पूर्वाधार विकासको निष्क्रिय लगानी राष्ट्रका लागि खतरा

प्रमुख लेख विविध समाचार

नेपाल राष्ट्र अहिले भ्रष्टाचारी र अपराधीहरुको चंगुलमा नराम्रोसित फसेको छ । उनीहरुले राष्ट्रलाई दुहुनो गाई बनाएका छन् भने लोभी नेताहरुलाई आफ्नो गुलाम बनाएका छन् । नेपाली जनता अहिले दोहोरो तेहोरो मारमा परेका छन् । केन्द्रदेखि स्थानीय तहसम्म फैलिएको भ्रष्टाचारी र अपराधीहरुको सञ्जालले राष्ट्रलाई चुस्नु चुसेका छन् भने आमजनतालाई केन्द्रबाट राष्ट्रको ऋणको भारी र स्थानीय तहबाट करको भारी मात्रै बढाउने र बोकाउने कामहरु भएका छन् । सोचविचारै राम्रोञसित नगरी बनाउन थालिएको पूर्वाधार विकासहरुमा राष्ट्रले ऋण काढेर गरेको सबै लगानी निष्क्रिय भएर बसेका छन् र बनाउन थालिएको पूर्वाधारहरु समयमा पूरा गर्न नसक्दा उद्देश्यअनुसार परियोजनाबाट प्राप्त हुन्छ भनिएको लाभ राष्ट्रले कहिँ कतैबाट अहिलेसम्म पाउन सकेको छैन । राष्ट्रिय गौरवको परियोजना भनिएको मेलम्ची खानेपानी परियोजनामा ३५ अर्ब, सिक्टा सिंचाइ परियोजनामा १५ अर्ब, बबई भेरी डाइभर्सन परियोजनामा ११ अर्ब राष्ट्रले ऋण काढेर गरिएको लगानी निष्क्रिय भएर बसेको छ । उता सिंचाइ गर्ने भनिएको कमान्ड एरियामा भने मानव बस्ती बढेको बढेकै छ । त्यसै क्षेत्रमा सडक मार्ग र रेल मार्गको विकास भटाभट गर्ने परियोजनाहरु बनाइएका छन् र सोही अनुसार मानव बस्ती दिनानुदिन तराईमा बढेको बढेकै छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पनि एशियाली विकास बैंक सित ऋण काढेर ठूलो लगानी भइरहेको छ तर भारतबाट उडानको अनुमति लिन नसक्दा तुरुन्तै व्यवसायिक उडान नहुने देखिएको छ । त्यस्तै पोखरामा विदेशीकै ऋणमा बनाइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि व्यवसायिक उडान गर्नका लागि वरिपरिका केहि पहाडको टुप्पो २० मिटर उचाइँसम्म काट्नु पर्ने भनिएको छ । यदि वरिपरिको पहाडलाई ताछ्न सकिएन भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला व्यवसायिक विमानहरुले उडान भर्न सक्ने छैन र राष्ट्रले अहिलेसम्म विदेशीसित ऋण काढेर गरेको लगानी खेर जाने संभावना छ । त्यसैले नेपालजस्तो ऋण काढेर पूर्वाधार विकासमा लगानी गर्ने मुलुकले परियोजनाहरु तयार पार्दा राम्रोसित अध्ययन र अनुसन्धान गरेको हुनुपर्छ त्यसमा कुनै खर्च लाग्दैन । बिहे गर्नको हतारले केटी माग्न बिर्सियो भनेजस्तो बहानाबाजीले राष्ट्रलाई ठूलो घाटा हुन्छ र लगानीको ठूलो हिस्सा भ्रष्टाचारी र आर्थिक अपराधीहरुले हजम पार्न सक्छन्् । नेपाल अहिले सुशासन र अनुशासन केहि नभएको बेइमानहरुले भरिएको मुलुक मानिन्छ । धमिलो पानीमा माछा मार्न पल्केका विदेशी बैंकहरुले अनुदानको लोभ देखाउँदै नेपालका विवेकबुद्धि कम भएका नेताहरु र लोभी निजामति कर्मचारीहरुलाई कमिसन खुवाएर राष्ट्रिय ऋण बोकाउने काम गर्दै आएका छन् । नेपालका घुसखोरी इन्जिनियरहरुले तयार पारेका परियोजनाहरुलाई राम्रोसित नकेलाई त्यसैअनुसार विकास गर्दै जाने हो भने नेपाल राष्ट्र एक दिन विकास पूर्वाधारका खण्डहरमा परिणत हुने संभावना देखिन्छ । ढिलो गरी बनेको विकास पूर्वाधारले भ्रष्टाचारी र आर्थिक अपराधीहरु मोटाउँछन् भने राष्ट्रलाई कंगाल बनाउने छ । विदेशी बैंकहरु र अन्य विदेशी डोनरहरुले तयार पारेका परियोजनाहरुले पनि विदेशीको व्यापार बढाउने तर नेपाललाई भने उपभोक्ता मुलुक बनाउने खालका हुने भएकाले त्यस्ता परियोजनाहरु आँखा चिम्लेर स्वीकार गर्ने काम राष्ट्रघाती नै हुन्छ । यसप्रकारले राष्ट्रघात गरी निजी फाइदा लिने नेताहरु र निजामति कर्मचारीहरु नेपालमा धेरै सक्रिय छन् । राष्ट्रघात गरी आर्जन गरेको पैसा उनीहरुले हुन्डीमार्फत पुनः विदेशी डोनरकै मुलुकमा लगेर सुरक्षासित राख्ने गरेका छन् । पछिल्लो समयमा नेपालका ठूलै नेताहरुले पनि नेपालमा असुरक्षित महसुस गरेकाले हो अथवा के ले हो, विदेशमा व्यापारी दलालहरु मार्फत पैसा पार गरी त्यतै लगानी गर्ने वा बैंकमा थन्काउने गरेका छन् । अमेरिकालगायत पश्चिमी राष्ट्रहरुमा आर्थिक मन्दी बढ्ने संभावना भएकाले त्यसको काउन्टर गर्नका लागि नेपालजस्ता गरिब मुलुकका भ्रष्टाचारी र अपराधीहरुलाई भित्रभित्रै उनीहरुको मुलुकमा बसाइँ सार्ने र पैसा लगेर थन्काउने कार्यहरुलाई प्रोत्साहन गरिरहेका छन् । नेपाललाई आर्थिक सहयोग गरेकोजस्तो गर्दै आफ्नो मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउने खेलमा पश्चिमका शक्ति राष्ट्रहरु लागेका छन् । विदेशी मुलुकले उनीहरुलाई काम नलाग्ने दोस्रो दर्जाका प्रविधि र उपकरणहरु नेपालजस्तो गरिब राष्ट्रमा निःशुल्क डम्पिङ गर्ने गरेका छन् । नेपालजस्ता गरिब मुलुकका नेताहरु र निजामति कर्मचारीहरु सस्तोमा नै उनीहरुको दलाल बन्न राजी हुने भएकाले र सजिलै राष्ट्रघात गर्न तयार हुने कुरा विदेशीलाई राम्रैसित ज्ञान छ । नेपालका सांसद र स्थानीय जनप्रतिनिधिहरु विदेश घुम्न भनेपछि भुतुक्कै हुन्छन् र सोही कुराको लाभ उठाउँदै विदेशीहरुले नेपालमा आफ्नो सञ्जाल बिस्तार गर्दै लान सफल भएका छन् । नेपालका सांसद र जनप्रतिनिधिहरु थोरै र सस्तैमा विदेशीको गुलाम बन्न हमेसा तायर रहन्छन् । त्यसैले यस्ता नेताहरु र जनप्रतिनिधिहरुको भरमा नेपालको विकास होइन विनास मात्रै हुने ऐना झै छर्लंगै भइसकेको छ । केन्द्रबाट सिंहदरबार गाउँगाउँमा नपुगे पनि भ्रष्टाचार भने अब गाउँगाउँमा पुगिसकेको छ । राष्ट्रको बजेट खाने मुखहरु धेरै भएका छन् भने बजेटको सदुपयोग गर्ने हातहरु भने कम हुँदै गएका छन् । राष्ट्रको आर्थिक स्रोतहरु कम छन् त्यसैले ऋण काढेरै विकास गर्नुपर्ने र कमाएर खानु पर्ने अवस्था अहिले राष्ट्रमा विद्धमान छन् । यो कुराको बुझपचाउँदै राष्ट्रलाई लुट्दै जाने हो भने अहिलेको संघीय व्यवस्था असफल हुन केहि बेर पनि लाग्ने छैन । राष्ट्रका नेताहरुले नेपालको आर्थिक क्षमताको ख्याल नै नगरी ठूलो र महँगो राजनीतिक संरचना खडा गरेका छन् । उक्त अजंगको राजनीतिक संरचनाले अब आफ्नै शरीर पनि धान्न नसक्ने अवस्था नेपालमा आउने देखिएको छ । धेरै सांसदहरु र धेरै जनप्रतिनिधिहरु परजीवी भएकाले भाले मौरी समान भएका छन् । उनीहरु महको वरिपरि मात्रै घुम्छन् तर कर्मी मौरीजस्तो मह कसरी बनाउने र बढाउने भन्ने कुरा जान्दैनन् । यस्ता नेताहरु र जनप्रतिनिधिहरुबाट अब नेपालमा केही पुरुषार्थी काम हुन सक्दैन । राष्ट्रले ऋण काढेको मह चुस्दै बसेका छन् र एक दिन सोही महमा डुबेर उनीहरु मर्ने दिन पनि चाँडै आउने देखिन्छ । नेपाली जनताको सरकारले मनपरी हिसाबले लगाएको करको भारी बोक्न सक्ने क्षमता छैन । राष्ट्रिय ऋणको भारी बोक्ने क्षमता पनि क्षण भएर गएको छ । उता विदेशीको भरमा चल्ने बजारमा खानापिना र सामानको महँगी पनि थेग्नै नसक्ने गरी बढेको छ । नेपाली बजारको मूल्य तोक्ने काम अब नेपाल सरकारले होइन, विदेशीको हातमा गएको छ । भर्खरै प्याजको मूल्य कसरी आकासिएको थियो र त्यसलाई रोक्न नेपाल सरकार किन असफल भयो भन्ने कुरा प्रष्ट नै छ । नेपालीको समृद्धि र सुखी बन्ने सपना गणतन्त्रले पूरा गर्ने छ भन्ने सबैलाई लागेको थियो तर त्यस्तो हुन सकेन । गणतन्त्रमा विदेशीले झनै नेपालको विकास र राजनीतिमा चलखेल गर्ने अवसर पाएका छन् । उनीहरुले नेपालको विकास होइन विनास गर्दै छन् भने नेपालका नेताहरु र निजामति कर्मचारीहरु उनीहरुकै मतियार भएका छन् । नेपालमा हाल कायम रहेको गणतान्त्रिक व्यवस्थाले राजतन्त्रको भन्दा ज्यादा राम्रो काम गर्ने कुरा त परै जाओस्, बराबरी पनि गर्न सकिरहेको छैन । नेपालका राजनेताहरुले ख्याल गर्नु पर्ने कुरा के छ भने राजतन्त्र फाल्नका लागि नेपाली जनतालाई धेरै वर्ष लागेको थियो भने अहिलेको व्यवस्थालाई फाल्न कुनै बेर लाग्ने छैन । त्यसैले जथाभावी जनतामाथि कर लगाउने र राष्ट्रिय ऋण लिने काम नगर्दा राम्रो हुन्छ । आखिर प्वाल परेको पानीजहाज चढेर नेपाली जनता कहिलेसम्म पानीमाथि यात्रा गर्न सक्छन् रु त्यो चाँडै डुब्ने भएकाले त्यसलाई त्यागेर अर्को प्वाल टालेको वा प्वाल नपरेको नयाँ पानीजहाज चढ्न नेपाली जनतालाई बाध्य पार्नु मनासिव छैन । सार्वभौम जनता हुन भने उनीहरुभित्र नेता र व्यवस्था बदल्ने पूरा अधिकार अन्तर्निहित छन् । त्यसैले जनतालाई हेप्ने पेल्ने र आफ्नो स्वार्थ पूरा गर्ने राजनीतिक व्यवस्था अलोकप्रिय हुँदै छ र सत्तामा बसेका नेताहरुले समय नघर्की आफूलाई र राजनीतिक व्यवस्थालाई सुधार्ने काम गर्नु जरुरी भएको छ । पूर्वाधार विकास समृद्ध नेपाल र सुखी नेपालीका लागि साधन मात्रै हो र साध्य होइन त्यसैले यसलाई उपयोग गर्दै राष्ट्रको औद्यौगिकीकरण गर्नतिर राजनेताहरुले ध्यान दिन सकेन भने अवश्य नै उनीहरु नेपाली जनताको कोपभजनको सिकार बन्ने निश्चित छ । नेपाली जनतालाई भेडाबाख्रा ठान्ने भुल नेताहरुले गर्नु हुन्न र उनीहरुलाई जसरी पनि सधैँ चुनावमा उल्लु बनाएर चुनाव जितिन्छ भन्ने पनि ठान्नु हुँदैन । बोट बिरुवाको सम्बन्ध जसरी माटोसित हुन्छ त्यस्तै सम्बन्ध नेताहरुको जनतासित रहनु पर्छ । जनतासित जोडिएर नबस्ने नेताहरु माटोबाट अलग भएको बोटबिरुवाको जस्तै हालतमा चाँडै पुग्न सक्छन्् । त्यसैले मितव्ययी राजनीतिक संरचना बनाउनेतिर राजनेताहरुले ध्यान दिनै पर्ने भएको महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *