भक्तपुरमा अस्विकार की अन्तर्घात

प्रमुख राजनीति वाग्मती प्रदेश

काठमाडौं । भक्तपुर १ ‘क’मा सम्पन्न भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्टका उम्मेदवार देवीप्रसाद (डिपी) ढकाललाई २ हजार २ सय ४३ मत अन्तरले पछाडि पार्दै नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार भडेलले १३ हजार ४ सय ४९ मत पाउँद प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरेका थिए । दुई वर्षअगाडि सम्पन्न भएको निर्वाचनमा नेकपाका उम्मेदवार हरिशरण लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई लगभग ३ हजार मत अन्तरले पराजित गरेका थिए । दुई वर्ष पछाडि भएको यो उपनिर्वाचनमा नेकपा उम्मेदवार लगभग २ हजार २ सय मत अन्तरले पराजित हुनुको कारण नेपाल कम्युनिस्ट पार्टीको सरकारको कार्यशैलीबाट मतदाता असन्तुष्ट भएर तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भूमिकाबाट सन्तुष्ट भएर भएको हो भन्ने अवस्था छैन ।

नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार डिपी ढकाल पराजित हुनुको प्रमुख कारण कम्युनिस्ट पार्टीप्रति नै जनताको आकर्षण घट्न थालेको अथवा पार्टीभित्रको अन्तर्घात रहेको विश्लेषण भएको छ । भक्तपुरमा शक्तिशाली रहेको नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निरज लवजुले पनि अघिल्लो निर्वाचनमा भन्दा यो उपनिर्वाचनमा एक हजार एक सय बाह्र मत कम पाउनुले यो निर्वाचन क्षेत्रमा कम्युनिस्टप्रति नै जनताको आकर्षण घट्न थालेको रुपमा समेत विश्लेषण गर्न थालिएको छ । यसैगरी ढकाल पराजित हुनुको अर्को प्रमुख कारण अन्तर्घात पनि हुन सक्ने देखिएको छ । अघिल्लो निर्वाचन नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेर लडेका थिए । तालमेलको क्रममा यो निर्वाचन क्षेत्र तत्कालीन नेकपा एमालेको भागमा परेको थियो र नेकपा एमालेले हरिशरण लामिछानेलाई भक्तपुर १ ‘क’को उम्मेदवार बनाएको थियो । यो उम्मेदवारीका विरुद्धमा तत्कालीन नेकपा माओवादीका कार्यकर्ता डिपी ढकालले उम्मेदवारी दिएका थिए । यसरी दुई वर्ष अगाडि सम्पन्न भएको निर्वाचनमा विद्रोही उम्मेदवारी दिएका ढकाललाई नै यो पटक पार्टीले आधिकारिक उम्मेदवार बनाएको विरुद्धमा नेकपाको साविक एमाले कित्तामा ठूलो असन्तुष्टि जन्मिएको थियो र ढकालको उम्मेदवारीका विरुद्धमा दुई दिनसम्म भक्तपुरस्थित नेकपा कार्यालयमा तालबन्दी गरिएको थियो । यो पृष्ठभूमिमा साविक एमाले कार्यकर्ताले अन्रर्घात नगरे पनि सहयोग नगरेको कारणले गर्दा डिपी ढकाल पराजित भएको विश्लेषण भक्तपुरको राजनीतिमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *