व्यक्तिको शौख पूरा गर्न नेकपामा भएको कच्चा खेलको सर्वत्र निन्दा

लेख

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफ्ना लागि अगाडि सारेको राजनीतिक रोडम्यापले अहिले नेकपाको मात्र होइन, नेपालको राजनीतिलाई नै तताउने काम गरेको छ । गत १५ माघदेखि १९ गतेसम्म बसेको नेकपाको केन्द्रीय कार्य समिति बैठकले पार्टीको आन्तरिक विधान संशोधन गरेर उपाध्यक्षको प्रावधान थप गरेसँगै नेकपाको उपाध्यक्ष भएका गौतमले प्रतिनिधिसभाको सदस्य नभएर पनि मुलुकको प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न भनेर अगाडि बढाउन लगाएको प्रस्तावका कारण अहिले उपाध्यक्ष गौतमको राजनीतिक रोड म्यापले ठूलो चर्चा पाएको हो । नेपालको संविधानअनुसार प्रधानमन्त्री हुनका लागि प्रतिनिधिसभाको निर्वाचित सदस्य हुनुपर्दछ । संविधानको यही प्रावधानको कारण राष्ट्रियसभाका सदस्य प्रधानमन्त्रीका लागि अयोग्य हुन्छन् । सम्पन्न आमनिर्वाचनमा बर्दियाको क्षेत्र नं. २ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमले सुरुदेखि नै जस्केलाको बाटो समाउँदै प्रधानमन्त्री हुने प्रयास गरेका थिए । यस क्रममा उपाध्यक्ष गौतमले रामवीर मानन्धरलाई राजीनामा गराएर उपनिर्वाचनमार्फत प्रतिनिधिसभा जाने प्रयाससमेत गरेका थिए । तर प्रधानमन्त्री केपी ओलीको आपत्तिको कारण मानन्धरलाई राजीनामा गराएर उपनिर्वाचनमार्फत गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय नेपाल कम्युनिस्ट पार्टीले गरेन । त्यसपछि गत वर्षको फागुनमा हेलिकोप्टर दुर्घटनामा परेर रविन्द्र अधिकारीको निधन भए पनि भएको उपनिर्वाचनमा पार्टीले प्रस्ताव गर्दा पनि गौतम निर्वाचन नलड्ने निर्णयमा पुगेका थिए ।
प्रतिनिधिसभामा सांसद भएर जाने प्रयास परित्याग गरे पनि नेकपाका उपाध्यक्ष गौतमले प्रधानमन्त्री हुने प्रयास र सपनालाई भने त्याग्न सकेका थिएनन् । गत ९ माघमा सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा पनि उपाध्यक्ष गौतमले राष्ट्रियसभाको सदस्यलाई प्रधानमन्त्री हुन संविधानले नै रोकेकाले यो गाँठो नफुकेको अवस्थामा राष्ट्रियसभामा नजाने भनेर नेकपा नेता गौतमले राष्ट्रियसभाका लागि गत ९ माघमा सम्पन्न भएको निर्वाचनमा उम्मेदवार हुन अस्विकार गरेका थिए ।
पछिल्लो समयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीलाई पार्टीभित्र नै कमजोर बनाउने र उनको प्रस्तावलाई कार्यान्वयन हुन नदिने खेल तीव्र रुपमा भइराखेको छ । यही कडीमा गत शनिबार बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई प्रधानमन्त्री हुने बाटो खोल्नका लागि राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्रीका लागि योग्य हुने गरी संविधान संशोधन गर्न वरिष्ठ नेता झलनाथ खनाल संयोजक र सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन गरेको छ । एउटा व्यक्तिको इच्छा पूरा गर्न प्रधानमन्त्री बनाउनका लागि संविधान नै संशोधन गर्न नेकपा सचिवालय तयार भएकोमा नेकपामा मात्र होइन, मुलुकको राजनीतिमा नै ठूलो तरंग आएको छ । नेता गौतमलाई प्रधानमन्त्री हुने बाटो खुल्ने गरी संविधान संशोधन गर्ने प्रस्ताव नेकपा अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा राखेका थिए । दाहालको यो प्रस्तावलाई गत २३ पुसमा गौतम निवासमा नेकपा सचिवालय सदस्यहरु दाहालका अतिरिक्त गौतम, खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठको बैठकले सभामुखका लागि अध्यक्ष दाहालले अगाडि सारेका अग्नि सापकोटालाई समर्थन गर्ने निर्णय गरेको थियो । सचिवालयको बहुमतले यो निर्णय गरेपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउनु पर्छ भन्ने प्रस्तावबाट पछाडि हटेका थिए ।
सचिवालयको बहुमतले सभामुखको मामिलामा आफ्नो प्रस्तावलाई समर्थन गरेपछि नेकपा अध्यक्ष दाहालले गत शनिबार बसेको सचिवालय बैठकमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बाटो खोल्ने गरी संविधान संशोधन गर्न आवश्यक गृहकार्यका लागि माधव नेपालको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव गरेका थिए । गत पुस २३ गते सचिवालयका बहुमत सदस्यले सापकोटालाई सभामुख बनाउनु पर्छ भन्ने निर्णय गरेपछि अध्यक्ष तथा प्रधानमन्त्री सचिवालयमा अल्पमतमा पर्न गएका थिए । र, सचिवालयमा दाहाल बहुमतमा पुगेसँगै उक्त बहुमतको स्थितिलाई कायम राख्नका लागि नै संविधान संशोधनका लागि कार्यदल गठन गर्ने प्रस्ताव सचिवालयमा राखेका थिए र अन्य मामिलामा जस्तै प्रधानमन्त्री ओलीलाई कमजोर र अल्पमतमा बनाउनका लागि अध्यक्ष दाहालको यो प्रस्तावलाई नेता नेपालले पनि सहज रुपमा नै स्वीकार गरेका थिए ।
तर, गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि मात्र संविधान संशोधन गर्ने नेकपा सचिवालयको प्रस्ताव अहिले चर्को आलोचनाको विषय बन्न पुगेको छ । एउटा व्यक्तिको शौख पूरा गर्नका लागि संविधान संशोधन गर्न नेकपा सचिवालय तयार हुनुलाई अन्य राजनीतिक दल मात्र होइन, नागरिक समाज, बुद्धिजीवी, तथा नेकपा भित्रैबाट पनि भद्दा खेल भनेर आलोचना भएको छ । र, अहिले प्रधानमन्त्री ओलीलाई कमजोर बनाउँदै गौतमलाई प्रधानमन्त्री बनाउने नाममा गरिएको संविधान संशोधनको खेलको कारण अहिले नेकपाका अध्यक्ष दाहाल र नेता नेपाल पूर्णरुपमा प्रतिरक्षाको स्थितिमा पुगेका छन् किनभने गौतमको प्रधानमन्त्री हुने इन्छा पूरा गर्न संविधान नै संशोधन गर्ने तहसम्म पुगेका दाहाल र नेपालको यो प्रस्तावलाई सदस्यको रुपमा अगाडि सारिएका नेम्वाङ र खिमलाल देवकोटाले समेत अस्विकार गरेका छन् । यो घटनाबाट मुलुकको प्रधानमन्त्री भइसकेका र सबभन्दा ठूलो पार्टीको नेतृत्व सम्हालिराखेका दाहाल तथा नेपालको राजनीति कति अपरिपक्क छ भन्ने आम जनतामा समेत प्रष्ट भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *