबैलाई समयानुकूल रूपमा अघि बढाउनेछु ।
अहिलेको आवश्यकता के हो ?
अहिले धेरै कुराको आवश्यकता सहज र सफल तरिकाले काम गर्न पाउनु पनि अहिलेको आवश्यकता नै हो । ट्रेकिङको क्षेत्र फराकिलो बन्दै गएको छ । आधुनिक युगसँगै डिजिटल प्रविधिसँग प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता खड्किएको पाइन्छ । हरेक कुराहरू अनलाइन प्रणालीमार्फत गरिन्छ । विकसित मुलुकहरू अमेरिका र डेनमार्कजस्ता थुप्रै देशहरूले यसलाई अवलम्बन गरिसकेका छन् । यसैले हामीले व्यावसायलाई टिकाउ र दिर्घकालिन बनाउनका लागि अनलाइन बुकिङ साइटहरूबाट पर्यटकीय गन्तव्यका टुर प्याकेज उनीहरूले बेच्ने र नाफा खाइरहने स्थितिमा सुधार्नु गर्नुपर्ने देखिन्छ । अर्को कुरा टिप्स रकम पाइएन भनेर सतही कुरा गरेर रोइलो गरेर कार्यकाल सिध्याउने अनि सुरुमा भोट दिएका व्यावसायीको गाली खाएर नेतृत्वबाट बिदा हुनुपर्ने अवस्थाका बीच अहिलेका नेतृत्वहरू रहिरहेका छन् । अनलाइन प्रणालीलाई विकास गरेर पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउँदै सेवा प्रदान गर्न हामी केन्द्रित हुनै पर्छ ।
फेरि समूहको कुरा र भागबन्डाअनुसार चल्नैपर्ने होला नी ?
चुनावमा कुनै पनि संगठनमा भागबन्डा लगाएर होस् वा अन्य कुनै कदम उठाएर जित्नै पर्ने प्रण गरिएको हुन्छ । हामीबीच पनि यो चुनौती छ । हामीले समूहको कुरा पनि मान्नै पर्छ । यदि समूहभित्र पनि व्यावसाय नै धरासायी बनाउने कुनै पनि किसिमको काम हुन्छ भने त्यो हामीलाई मान्य हुँदैन । कदापि हामीले पर्यटन व्यावसायीको हक र हितका लागि जस्तोसुकै कदम पनि उठाउन तयार छौँ । विगतमा यस्तै राजनीतिक पार्टीको भागबन्डाका कारण टानमा विकृति आएको हो । अहिले सबै सचेत भइसकेका छन् । बहुमत र अल्पमतको आधारमा गरिने निर्णयभन्दा पनि हरेकको कुरा र समस्यालाई हामीले सम्बोधन गर्ने गरी काम गर्नेछौँ । यसैले एउटा कुरा के ख्याल गर्न जरुरी छ भने टानमा काम गर्न आएका हौँ । सबै कार्यसमितिका सदस्यलाई विश्वासको वातावरण कायम गर्न सक्नुपर्छ । कर्मचारीले टानले उठाएका मुद्धालाई सहज रूपमा लिँदैन । यसैले अब यो प्रवृत्तिको सामना गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *