नयाँ भिजनका साथ फरक काम गर्ने योजनामा छौँ

अन्तरवार्ता पर्यटन बिबिध वाग्मती प्रदेश

 

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को हालै सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । यसले नयाँ र फरक काम गर्ने, व्यवसायीको हक, हित तथा ट्राभल क्षेत्रको स्तरोन्नतिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । मुलुकमा नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ, यतिबेला । यसलाई सफल पार्नका लागि नयाँ नेतृत्वले कसरी काम गर्छ ? र, चुनौतीहरु के कस्ता छन् ? लगायत विषयमा आधारित रहेर तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल.बी. विश्वकर्माले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्यूत गुरागाईंसँग गरेको कुराकानीको सम्पादित अंशः
० भर्खरै सम्पन्न निर्वाचनबाट नाट्टाको नेतृत्तव सम्हाल्ने जिम्मेवारी पाउनु भएको छ । के के छन् योजना ?
एजेन्डाहरु थुप्रै छन् । मुलुक समृद्धिको दिशामा अगाडि बढिरहेको छ । यो अभियानलाई सार्थकता तुल्याउनका लागि हामीले ट्राभल क्षेत्रबाट धेरै सहयोग गर्न सक्छौँ । यसैगरी भ्रमण वर्ष सुरु भएको छ । यसमा पनि हामीले सक्दो सहयोग गर्नेछौँ । मुख्यगरी अहिले व्यवसायीहरुको आन्तरिक प्रतिष्पर्धाले निम्त्याएको खतरा नै चुनौतीपूर्ण छ । यस कारण व्यवसायीहरुमा अहिले एक अर्काको कुरा नटेर्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ । यसैलै नाट्टामा आबद्ध सबै व्यवसायीलाई एकीकृत बनाएर लैजाने योजनालाई मैले पहिलो एजेन्डा बनाएको छु । यस्तै, यस संस्थालाई सबै व्यावसायीहरुको साझा मञ्च बनाउनु पर्ने देखिन्छ । यसलाई एउटै पाटोबाट भन्दा पनि पर्यटन व्यवसायीहरुकै बीचमा एकता गर्न यो खालको वातावरण बनाएर अगाडि बढ्नु पर्ने देखिन्छ । अहिले सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेको छ । यसलाई घनीभूतरुपमा सफल र साकार पार्ने जिम्मेवारी हाम्रै काँधमा छ । हामीले पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डको सम्बन्धलाई जीवन्त राख्नका लागि पनि पहल गर्नेछौँ । पर्यटन व्यवसायी, संघीय सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र प्रदेश पर्यटन मन्त्रालयको बीचमा समन्वय गरी पर्यटनमैत्री ऐन बनाएर ऐतिहासिक वातावरण बनाउन पहल गर्ने र यस क्षेत्रका लागि आवश्यक कानुन निर्माण गरेर व्यवसायीको हितमा अधिकतम् काम गर्दै उद्योगको रुपमा यो क्षेत्रको विकास गर्ने योजना हामीले बनाएका छौँ । सरकारले मात्रै गरेर मुलुकमा विकास हुँदैन । यसका हरेक नागरिकको साथ अत्यावश्यक छ । यसैले पर्यटन बोर्डसंग मिलेर काम गर्ने र यो क्षेत्रको उन्नति र प्रगतिका साथ अगाडि बढन प्रेरणादायी भूमिकामा खेल्ने भिजन हामीले लिएका छौँ । अहिले पर्यटकको आगमन बढाउनका यहाँ आउने पर्यटकका लागि फ्रि टिकट र अन्य सोही खालका सुविधा दिने व्यवस्था सरकारले गरोस् भन्ने चाहना राखेका छौँ । यी प्रस्ताव सरकार समक्ष पु¥याएर पास गराउने हाम्रो भिजन मात्र होइन चुनावी एजेन्डा पनि हो ।
० भ्रमण वर्ष सफल पार्न तपाईको भूमिका कस्तो रहनेछ ?
मैले धेरै कुराहरु माथि नै भनिसकेको छु । भ्रमण वर्षलाई सघाउन सरकारले सहयोग गर्नै पर्छ । यसैले सरकारसंगको समन्वयन नै पहिलो पाटो हो । निजी क्षेत्रको तुलनामा कुरा गर्दा, अहिले होटलहरुले डिस्काउन्ट अफर दिइएकै छन् । ट्राभलको क्षेत्रमा पनि विभिन्न टुर कम्पनीहरुले आ–आफ्नो क्षेत्रबाट सघाएकै छन् । आकर्षक अफरहरु घोषणा गरिइएका छन् । भ्रमण वर्षलाई लक्षित गरेर व्यवसायीहरुले १० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । यसैगरी, कूटनीतिक सम्बन्ध राम्रो भएका देशका नागरिकलाई भिसा फ्रि गरेर पठाउनुपर्ने हाम्रो माग छ । यसका लागि सरकारले उचित व्यवस्था र सोही किसिमको वातावरण सिर्जना गरिदिनु पर्ने हुन्छ । विगतमा पनि मैले सरकारसंग अनौपचारिक रुपमा कुराकानी गरेको थिएँ । अहिले नेतृत्वमा पुगेका छौँ । हामीलाई व्यवसायी साथीहरुले पत्याउनु भएको छ । उहाँको भरोसा हामी टुट्न दिने छैनौँ ।


० पर्यटन बोर्डले के भनेको छ ?
पर्यटन बोर्ड आफैँ जानकार छ, कि सरकारी तहमा भन्दा निजी क्षेत्रकै कारण पर्यटकहरु बढेका हुन् । अहिलेकै आँकडालाई हेर्नुस्, प्राइभेट सेक्टरले नै पर्यटन क्षेत्र धानिरहेको छ । सरकारले भन्दा पनि हामीले पर्यटन क्षेत्रलाई उत्साहपूर्णढंगले विकास गरिरहेका छौँ । यो भुल्न हुँदैन । सरकारले प्राइभेट सेक्टरको यो भूमिकालाई अझ बढी बलियो बनाउन जरुरी छ । निजी क्षेत्रको भूमिकलाई कदर गर्न सकिएन भने यसले देशलाई नै खतरामा पार्न सक्छ । यतिले मात्रै पनि सम्भव भने पक्कै छैन । पर्यटन बोर्ड आफैँ पनि सचेत हुनुपर्छ । भ्रमण वर्ष सफल पार्नका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा विज्ञापन पनि गर्नुप¥यो । हामीले यसमा पनि सरकारलाई सक्दो सहयोग गर्न तयार छौँ । तर, सरकारले अरु देशहरुको पनि सिक्नुपर्छ । हाल नेपाललाई इन्डोनोनिसिया र सिंगापुरलगायत देशहरुले एराइभल भिसा दिइरहेका छन् । जुन फ्रि भिसा हो । मैले भर्खरै इन्डोनोसिया जाने अवसर पाएको थिएँ । त्यस क्रममा सोही देशको राजधानी बालीका पर्यटन क्षेत्रहरुबारे अध्ययन र अवलोकन गर्ने मौका मिल्यो । त्यहाँ जाने विभिन्न पर्यटकलाई आकर्षित पार्न उनीहरुले धेरै मुलुकलाई आरायभल भिसा दिँदा रहेछन् । त्यसले धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिने उनीहरुको भनाइ छ । नेपाल सरकारले पनि यस्ता फरक खालका नयाँ अफर र योजनाहरु ल्याउनु पर्दछ । र, पर्यटकलाई आकर्षित पार्न सक्नुपर्दछ ।
० निजी क्षेत्रलाई कसरी सहयोग गर्न सक्छ, सरकार ?
निजी क्षेत्रलाई सहयोग गर्ने थुप्रै आधारहरु छन् । सरकारले लगानीका लागि सहज रुपमा ऋण पाउने व्यवस्था गरिदिनु पर्छ । पहिले ऋण नै भएन भने कसरी व्यवसाय गर्ने रु मुलुकमा सम्पन्न परिवारबाट व्यवसायमा आएका व्यवसायीहरुको संख्या कमै छ । यसैगरी, व्यवसायी अनुकूल र लगानी अनुकूल नीति नियमहरु बनाउनु प¥यो । धेरै ठूला समस्याहरु छैनन् । सामान्य समस्याहरु छन् । अहिले स्थानीय तहको करले गर्दा कठिन भइरहेको छ । एकै स्थानमा स्थानीय सरकार र केन्द्र सरकारलाई फरक फरक कर तिर्नुपर्छ । यसलाई व्यवस्थापन गरिनु पर्दछ । हामीलाई जति धेरै पर्यटक भित्रिन्छन् । उत्तिकै फाइदा पुग्छ । यसैले ट्राभल एजेन्सीहरुले आफुनो स्थानबाट गरिरहेकै छन् । हाम्रो पेसा नै यही भएकाले नगर्ने भन्ने त कुरै आउँदैन । साथसाथै पर्यटक घुमाउनका लागि पनि नयाँ–नयाँ ठाउँको बारेमा पनि अध्ययन गर्ने काम जारी छ । पुराना गन्तव्यमा पनि पूर्वाधार विकास गरेर सुधार गर्दै लैजान सक्नु पर्दछ, जुन अहिलेको आवश्यता हो ।
० व्ययवसायी बढी नाफामुखी हु“दा कठिनाइ हुने गरेको आरोप छ, के भन्नु हुन्छ ?
पक्कै पनि हो, व्यवसाय गरेपछि घाटा कसैले रुचाउँदैन । सबैले नाफा कमाउन चाहन्छन्, यो स्वाभाविक कुरा हो । तर, यसलाई बुझ्न सकिएन । शंकाको आधारमा सरकार वा सर्वसाधारण कसैले पनि यसलाई हेर्नुहुँदैन । वास्तबमा हाल नेपाल घुम्न आउने पर्यटक खासै लगानी नगर्ने खालका मात्र हुुन् । क्वालिटीका कमै आउँछन् । यसैले व्यवसायीहरुले नाफा कमाउनै सकेका छैनन् । यसैले नाफा भन्ने कुरो छँदै छैन । बरु कमाएको सम्पत्तिले परवार पाल्न र आफ्नो दैनिक गुजारा चलाउन मात्र ठिक्क हुन्छ । कतिपयको त झन् कठिन स्थिति छ । होटलहरुले कोठाको मूल्य २०–३० डलर राखेका हुन्छन् । उक्त मूल्यले होटल सञ्चालन खर्च पनि धान्न गाह्रो छ । त्यसकारण होटलको स्तर निर्धारण नगरिकन व्यवसाय टिकाउनै गाह्रो छ । यसैले यो निराधर झुटो आरोप हो । यसमा कुनै सत्यता छैन । बरु सरकारले यस्ता बेतुकका आरोप लगाएर आफु उम्किने बाटो रोज्नुको साटो व्यवसायीसँग उचित रुपमा सरसल्लाह गरेर अगाडि बढ्नु पर्छ । यसले व्यावसायीक वातावरण बन्छ र पर्यटकहरुलाई आवतजावतमा सह हुन्छ । त्यसको लाभ सरकार र व्यवसायी दुवैले लिन पाउँछन् । यसका लागि व्यवसायमैत्री ऐन कानुन बन्न आवश्यक छ । मैले माथि पनि भने अहिले दुःखका साथ यो व्यवसायलाई हामीले टिकाइराखेका छौँ । यो क्षेत्रलाई टिकाइराख्नका लागि हामी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा पनि सरकारको ध्यान जाओस् । हामी व्यवसायीहरु सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार छौँ ।
० अब तपाई“का आगामी रणनीतिहरु के–के छन् ?
हाल विभाजित भएर अगाडि बढ्नुभएका व्यवसायी साथीभाइलाई एकै ठाउँमा ल्याउने पहिलो प्रयास मेरो रहनेछ । भिजिट नेपाल २०२० लाई भव्यरुपमा सफल गराउनु हाम्रो प्रयास र कर्तव्य ठानेर सकारात्मकरुपमा अगाडि बढ्नेछौँ । यो सरकारको मात्र नभएर हामी सबैको काम हो भन्ने मेरो ठम्याइ छ । अब भनेर मात्र होइन गरेर नै देखाउने बेला आइसकेको छ । यो विषयमा हामी सरकारसँग मिलेर काम गर्न तयार पनि छौँ । म महासचिव हुदाँ नै आगामी सन् २०३० सम्ममा वार्षिक ३० लाख पर्यटकलाई नेपाल भित्र्याउन पहल गर्नुपर्छ भनेर योजना अगाडि सारेको थिएँ । यो घोषित नीतिलाई पनि अगाडि बढाउँदै कार्यान्वयनमा लैजाने योजना मेरो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *