राजनीतिक दलको एकीकरणमा सिद्धान्त भन्दा पदको महत्व

लेख

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले संयुक्त रुपमा नेतृत्व गरी राखेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीचमा आज एउटा सार्वजनिक कार्यक्रम आयोजना गरी एकीकरण हुँदै छ । राप्रपा र राप्रपा (संयुक्त) एकीकरण भएर गठन हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व महाधिवेशन नभएसम्मका लागि कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी तीनै जना अध्यक्ष भएर गर्ने सहमति गत २२ फागुनमा भइसकेको छ । दुवै पार्टीका तीन जना अध्यक्षहरुको व्यवस्थापन आज गठन हुने राप्रपामा पनि अध्यक्षकै रुपमा हुने भएपछि दुई भंगालोमा विभाजित रहेको राप्रपाको एकीकरण सुनिश्चित भएको हो । यसभन्दा अगाडि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिका बीचमा एकीकरण भएर समाजवादी पार्टी गठन हुँदा पनि तत्कालीन संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराई दुवै जना समाजवादी पार्टीको अध्यक्ष हुने सहमति भएपछि एकीकरणको टुंगो लागेको थियो ।
०७४ साल मंसिरमा सम्पन्न भएको आम निर्वाचन मिलेर लडेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ ०७५ मा एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी गठन भयो । दुई ठूला कम्युनिस्ट पार्टी एकीकरण भएर नेकपा गठन हुँदा पनि साविक एमालेका अध्यक्ष केपी ओली र साविक माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवै जना पार्टीको अध्यक्ष रहने सहमति भएको थियो । एउटा पार्टीको दुई जना अध्यक्ष रहने सहमति भएपछि नै नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको बाटो खुलेको थियो । र, एकीकरणको क्रममा अध्यक्षद्वय ओली र दाहालले हवाइजहाजलाई दुई जना क्याप्टेनले उडान गर्ने गरेजस्तै आफूहरु दुई जना अध्यक्षले नेकपालाई अगाडि बढाउने उद्घोष गरेका थिए । ०७२ साल बैशाखको पहिलो साता नै ६ वटा मधेसवादी दलहरु एकीकरण भएर राष्ट्रिय जनता पार्टी गठन भएको थियो । ६ वटा मधेसवादी दल एकीकरण भएर राजपा गठन हुँदा सिद्धान्त तथा नीतिको होइन, नेतृत्व चयनको चुनौती रहेको थियो । यो चुनौतीको निकासका रुपमा राजपाले साविक ६ वटै मधेसवादी दलका अध्यक्षहरु सम्मिलित रहेको अध्यक्ष मण्डल बनाउने र आलोपालो अध्यक्ष मण्डलका सदस्यहरुले पार्टीलाई नेतृत्व दिने सहमति गरेका थिए । यो सहमति भएपछि नै ६ वटा मधेसवादी दल एकीकरण भएर समाजवादी पार्टी गठन हुने बाटो खुलेको थियो ।
पछिल्लो राजनीतिक घटना क्रमले साना दलको अस्तित्वलाई अस्विकार गर्न थालेको छ र यसको दवाव ठूला कम्युनिस्ट पार्टीहरुमाथि समेत पर्ने गरेको छ । यही कारणले गर्दा नेकपा एमाले तथा माओवादी केन्द्रजस्ता ठूला कम्युनिस्ट पार्टीले समेत एकीकरणको बाटो समाउनु परेको छ । यसैगरी साना दलहरुले पनि मुलुकको राजनीतिमा आफ्नो अस्तित्वलाई कायम राख्नका लागि आपसमा एकीकरण हुनुपर्ने वाध्यतालाई स्वीकार गर्न थालेका छन् । ठूला तथा साना दल एकीकरणका लागि तयार भए पनि नेतृत्वको कारणले गर्दा एकीकरणमा विवाद र अवरोध आउने गरेको छ । यो विवाद र अवरोधलाई समाप्त पार्नकै लागि जतिवटा पार्टी एकीकरण भयो, उतिवटा नै अध्यक्ष राख्ने प्रचलन नेपालको राजनीतिमा बढेर गएको छ । र, विश्वको एक मात्र मुलुक नेपाल हुनुपर्छ जहाँका राजनीतिक दलको अध्यक्ष एकभन्दा बढी व्यक्ति हुने गर्दछन् । तथापि संसदीय पद्दतिमा एकीकरणसँगै एकीकरण भएका सबै राजनीतिक दलको उपस्थिति जनाउने गरी अध्यक्षको व्यवस्था गर्ने अभ्यास नेपालमा पहिलोपटक भइराखेको छ । यो अभ्यासको परिणाम कस्तो आउँछ अहिले नै भन्न सक्ने अवस्था छैन । तथापि नेतृत्वबाट हट्नु पर्छ भनेर अध्यक्षहरुले नै कुनै न कुनै वहाना गरेर पार्टीको महाधिवेशन लम्ब्याउने गरेको घटना खास गरेर ६ वटा अध्यक्ष रहेको राष्ट्रिय जनता पार्टीमा दोहोरिने गरेको छ ।
०७२ साल बैशाख पहिलो साता ६ वटा मधेसवादी दल एकीकरण भएर राष्ट्रिय जनता पार्टी गठन हुँदा एक वर्षभित्रमा एकताको महाधिवेशन गर्ने र पार्टी पनि एकल नेतृत्वमा जाने घोषणा गरिएको थियो । तर पार्टी एकल नेतृत्वमा जान्छ भनेर नै अध्यक्ष मण्डलका सदस्यहरुले राजपाको एकताको पहिलो महाधिवेशनलाई अहिलेसम्म हुन दिएका छैनन् र विभिन्न वहना बनाएर महाधिवेशन टाल्दै जाने र पार्टीको आन्तरिक विधान संशोधन गर्ने काम गर्दै आएका छन् । यो मामिलामा गत पुष १५ गतेबाट बसेको केन्द्रीय कार्य समितिको बैठकमा अध्यक्ष दाहालले नेकपाको महाधिवेशन ०७७ सालभित्र हुने योजनासहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । तर अहिलेसम्म एकीकरणको बाँकी कामसमेत हुन सकेको छैन भने महाधिवेशनको गृहकार्यले त नेकपामा अहिलेसम्म प्रवेशसमेत पाउन सकेको छैन ।
पार्टी काम चलाउ र अन्तरिम कालमा सामूहिक नेतृत्वमा जाने हो भने त्यही अनुरुप पदाधिकारीको व्यवस्थापन गर्नु पर्दछ । तर नेपालका राजनीतिक दलको नेतृत्व गरी राखेका नेताहरुमा एकीकरणप्रति सकारात्मक धारणा रहे पनि नेतृत्वमा भने आफैँ कायम रहनु पर्ने मानसिकताले काम गर्ने गरेको देखियो । यही कारणले गर्दा जतिवटा पार्टी एकीकरण हुने हो ती सबै पार्टीका अध्यक्षलाई एकीकरण पछिको पार्टीमा पनि व्यवस्थापन गर्नु पर्ने अनिवार्य अवस्था आउने गरेको छ । यसैले गर्दा नै एकीकरण पछिका नेपालका राजनीति दलहरुमा छ जनासम्म अध्यक्ष हुने अभ्यास अहिले भइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *