समृद्धिका लागि कृषि अभियानमा दोलखा

प्रमुख लेख

एउटा कप वा थाल वा भाँडो वर्षौँ टिक्न सक्छ तर त्यसमा राखेर खाने चिज सधैँ नयाँ हुन्छ । त्यसैले सधैँ ताजा वा नयाँ नयाँ चाहिने सामग्री केन्द्रित व्यवसायले मात्र व्यक्ति, समाज र राष्ट्रलाई योगदान दिन सक्छ ।

हरेक मान्छेले हरेकदिन प्रयोग गर्ने पदार्थ भनेको कृषि उपज नै हो । आधुनिक उद्योगहरूवाट उत्पादित गैरखाद्य सामग्री नभए पनि केही समय जिन्दगी चल्छ तर कृषि उपज नभई हाम्रो जीवन कल्पना गर्न सकिन्न । सबैले स्वीकार गरेको विषय हो । तर पनि यस व्यवसायले सम्मान पाउन सकेको छैन । पछिल्लो अवधिमा कृषिमा व्यवसायिकतामा केही लहर चल्न थालेको छ । समग्रतामा कृषिलाई व्यवसायिकताको कुनै विकल्प छैन । अहिले कृषि भएका प्रयासलाई संस्थागत तथा बढोत्तरी गर्न आवश्यक छ । कृषि व्यवसायमा लाग्नेहरूको प्रयास प्रशंसा गर्न लायक देखिन्छ । नेपाल सरकारले कृषि क्षेत्रलाई व्यवसायिकताका लागि विभिन्न प्रयास भइरहेका छन् । विगतमा सञ्चालन गरेका परियोजनाहरूको त्यत्ति धेरै उपलव्धी नदेखिएको चर्चा छ । पछिल्लो समयमा ठाउँको अवस्थिति र सम्भावना अनुसार जोन, पकेट क्षेत्रसमेत घोषणा गरी काम थालनी भइरहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नाम दिइएको यो परियोजनाबाट कृषि क्षेत्रमा व्यवसायीकरण भई र उत्पादकत्व वृद्धि हुने, आयात प्रतिस्थापन हुने अपेक्षासमेत लिइएको छ । सरकारी पहलको अलावा समुदाय स्तरबाट पनि विभिन्न पहलहरू भएका छन् । दोलखाको भीमेश्वर नगरपालिका कार्य क्षेत्र भएको एक कृषि सहकारी संस्थाले कृषिमा व्यवसायीकरणका सम्वन्धमा गर्न थालेको एक प्रयास यहाँ चर्चा गरिएको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरापलिका वडा नं. ६ कार्यालय रहेको पौरखी कृषि सहकारी संस्थाले आफ्ना कृषि क्षेत्रमा क्रियाशिल कृषकको पक्षपोषणका लागि सामूहिक पहल थालेको छ । सहकारीले कृषि प्रवद्र्धन उपसमिति गठन गरेको छ । सो उपसमिति कृषि पेसामा प्रत्यक्ष संलग्नहरूको समेत प्रतिनिधित्व रहेको छ । सो उपसमितिले यस सहकारीमा आवद्ध रहेकामध्ये केही अगुवा कृषकहरूसँगको अन्तक्र्रियात्मक बैठक गरेको छ । कृषकहरूले उत्पादन गर्ने गरेको कृषि उपजको सूची तयार गरिएको थियो । व्यवसायिक रूपमा अर्थात बजार लगी बिक्री गर्ने गरेका मुख्य प्रजातिका २३ वटा भएको सूची तयार भयो । कृषकले गरिरहेको कामममा थप प्रवद्र्धन गर्न के कामको खाँचो भन्ने विषयमा अन्तक्र्रिया गरियो । यसबाट कृषकले भोगेको समस्याहरू पहिचान भएको थियो । जुन सहकारीले सहयोग गर्नुपर्ने क्षेत्रको रूपमा पहिचान गरियो । यस अन्तक्र्रिया कार्यक्रममा सहकारीको सञ्चालक समितिका अध्यक्षलगायत पदाधिकारी, कृषि उपसमिति र अगुवा कृषक जो सहकारीको सेयर सदस्यहरू समेतका सहभागिता रहेका थिए । अन्तक्र्रियामा कृषकका अनुभवहरू रोचक थिए । एक महिलाले भनिन्, ‘कृषि उपजलाई बिक्री गर्न भनी नजिकैको बजार सातदोबाटोमा लग्यो, कुरी बस्यो कुनै बेला बिक्री हुन्छ, कहिलेकाहीँ हुन्न, कि त साह्रै सस्तोमा दिनु प¥यो कि फिर्ता ल्याउनु पर्ने बाध्यता छ ।’ यसको अर्थ बजारको सुनिश्चितता छैन, कृषकले उत्पादन गर्नमा समयमा अन्यत्र लाग्नु पर्ने वाध्यता छ । कृषकले कृषि उत्पादनमा मात्र केन्द्रित गराउनु प्रमुख आवश्यकता देखियो । अर्का महिला कृषकले भनिन्, ‘काउलीको बिउ ९ पटक ल्याउँदा पनि फूलेन, मलाई बिउले हैरान पारिसक्यो, लौ न सहकारीले बिउ बिजनमा सहयोग गर्नु प¥यो ।’ सहकारीले कार्य दायरामा बिउबिजनको प्रबन्ध गर्नु पर्ने देखियो । यसैगरी प्राविधिक सेवाको खाँचो देखियो । सबै किसानले आफूलाई उत्पादनमा केन्द्रित हुन चाहना रहेको पाइयो । यस छलफलबाट सूचीकृत गरिएका २३ वटा व्यवसायिक कृषि प्रजातिमध्ये चाहना स्तरीकरणका आधारमा सबैभन्दा पहिलो छनोटमा साग प¥यो । दोस्रोमा दूध, तेस्रोमा अकबरे खुर्सानी र खसीको मासु छनोट भयो । यो छनोटका लागि केही सूचक निर्धारण गरिएको थियो । थोरै लगानी लाग्ने, रोग किरा कम लाग्ने, विषादी हाल्न नपर्ने, हरेकको भान्सामा हरेक छाक प्रवेश गर्ने (लोकप्रिय), सजिलै बिक्री हुने, बाँदरलगायत बाह्यबाट नोक्सानी कम हुने जस्ता आधार सूचक सामूहिक छलफलबाट निर्धारण गरिएको थियो ।

यो छलफलको आधारमा सहकारीले एकै छानोवाट कृषकहरूको समस्या सम्बोधनको पहल थालेको छ । चरिकोटको सातदोबाटो आसपासमा कृषि उपज व्यवस्थापन केन्द्र बनाउने अवधारणा अगाडि सारेको छ । कृषकहरूको प्रमुख जिम्मेवारी कृषि उपज उत्पादन गर्नु हो । कता लगेर वेच्ने तनाब कृषकलाई नदिने, कृषकलाई चाहिने सबै सेवा प्रवाह गर्न सहकारीले मिलाउन पहल गर्ने अठोटका साथ काम थालनी भएको छ ।
कृषकलाई उत्पादनका लागि ऋण आवश्यक परेमा सहकारीले सहज प्रक्रियबाट उपलब्ध गराउने, कृषकको उत्पादन सकेसम्म टोलस्तरबाट नै संकलनको व्यवस्था सहकारीले गर्ने, सो उपजलाई व्यवस्थापनलाई बिक्री केन्द्र सञ्चालन गर्ने, सो स्थानबाटै बिउ बिजन, मलखाद र प्राविधिक सेवासमेत उपलब्ध गराउने सोच विकास गरिएको छ । यसबाट कृषकले आफूलाई उत्पादनमा मात्र केन्द्रित गराउने अवस्था सिर्जना हुनेछ । कृषिमा व्यवसायीकरण हुन जान्छ । उत्पादनमा वृद्धि हुन्छ । आसपासमा बिक्री नभएको कृषि उपज राजधानी काठमाडौं वा आवश्यक परेमा विदेशी बजारमा समेत लैजान सक्ने सम्भावना रहेको छ । यस अघि नै दोलखाबाट अकबरे खुर्सानी कतार निकासी गरेको अनुभवसमेत हासिल भइसकेको छ । आवश्यक परेमा कृषि उपजको प्रशोधन गर्नु पर्ने पनि हुन सक्छ ।

नेपालको तरकारीजन्य वस्तुहरू विदेश निकासी भइरहेको छ । नेपालभित्र पनि तरकारी खपतको अवस्था राम्रो रहेको छ । अहिले पनि प्याजको भाउ बढ्यो भनी रोइलो भइरहेको छ । उत्पादक कृषकको उपजले बजार पाउन नसकेको यथार्थ पनि पक्कै हो । किसानले सामान उत्पादन गर्ने की बजारमा भौतारिँदै हिँड्ने ? बिक्री हुँदैन निरासा बढ्छ नै । बजारको ग्यारेन्टी गर्न सकेमा उत्पादन पक्कै बढ्न जान्छ । त्यसैगरी खेतबारीमा काम गर्ने की गुणस्तर बिउ कता होला भन्दै खोज्दै हिँड्ने ? पाएको बिउ पनि गरिमा धानको हालतजस्तो धेरैमा भएको पाइन्छ । बिउ राम्रो छ भन्ने ग्यारेन्टी कसरी गर्ने ? सरकारी पहल हरेक कृषि बालीको बिमा गर्ने भन्ने छ तर जिल्ला जिल्ला जिम्मा पाएको कम्पनीले त्यसमा चासो देखाउँदैनन् । यी सबै कुरामा पहल गर्नका लागि पौरखी कृषि सहकारीले सामूहिक पहल गर्दै छ । यसमा स्थानीय सरकारको पनि महत्वपूर्ण सहयोग र सहकार्यको आवश्यकता पर्दछ । आसा छ, पौरखी सहकारीको महत्वकांक्षी तर अति जरुरी अवधारणा छिट्टै लागू गर्न सकोस् । तब नेपालमा नयाँ नमूना हुन सक्छ यो अभ्यास । अहिलेसम्म सहकारीले हाट बजार बनाएर कृषकले आफ्नो उपज बेच्ने ठाउँ बनाएको चाहिँ जानकारीमा छ तर कृषकको सबै उपज किनिदिने, आवश्यक पर्दा सहुलियत ऋण दिने, कृषकलाई चाहिने बिउबिजन, प्राविधिक सेवा, उपकरण, बिमासँग समन्वयसमेतको काम एकै थलोबाट प्रवाह हुने काम देख्न पाइएको छैन । यसमा सफलता मिलोस् शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *