भ्रष्टाचारी र अपराधीका विरुद्ध सरकारी अभियान

प्रमुख लेख

सिंगापुरमा स्वस्थ्य उपचार गरी नेपाल फर्किनसाथ प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारी र अपराधीविरुद्ध सरकारी अभियान सुरु गर्ने संकेत दिएका थिए । काठमाडौंमा नै थप उपचार गरेपछि प्रधानमन्त्री ओलीले निकै आक्रमक बन्दै फटाफट राष्ट्रिय महत्वका विषयमा निर्णय लिएर लागू गरेका छन् । साबिकका प्रदेश प्रमुखहरु हटाउने र तुरुन्तै सो खाली ठाउँमा नयाँ नियुक्ती पनि गरिहाल्नुले यो कुराको पुष्टी भएको छ । अहिले प्रधानमन्त्री ओली आफ्नो थप उपचार नेपालमै गर्दै छन् र काम नलाग्ने गरी खराब बन्दै गएको आफ्ना दुवै मर्गौलालाई स्वदेशमै या विदेशमा गएर ट्रान्सप्लान्ट गर्ने गराउने योजनामा छन् । उनी आफैँ बिरामी भएर पनि नेपालको भविष्यको चिन्ताले सताएको हुनाले दिनरात खटेर आफ्नो पद र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि प्रभावकारी ढंगले निर्वाह गर्दै छन् । यहि अवधिमा धमिलो पानीमा माछा मारेर खान पल्केका केहि नामी अपराधीहरुलाई पनि तह लगाउने काम सम्पन्न गरिएका छन् ।

महत्वपूर्ण सरकारी राजनीतिक पदमा बसेर पनि अपराधमा संलग्न हुँदै आएका पूर्वमाओबादी नेता कृष्णबहादुर महरालाई जेलमा बन्दी बनाउने काम भएको छ भने चारचोटी सांसदको चुनाव जितेका र चारैचोटी मन्त्री पनि बन्न सफल खुनी अपराधी आलमलाई पनि नख्खु जेलमा कोच्न नेकपा सरकार सफल भएको छ । यसै बीचमा सम्पत्ति शुद्धीकरण आयोगको पनि सक्रियता ह्वात्तै बढेको छ । उनीहरुले लामो कालदेखि बेलगाम मेडिकल शिक्षाका माफियाहरुलाई पनि कडा कारबाही थालेका छन् । मेडिकल शिक्षाको नाममा नेपालमा लामो कालदेखि मेडिकल माफियाहरुले ठगीको धन्दा नेपालमा चलाउँदै आएका छन् ।

तिनै ठग मेडिकल माफियाहरुलाई तह लगाउनका निमित्त डा.गोबिन्द केसीले नेपालमा लामो समयदेखि बारम्बार सत्याग्रह पनि गर्दै आएका छन् । उनको यो सत्याग्रह गर्ने काम हालसम्म पनि चलेकै छ र यो राष्ट्रव्यापी आन्दोलन बन्ने क्रममा अगाडि बढेको देखिन्छ । सत्याग्राही डा.केसीलाई ठूलो जनसमर्थन प्राप्त भएको हुनाले प्रधानमन्त्री ओली स्वयंले उनीसित वार्ता गरी उनका मागहरु पूरा गर्ने सम्झौता गरेका थिए । हाल मेडिकल माफियाहरुका विरुद्ध नेकपा सरकारले थालेको आक्रमक अभियान पनि त्यसैको परिणाम भएको मान्न सकिन्छ । प्रधानमन्त्री ओली ठूला राष्ट्रवादी नेता हुन् भन्ने कुरा मधेस आन्दोलन र भारतीय नाकाबन्दीविरुद्ध उनले खेलेको भूमिकाले ऐनाझैँ छर्लंग पारेको छ । हालैको दिनमा नेपाल भारतको सीमा विवाद पनि चम्केको छ ।

नेपालले १९६२ को भारत र चीनको युद्ध चलेका बखत भारतलाई उपयोग गर्न दिएको नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकको केही भूभाग हालसम्म पनि भारतीय सेनाले खाली गरेको छैन । भारत र चीनको युद्ध सकिएर पनि अहिले मित्रताको युगमा प्रवेश भइसकेको हुनाले भारतले अब नेपालको भूभाग अबिलम्व खाली गर्नुपर्छ सबैले भनेका छन् । प्रधानमन्त्री ओलीले पनि यसै कुरामा जोड गर्दै भारतसित उक्त नेपालको भूभागबाट तुरन्त भारतीय सेना हटाउनका लागि आग्रह गरेका छन् । स्वयं बिरामी भएर पनि प्रधानमन्त्री ओलीले राष्ट्रका धेरै दुष्मनहरुसित एक्कासि लडाइँको मोर्चा खोलेका छन् । राष्ट्रलाई चुस्ने, लुछ्ने र सिध्याउन खोज्नेहरु सबैका विरुद्ध प्रधानमन्त्री ओलीजस्ता राष्ट्रवादी नेता एक्लै पनि काफी छन् र सबै अराष्ट्रिय तत्वहरु सजिलै परास्त हुने छन् भन्ने कुरामा अब कुनै शंका बाँकी छैन । उनका दुष्मनहरुले उनी चाँडै मर्ने सपना देखे पनि त्यो सपना कहिल्यै पूरा हुने छैन । उनी नयाँ मृर्गौला हालेरै भए पनि राष्ट्रका दुष्मनहरुसित लड्न भिड्नका लागि सक्षम बन्ने छन् भने आमनेपाली जनताले सपना देखेका छन् र आमनेपाली जनताको सपना पूरा हुनेमा कुनै शंका छैन ।

प्रधानमन्त्री स्वयं कञ्चन भए पनि साथीभाइको खराब संगतले गर्दा कहिले होलीवाइन र कहिले मार्सी चामलको भात काण्डमा फस्ने गरेका छन् तर अब प्रधानमन्त्री ओली हातको बूढी औँलाझैँ खराब साथीहरुको कुसंगतदेखि अलग्गै बसेर राष्ट्रका लागि काम गर्ने अठोटमा देखिएको छ । यो लेख लेख्दै गर्दा पनि प्रधानमन्त्री ओली धापासीको ग्रान्डी अस्पतालमा डायलाइसिस गर्दै छन् र उनको मेडिकल जानकारीअनुसार उनको दुवै मिर्गौलाले १० प्रतिशतभन्दा पनि कम काम गर्ने अवस्थामा पुगेको भनिएको छ । अब उनको मिर्गौला ट्रान्सप्लान्ट गर्नै पर्ने वा लगातार डायलाइसिस गराउनु पर्ने दुई विकल्प मात्रै बाँकी रहेको विज्ञ डाक्टरहरुले बताएका छन् । यो प्रधानमन्त्री ओलीको मेडिकल उपचारको विकल्प हुन भने नेपालको राजनीतिको विकल्प के हो भन्ने कुराको पनि चर्चा हुन थालेको छ । भ्रष्टाचारी र अपराधीलाई छाड्ने होइन थुन्ने नेताको जरुरी नेपाललाई छ ।

हाल प्रधानमन्त्री ओलीको विकल्पको रुपमा देखिएका नेताहरुमध्ये केही होलीवाइन काण्डका नाइके छन् भने कोही मार्सी चामलको भात काण्डका छन् । उनीहरुले शीर्ष नेता ओलीको बराबरी गर्न सक्ने केहि कतै देखिन्न । प्रधानमन्त्री लोभी परेमा भ्रष्टाचारी र अपराधीहरु सबै छुट्ने छन् र तिनीहरुसितै मिलेर राष्ट्रलाई लुट्नुसम्म लुट्ने छन् भन्ने अनुमान सहजै र सजिलै लगाउन सकिन्छ । एकातिर प्रधानमन्त्री ओलीको नेतृत्वमा हाल कायम रहेको नेकपा सरकार विदेशी लगानीका लागि माग्दै हिँडेको अवस्था छ भने सत्तामै बसेका केही शीर्ष नेताहरुले भने नेपालबाट विदेशमा लगेर लगानी गरेका छन् ।
त्यो लगानी नेपालमा नै गरेको भए विदेशीसित लगानीका लागि नेपालले भिख माग्दै हिँड्नु पर्ने नै थिएन । अष्ट्रेलिया महादेशको शिक्षामा समेत नेपालका शीर्ष नेताहरुले लगानी गर्न भ्याएका छन् तर आफ्नै देशमा भने बिचौलियासित मिलेर राष्ट्रलाई लुट्ने शिवाय अरु केही काम गर्न सकेका छैनन् । यस्ता आफ्नै राष्ट्रमा चोरी गर्ने नेताहरु नेपालको प्रधानमन्त्री बनेमा के मात्र गर्ने छन् भन्ने कुराको अनुमान त्यसै लगाउन सकिन्छ । प्रधानमन्त्री ओलीले धानेको र चलाएको विरासत उनीजस्तै राष्ट्रवादी नेताले मात्र धान्न र चलाउन सक्ने छन् । स्वार्थ बोकेका नेताहरुले अब राष्ट्रलाई डुबाउनेबाहेक अरु राम्रो काम गर्न सक्ने अवस्था नेपालमा छैन । उनीहरुको नेतृत्वमा राजतन्त्र नेपालबाट समाप्त भयो भने नयाँ संघीय राजनीतिक व्यवस्था पनि ल्याइयो तर अब उनीहरुले नै देखाएको लोभको कारणले गर्दा संघीय राजनीतिक व्यवस्थाको विरोधमा पनि नेपाली जनता लागेका छन् । पुरानै राजतन्त्रको समर्थन गर्ने र त्यसको पक्षमा राजनीतिक अभियान चलाउनेहरु पनि प्रशस्तै बढेका छन् ।

शीर्ष नेताहरुले परिकल्पना गरेका संघीय शासन प्रणालीको संरचना महँगो भएका हुनाले दिगो देखिन्न । राष्ट्रको आर्थिक स्रोतले धान्न सक्ने गरी राजनीतिक संरचना बनाउनु पर्नेमा ठूलो आकारको संसद, केन्द्रीय, प्रादेशिक र स्थानीय तहको राजनीतिक संरचना बनाएको हुनाले आर्थिक घोटला र सरकारको सञ्चालन खर्च राष्ट्रको आयस्रोतले थेग्नै नसक्ने गरी बढेको छ । केन्द्रदेखि स्थानीय तहसम्मै भ्रष्टाचारी र अपराधीहरुको सञ्जाल फैलिएको छ । यो कुराको पुष्टी प्रदेशका मन्त्रीहरु फटाफट भ्रष्टाचार र अपराधको काण्डमा बर्खास्त भएबाट पनि हुन्छ । निर्माणको काम गर्ने धेरै ठेकेदारहरु आफ्नो व्यवसायलाई थाती राखेर राजनीतिमा लागेका छन् । उनीहरुले सरकारी कामलाई आफ्नो कमाउ धन्दासित जोडेर चिची पनि पापा पनि एकै साथ खाने अभियान थालेका छन् । यिनै राजनीतिमा लागेका ठेकेदार र व्यापारीहरुले शीर्ष नेताहरुलाई लोभलालचमा परेर फसाउने काम गरेका छन् । शीर्ष नेता प्रचण्डका घरमालिक अहिले सबैभन्दा धेरै चर्चामा छन् । उनले शीर्ष नेताको प्रभावलाई प्रयोग गरी ठूला ठूला सडक निर्माणका ठेक्का हासिल गरेका छन् तर समयमा ठेक्काको काम गर्न नसकेर सबै लथालिंग र भताभुंग बनाएर छाडेका छन् ।

यिनै ठेकेदारले त्यसरी नै मेलम्ची खानेपानी परियोजनाको ठेक्का पनि घर बहालमा बसेका शीर्ष नेताको प्रभावलाई प्रयोग गरी लिन सफल भएका छन् । अब उक्त खानेपानी आयोजनाको काम कस्तो र ठेक्काको अवस्था के होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यो भन्दा पहिले पनि व्यापारी अजयराज सुमार्गीसितको शीर्ष नेताको सम्बन्धलाई लिएर निकै नकरात्मक चर्चा र टीकाटिप्पणी हुने गरेको थियो । अष्ट्रेलियामा एक शिक्षा संस्थामा गरिएको शीर्ष नेताको लगानी यिनै व्यापारी सुमार्गीमार्फत भएको हो भन्ने चर्चा जानकारहरुले गरेको सुनिएको छ । नेपालमा पनि भाटभटेनीको साहु मिनबहादुर गुरुङमार्फत व्यापारमा गरिएको लगानीमा पनि शीर्ष नेताकै नाम जोडिएको छ । यस्तो व्यापारिक स्वार्थ भएको मान्छे राष्ट्रको प्रधानमन्त्री बनेमा बालुवाटार जग्गा काण्डमा मुछिएकाहरुले समेत सफाइ पाउन सक्ने सम्भावना बढ्छ । त्यसैले यस्ता भ्रष्टाचारी र अपराधीहरुलाई तह नलगाएसम्म वा भ्रष्टाचारी र अपराधीहरुका विरुद्ध चलेको सरकारी अभियान सफल नभएसम्मका लागि प्रधानमन्त्री ओलीको उपस्थिति राष्ट्रको राजनीतिका लागि अपरिहार्य भएको महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *